मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ – Nepal Press

मोटरसाइकल चोरी गर्ने दाजुभाइसहित ३ जना पक्राउ

महोत्तरी । महोत्तरीमा श्रृंखलावद्ध रूपमा मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ परेका छन् । मोटरसाइकल चोरी भएको उजुरीको आधारमा लामो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले उक्त समूहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिबासमा बस्ने एकाघरकै दाजुभाइ राम एकवाल यादव र राम लक्ष्मण यादव, भंगाहा नगरपालिका घर भएका सुनिल कुमार राम रहेको प्रहरीले जनाएको छ ।

१५ साउनको राती वडा न.१४ स्थित सेन्चुरी बैंकको अगाडि पार्किङ्ग गरेर राखेको ज ७ प ४५८६ नम्बरको मोटरसाइकल चोरिभएसँगै इलाका प्रहरी कार्यालय गौर डाँडाको टोली तीव्र खोजतलासमा लागेको थियो ।

अनुसन्धानको क्रममा बर्दिबास-७ बस्ने राम एकवालको घरबाट उक्त नम्बर प्लेटको मोटरसाइकल फेला परेपछि संगठित मोटरसाइकल चोरी गर्नेको रहस्य खुलेको हो ।

राम एकवालको घरबाट अन्य चोरी गरेका मोटरसाइकल समेत फेला परेका छन् । ज १२ प ८४८६, प्र-०१-००२-प ५५२९ नम्बरको मोटरसाइकल सहित ४ मोटरसाइकल फेला परेको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

प्रहरीले अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धानलाई अगाडि बढाएको छ । बर्दिबास लगायत जिल्लाका विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलको विषयमा समेत रहस्य खुल्न सक्ने प्रहरीको अनुमान रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *