सम्झनामा भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव राम – Nepal Press

सम्झनामा भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव राम

मान्छे जन्मले भन्दा कर्मले अमर हुन्छ । जसले आफ्नो जीवनकालमा असल कर्म गरेर देश र समाजमा सकरात्मक छाप छाड्न सफल हुन्छ, उही अमर कहलिन्छ । यस्तै असल कर्मका कारण देशका तमाम भूमिहीन र किसानको मनमनमा बस्न सफल किसान नेताहरू स्वर्गीय भीम दत्त पन्त, तुलसीलाल अमात्य र बलदेव रामको आज एकै दिन स्मृति दिवस परेको छ । भूमिहीन र किसानहरूले एकै दिन यी तीनैजना महान् व्यक्तिहरूको स्मरण गर्न पाउनुपनि संयोगका रूपमा रहेको छ । यद्यपि हरेक साउन १७ हाम्रो लागि कालो दिन भएकोले झन् धेरै सम्झन्छौ । नेपालको भूमि तथा कृषि अधिकार आन्दोलनमा यी तीन नेताहरूको आफनै गौरवपूर्ण इतिहास र महत्व छ । त्यसैले उहाँहरूलाई सम्झना गर्नु सबै किसान र भूमिहीनहरूको कर्तव्य हो ।

भीमदत्त पन्त : गरिब, दलित र किसानको नेता

१९८३ मंसिर १० गते डडेलधुराको कारीगाँउमा ब्राम्हण परिवारमा जन्मेका भीमदत्त पन्तले भारतको उत्तर प्रदेश सिँहाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गर्नुभएका पन्तलाई भागवत गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । माक्र्सवादको अध्यनले उनलाई राजनीति स्वभाव बढायो । उनले आन्दोलन शुरुवात गर्दा देशमा राणा शासन थियो । राणाहरूको अन्यायविरुद्ध आन्दोलन शुरुवात गरे । गाउँको सामन्ती संस्कार गरिवी, जातीय विभेद र छुवाछुत, किसानहरू माथिको शोषणविरुद्ध जानकार थिए त्यसैले यसको अन्त्य गर्ने प्रण गरे । यसको पहिलो सुरूआत आफ्नै घरबाट विद्रोह गरे ।

नेपालको समग्र भूमि, कृषि र गरिबीविरुद्धको आन्दोलनमा हरेक दिन सम्झनुपर्ने नाम हुन भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव राम । किसान आन्दोलका अगुवाहरूका आदर्श र आस्थाका धरोहर भनेकै यी तीनजना हुन् ।

अन्याय अत्याचार र सामाजिक विभेद सहन नसक्ने भीमदत्तले सामाजिक न्याय स्थापनाका लागी २००७ सालदेखि न्याय मुक्ति आन्दोलन शुरुवात गरे । त्यस बेलाका सामन्तहरूले भीमदत्तलाई कांग्रेस भन्ने गर्थे । कसैलाई भीमदत्त पन्तले कारबाही गरेको खण्डमा त्यो घरमा त कांग्रेस पो पसेछ भन्थे । गरिब, भूमीहीन, दलित र पछाडि परेका वर्गहरूलाई संगठित गरी राणा विरोधी आन्दोलमा समेत भीमदत्त पन्तको अगुवाई रह्यो । आन्दोलनको प्रभाव सुदूरपश्चिममा मात्र नभई देशभर फैलियो । २००७ सालको क्रान्तिमा राणहरूसँग काँग्रेसको सम्झौतापरस्त नीति र क्रान्तीपछि आएको परिर्वतनले ती गरिब, भूमिहिन, किसान र पछाडि पारिएका वर्गहरूको मुक्ती नहुने देखेर भीमदत्तले थप आन्दोलन अगाडि बढाए ।

परिर्वतनकारी व्यवहार र सोच भएका भीमदत्तले मगर, थारु र दलित सम्मिलित मुक्ति सेना गठन गरे । परिवर्तन आफैबाट मात्रै सम्भव छ भनेर आफनो भान्सामा दलितहरूलाई सहभागी गराए । किसानमाथि अन्याय गर्नेहरूको जाली तमसुक च्यात्ने, जलाउने र जमीनदारहरूलाई कारबाही गरे । जमिनदारहरूलाई सजायस्वरूप दलितको भान्सामा खान लगाए । त्यस्तो व्यवहाबाट त्रसित जमिनदारहरूले भीमदत्तलाई सजाय स्वरूप यो त पागल हो भन्ने हल्ला मच्चाए । तर, सामन्तीहरूसँग हार नमान्ने स्वभावका भीमदत्तले ठूला भनिएका जमिनदारहरूसँग परिचय गर्दा आफ्नो नाम पागल पन्त भएको बताउँथे । गरिब र किसानहरूको हितमा उनको विशेष प्रतिवद्धता थियो । पीडितहरूको पक्षधरता लिनु नै भीमदत्तको पुँजी थियो ।

भीमदत्त भन्थे- गरिबहरू संगठित हुनुपर्छ । एक्लै भएर त जमिनदारको हेपाइ खानुबाहेक केही हुदैन । आफूले खाने अन्न फाल्नु हुदैन । कृषि उत्पादन गर्न सबै लाग्नुपर्छ । अनावश्यक खर्च गर्न हुँदैन । अनावश्यक हुने खर्च घटाएन भने जीवनमा परिवर्तन आउन निकै कठीन हुन्छ । प्रकृति बिगार्ने काम कसैले पनि गर्नुहुँदैन । नत्र प्रकृतिले सराप दियो भने मानव जाति यो पृथ्वीमा बाँच्न गाह्रो पर्छ । उनका यी विचारले उनको दिगो प्रकृति आत्मनिर्भर जीवन तथा न्याय र स्वतन्त्रतामा गहिरो बुझाई रहेको पाइन्छ ।

क्रान्तिको समयमा जमिनदारहरू प्रति उनको महत्वपूर्ण राजनीतिक नारा थियो, की जोत हलो कीत छोड थलो यदी होइनन् भने अब छैन् भलो । त्यसैले जोताह भूमिहीन दलित किसानहरूलाई संगठित गरेर उनीहरूको पक्षमा वकालत गरे । आफ्नै बाबुलाई समेत सामन्त घोषणा गरी घरमा भएका सबै तमसुक बोरामा राखेर जलाइदिए । बैंक कब्जा गरेर सेनालाई तलब बाँडिदिए । बाँकी पैसा कमैँया हलिया र दलित किसानलाई सहयोग गरे । उनले आफ्ना सिर्जनाहरूमा समेत अन्यायविरुद्ध आवाज उठाउँथे । बम्बई जाने रेलगाडीमा दिल्लीको माल आयो गरीबका दिन आया ठालुको काल आयो भीमदत्त पन्तको सारै चर्चित गीत थियो । यसबाट बुझ्न सकिन्छ कि शोषणमुक्त समाज बनाउन र गरिबहरूलाई जमिनदारको पञ्जाबाट मुक्ति दिलाउने अभियानमा भीमदत्त पन्त धेरै नै प्रतिबद्ध थिए ।

अन्याय अत्याचार र सामाजिक विभेद सहन नसक्ने भीमदत्तले सामाजिक न्याय स्थापनाका लागी २००७ सालदेखि न्याय मुक्ति आन्दोलन शुरुवात गरे । त्यस बेलाका सामन्तहरूले भीमदत्तलाई कांग्रेस भन्ने गर्थे ।

भीमदत्त पन्तले गरिबहरूको पक्षमा गरेको कामले गर्दा नै त्यतिबेलाका जमिनदारको आँखामा तारो बनेका थिए । जमिनदारहरूले कयौपटक भीमदत्तविरुद्दमा सरकारमा उजुरी गरे । उनको हत्या गर्न चन्दा समेत उठाए । सरकारले पनि उनलाई बारम्बार जेल हालेर यातना दिइ नै रह्यो । यद्यपि भूमिहीन किसानका पक्षमा चालेको कदम रोक्न तयार नभएका भीमदत्तलाई तत्कालीन सरकारले नै २०१० साल साउन १७ गते भारतीय सेनाको सहयोगमा सफाया गर्यो । हत्यापछि काजकिरिया गर्न परिवारले भीमदत्तको टाउको माग्न जाँदा पनि उपलब्ध भएन । देश र जनताको मुक्तिका लागि लडेका भीमदत्त पन्तको लडाइँ अहिले पनि सकिएको छैन । अहिलेपनि दलित, भूमिहीन र किसानका हकअधिकार सम्पूर्ण रूपमा स्थापित भइसकेका छैनन् । त्यसैले आजपनि भीमदत्त हाम्रा लागि स्मरणीय छन् ।

किसानका नेता तुलसीलाल अमात्य

तुलसीलाल अमात्यको जन्म १९७४ जेठ १४ गते ललितपुर जिल्लाको कँवाबहाल टोलमा नेवार परिवारमा जन्म भएको थियो । वि.सं १९९० देखि राजनीतीमा सक्रिय भएका तुलसीलाल भारत स्वतन्त्र भएको खुसीयालीमा सन् १९४७ अगस्टमा पाटनमा भएको जुलुसको नेतुत्व गर्दा पहिलोपटक ६ महिना जेल परेका थिए । जेल जीवनकै क्रममा उनले अध्ययनलाई प्राथमिकता दिए । जेलमा गरेको अध्ययनले जेलबाट बाहिर आउदा परिपक्व राजनीतिका रूपमा खारिएका थिए उनी ।

तुलसीलाल वि.सं २०१५ सालको निर्वाचनमा ललितपुरबाट प्रतनिधिसभा सदस्यमा निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा चुनिए । संसदको यात्रा तय भएपछि उनले पार्टी र सरकारको पाइला सँगसँगै हिँडाउने भूमिका निर्वाह गरे ।

वि.सं. २००२ सालमा नेपाल मजदुर किसान संगठन निर्माण गरेर संस्थापक अध्यक्ष बनेका तुलसीलालले आफ्नो राजनीतिक जीवनमा किसान, श्रमिक र गरिब जनताको पक्षमा बढी क्रियाशीलता देखाएको पाइन्छ । किसानको सम्मान र किसानको जीवनमा परिर्वतन नआएसम्म देशमा परिर्वत आएर खास फरक नपर्ने धारणा उनले राख्थे । किसानले कुनैदिन उत्पादन गरेनन् भने कैयौ मानिसहरू भोकै बस्नुपर्छ भन्ने विचार समुदायसम्म तुलसीलालले पुर्याएका थिए । किसानहरू प्रति उनले देखाएको उच्च सम्मान नै हाम्रो लागि महत्पुर्ण पाटो हो ।

तुलसीलाल वि.सं २०१५ सालको निर्वाचनमा ललितपुरबाट प्रतनिधिसभा सदस्यमा निर्वाचित भई नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा चुनिए । संसदको यात्रा तय भएपछि उनले पार्टी र सरकारको पाइला सँगसँगै हिँडाउने भूमिका निर्वाह गरे ।

इतिहास फर्केर आउदैन तर वर्तमानमा यसलाई सिकाइ र मार्गदर्शनको रूपमा प्रयोगमा ल्याउन सकिन्छ । विचार गरौँ जसलाई हामी भोली भन्छौ त्यसलाई हामीले भेट्टाउदा आज भएको हुन्छ । कुनै विषयलाइ राम्रो भन्नका लागि त्यो मानिसले समुदायको हितमा खास राम्रो काम के गरेको हुन्छ ? उसको त्यस समयको वर्तमान र नागरिकहरूको सुनौलो भविष्य निर्माणका लागि उसको भूमिका के हुन्छ ? त्यसले नै उसको परिचय दिन्छ ।

सिनो बहिष्कार आन्दोलान र बलदेव राम

२००७ पौष ७ गते सप्तरी जिल्लाको बनिगाँवामा जन्मिएका बलदेव राम आफैँमा अन्याय नसहने र सिर्जनशील व्यक्ति थिए । होचो कद, फुर्तिलो शरीर, तेजीलो दिमाग, झरिलो वाकपटुता, शान्त मन एकछिन पनि आराम नगर्ने हात, एकछिन नथाक्ने ज्यान, सकारात्मक व्यवहार उनको चिनारी थियो । हेर्दा साधारण जस्तो देखिने उनको शरीर र भेषभूषालाई विचारसँग तुलना गर्नु आकाश जमिनको फरक थियो । शरीर हेर्दा कमजोर जस्तो देखिए पनि विचार बलवान थियो । त्यही सरल जीवन र उच्च विचारका कारण उनी हाम्रो तनमनमा बस्न सफल भएका छन् । पूर्वी तराईको दलित परिवारमा हुर्के बढेका बलदेव भाषालाई खासै प्राथमिकता दिँदैनथे । सबै भाषा, संस्कार, संस्कृति उनका लागि उत्तिकै महत्वपूर्ण थियो । अरुको भावनाको सम्मान कदर गर्नु उनको विशेषता थियो ।

पूर्वी तराईमा दलित जातिभित्रका चमार (राम) जातिले अन्य समुदायको मरेका पशुहरू (सिनो) फाल्नु पर्दथ्यो । यो काम उनीहरूले नगर्ने हो भने पूरा गाउँ नै दुर्गन्धित हुने थियो । यद्यपि उनीहरूलाई यो काम अपमानपूर्ण र विभेदकारी लाग्यो । सिरहा सप्तरीमा २०५६ देखि २०५८ सालसम्म सिनो बहिष्कार आन्दोलन भयो । आन्दोलनको मुख्य अभियन्ता बलदेव रामनै थिए । अन्याय, शोषण र दमन सहन नसक्ने बानी भएकै कारण उनले आन्दोलनको नेतुत्व गरेका थिए । जुन समय सिनो बहिस्कार आन्दोलन चर्किएको थियो त्यतिबेला बलदेव जीवनमरणको लडाइँमा थिए ।

सिरहा सप्तरीमा २०५६ देखि २०५८ सालसम्म सिनो बहिष्कार आन्दोलन भयो । आन्दोलनको नेतृत्व उनै बलदेव रामले गरेका थिए ।

आन्दोलन सफल हुँदा स्वाभिमान र आत्मसम्मान कायम हुने थियो । जब आन्दोलन भयो तब समुदायका कथित उच्च जातहरूले बलदेवका समुदायका मानिसहरूलाई खाने पानीका धारा, इनार बजारका पसलहरू, अ‍ैचोपैचो, ऋणसापटी र खेतवारी हिड्ने बाटो समेत सबै बन्द गरिदिएका थिए । यो उनीहरूको लागि समुदायमै गरिएको नाकाबन्दी थियो । कठिन नाकाबन्दीको बाबजुत आफ्नो समुदायलाई गोलबन्द गरि सीनो नफाल्ने अडान कसेर आन्दोलमा उत्रिनु बलदेव रामको कुशल नेतृत्व र बुद्धिमता थियो । आन्दोलनमा सबैको विचार समेटेर योजना बनाउन समुदायलाई गहिरोसँग प्रशिक्षित गर्नु र आन्दोलनमा सबैको अपनत्व जगाउनु उनको सकारात्मक तरिका पक्ष थियो ।

त्यसबाहेक भूमिहीनहरूको पक्षमा विभिन्न चरणमा भएका आन्दोलनलाई पनि बलदेवले अगुवाई गरे । खासगरी पूर्व तराईका गरिब, भूमिहीन र किसानहरूको हितमा उनले गरेको योगदान सधै स्मरणीय रहनेछ ।

अन्तमा,

नेपालको समग्र भूमि, कृषि र गरिबीविरुद्धको आन्दोलनमा हरेक दिन सम्झनुपर्ने नाम हुन भीमदत्त पन्त, तुलसीलाल अमात्य र बलदेव राम । किसान आन्दोलका अगुवाहरूका आदर्श र आस्थाका धरोहर भनेकै यी तीनजना हुन् । आज तीनैजनाको स्मृति दिवसको सन्दर्भमा भूमिहीन, गरिब र किसानको पक्षमा सदैव उभिने प्रण सबैले गर्न जरुरी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *