कु-समाचारले सताइएको समाज – Nepal Press
विचार

कु-समाचारले सताइएको समाज

के हो मिसइन्फर्मेसन र डिसन्फर्मेसन ?

इन्टरनेट र सेलफोनको उपलब्धता बढेसँगै सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ । विश्व जनसंख्या आठ अर्बको हाराहारीमा पुग्दा सामाजिक सञ्जाल प्रयोगकर्ता साढे चार अर्ब नाघिसकेको आँकडाले देखाउँछ । महीनौं लागेर पुग्ने चिठ्ठी, एकतर्फी खबर पठाइने तार, छापाका खबरहरूलाई भिडिओ कलले विस्थापित गरिदिएको छ । विदेशमा साँझ बास बस्न लागेका आफन्तसँग यता बिहान चिया पिउँदै हालखबर सोध्न पाइएको छ । विश्वभर भइरहेका घटनाक्रमहरू एकै समयमा पृथ्वीका हरेक कुनाबाट सँगसँगै अवलोकन गर्न पाइएको छ ।

विभिन्न कम्पनीहरूले बजारमा ल्याएका उत्पादनहरू छिनभरमै ग्राहकका हात हातमै पुगेका छन् । हिलोमा धान रोप्ने आधुनिक मेसिनदेखि काँक्रोको अचार बनाउने रेसिपीहरू मात्रै होइन, अरु ग्रहमा मान्छेले विचरण गरेको अनुभव सँगै सेयर गर्न पाइएको छ । कोरोना महामारीमा भौतिक दूरी कायम राख्न र भेटघाटलाई प्रतिबन्ध लगाएपछि त झन् सामाजिक सञ्जालको महत्व र उपयोग ह्वात्तै बढ्यो । अफिसका मिटिङ, स्कुल-कलेजका क्लास मात्र नभई शारीरिक व्यायाम/योगा, हेल्थ क्लिनिकहरू पनि अनलाइन चल्न थाले । अनलाइन न्यूज पोर्टलहरू च्याउजसरी उम्रे । अनलाइन व्यापारले कहिल्यै नसोचेको सफलता पायो ।

अब त अनलाइनको यति भर पर्न थालियो कि पसल-पसल चहार्नुको साटो मोबाइलको स्क्रिनमा औंला चलायो, छिनभरमै खोजेको सामान हातमा । तात्तातो खाना टेबलमा । कति मोज ।

फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, ट्विटर, यु-ट्यूव, टिकटक आदिले ठूलो बजार लिइसकेका छन् । आर्थिक र राजनीतिक ध्रुवीकरणले गर्दा केही सञ्जाललाई आफ्नो देशमा बन्देज लगाएका उदाहरण पनि छन् ।

केही वर्ष पहिले नेपाल फर्किने क्रममा चाइनाको होटलमा बास बसियो । फेसबुक (मेटा) अमेरिकी कम्पनीलाई त्यहाँ प्रतिबन्ध रहेछ, भारतले टिकटक (चिनियाँ) लाई प्रतिबन्ध लगाएजस्तै । तर, भीपीएन डाउनलोड गरेर फेसबुक चलाउन सुझाए होटलका कर्मचारीले । त्यसो त चीनमा आफ्नै उत्पादनहरू टिकटक, सिनोविबो, विच्याट, यूकू, टानसेन्ट क्यू आदीको प्रयोग हुँदो रहेछ । यस्तो सामाजिक सञ्जालले प्रयोगकर्ताहरूमाझ ‘सेन्स अफ कनेक्सन’ बढाएको छ, जसले प्रयोगकर्ताहरूको मूड फ्रेस गराउने, शक्तिसञ्चार गराउने, भेटघाट र उत्सवहरूलाई ठूलो संख्यामाझ सजिलै पुर्‍याउन सहयोग पुर्‍याएको छ ।

विकासले आफूसँग विकृतिहरू पनि लिएर आएको हुन्छ । आज यहाँ कोट्याउन खोजेको विषय पनि तीनै विकृतिमध्ये सञ्जालमा डढेलो झैं फैलिने गलत समाचार र त्यसले पार्ने मानसिक असर हो । साधारणतया मान्छेले त्यो खबर विश्वास गर्छन् जुन खबर उनीहरूलाई प्रिय लाग्छ । अर्थात् मान्छे आफूलाई खुसी पार्ने समाचारप्रति आकर्षित हुन्छ र सजिलै विश्वास गर्छ । अध्ययनले भन्छ, हाम्रा दुई किसिमका माइन्ड सेट छन्- यूटिलिटेरियन र हेडोनिक । पहिलो तप्काले समाचारलाई रमाइलोका लागि मात्र नभई कुनै निर्णय लिनका लागि प्रयोग गर्छ । एउटा गाडी किन्नुअघि त्यसको रिसेल भ्यालु, सुरक्षा संरचना, आरामदायी किफायतीबारेको रिभ्यू फ्याक्ट चेक गरेर निर्णय लिन्छ । जबकि हेडोनिक माइन्ड सेटले चाहिँ समाचारलाई रमाइलो लागि, आफू खुसी हुनका लागि वा अरुलाई तनाव दिन, चरित्र हत्या गर्नका लागि मात्र लिने हुँदा समाचार सत्य हो कि झूटो हो फ्याक्ट चेकतिर जाँदैन । उसलाई फ्याक्ट चेक गर्नु, अध्ययन गर्नु भनेको दु:खको पहाड हो । बरु आफ्नो विश्वास वा तर्कलाई बल पुग्ने छ भने वा रमाइलो लाग्छ भने सुतिसुति सेयर गर्छ ।

सामाजिक सञ्जालमा प्रयोगकर्ताले समाचारका लागि समाचारको स्रोत छान्दैन । बरु सञ्जालको एल्गोरिदमले समाचार छानेर तपाईंको स्क्रिनमा पस्किदिन्छ । जुन केटागोरीको समाचार तपाईंलाई मन पर्छ, हेर्ने गर्नुहुन्छ । लाइक/सेयर गर्नुहुन्छ, एल्गोरिदमले तपाईंलाई त्यस्तै किसिमका समाचार ल्याइदिन्छ, ताकि तपाईंको धेरैभन्दा धेरै समय त्यो परिकारमा बितोस् र सँगै आउने विज्ञापनले बजार गर्ने मौका पाउन् । उदाहरणका लागि यदि तपाईंलाई डोनाल्ड ट्रम्पका छुद्र भाषा मन पर्छन् र उसको फेबरका समाचार फलो गर्नुहुन्छ भने एल्गोरिदमले त्यस्ता समाचारहरू तपाईंको स्क्रिनमा धेरै डिस्प्ले गरिदिन्छ । खड्ग ओलीका भक्तहरूको स्क्रिनमा माकुनेका ट्रोलहरू छ्याप्छ्याप्ती देखिन्छन् । केहीअघि झाँक्रीको घर भनेर एउटा घरको तस्बिरले राम्रै बजार पायो ।

यसरी फैलने समाचारलाई दुई भागमा बाँड्न सकिन्छ- मिसइन्फर्मेसन (असमाचार) र डिसइन्फर्मेसन (कुसमाचार) । मिसइन्फर्मेसन भनेको गलत सूचना त हो तर त्यो गलत नियतले नगरिएको हुन्छ र त्यति हानिकारक हुँदैन । जस्तै खगोलशास्त्रीका अनुसार ग्रहहरूको अवस्थाका कारण पृथ्वीमा भयंकर उथलपुथल भई अबको २ वर्षमा ध्वस्त हुनेछ भन्ने समाचार कसैले भेटेर डरायो र अरुले पनि थाहा पाउन् भनेर सेयर गर्‍यो । उसको नियत गलत थिएन, तर समाचार आफैँ चाहिँ गलत थियो । यो मिसइन्फर्मेसन हो ।

तर, ओलीको हुर्मत लिन फेक आईडीबाट ओली र विद्याको टाउको कुनै रोमान्टिक सिनमा जोडेर प्रचार गरियो भने त्यो सामग्री चाहिँ डिसइफर्मेसन हुन्छ । प्रविधिको प्रयोग गरेर वास्तविक जस्तै लाग्ने यस्ता फेक भीडीओलाई डिपफेक भनिन्छ । गलत नियतले बनाइएको हुनाले त्यो डिसइन्फर्मेसन हो । गगन थापाका आइफोन बाँड्ने भिडिओ, गोकुल बाँस्कोटाले करोड होइन अरबै हान्दिया हो भन्ने भिडिओ वा प्रचण्डले यो संघीयता मन परेकै छैन भन्ने भिडिओ सबै फरक प्रसंगमा बोलेका कुरा काँटछाँट गरी बनाइएका डिप फेक हुन् ।

गरिब, असहायका पीडाका भिडिओ क्लीप बनाएर भ्यूज गनेर ज्यान पाल्नेको संख्या पनि उल्लेख्य छ । तर, दु:खको कुरा, त्यस्ता डिसइन्फर्मेसनलाई सामाजिक सञ्जालले डढेलो झैं फैलाउने काम गर्छ । सत्य समाचार हजारले हेर्दा त्यस्तो गलत समाचार लाखौंको हातमा पुगिसक्छ । मान्छे यति हतारमा हुन्छ कि सञ्चालमा तीन घन्टा बिताउँदा पनि सत्यतथ्य खोतल्ने फुर्सद हुँदैन । त्यो गाह्रो काम भएरै होला । एउटा रिसर्च सम्वन्धित सामग्री सञ्जालमा पोष्ट गर्नुस्, कसैले पढ्दैन, प्रतिक्रिया पनि आउँदैन । तर, एउटा फोटो मात्र हाल्नुस्, लाइक र कमेन्ट वर्षिन थालिहाल्छ ।

चुनावका बेला गरिने एक्जिट पोल, अन्तर्राष्ट्रिय द्वन्द्वसम्बन्धी कुनै विज्ञले बनाएको व्यक्तिगत धारणा, जनस्वास्थ्य संकटसम्बन्धी सामग्रीले जनमानसमा चाँडै प्रभाव पार्छ र पब्लिक ओपिनियन बदलिन्छ । रुसले यूक्रेन आक्रमण जायज हो भन्दै विश्वसामु राखेका तर्कहरू हुन् अथवा ट्रम्पले क्यापिटल हिल आक्रमणका बेला उकासेका ट्वीट हुन् । अथवा बीजेपी प्रवक्ताले दिएको एन्टिमुस्लिम ट्वीट हुन् । सबैलाई फैलाएर आम जनतालाई दिग्भ्रमित गर्ने, भड्काउने काम सोसल मिडियाले नै गरे जसको असर अन्तर्राष्ट्रियस्तरमै पर्‍यो ।

आजकाल सञ्जालमा ठूला स्वास्थ्य समस्याहरूलाई सजिलै कम खर्चमा उपचार गर्ने विधिका बारेमा धेरै अफवाहहरू आउने गर्छन् । गरिबीले पिल्सिएको हाम्रो समाजमा त्यस्ता सस्ता उपायहरू लोकप्रिय हुनु स्वभाविक हो । फलस्वरूप गलत उपचारले गर्दा ज्यानै जाने, सामाजिक विकृति फैलिने हुन्छ । बाँझोपनको समस्या भएकी महिलालाई धामी/झाँक्रीले बलात्कार गरेका घटना प्रशस्तै भेटिन्छन् ।

अनि फेरि भाइरल हुनकै लागि सञ्जालमा उपदेश दिन झुल्कने डाक्टर सा’बहरू, स्वास्थ्य सावधानीका टिप्ससहित उपस्थित हुन्छन् र फलाक्छन् दैनिक एक मुठी ड्राइफ्रुट, यति ग्राम फलफूल, यति ग्राम चामल, गेडागुडी, दाल खानुस् र वर्षमा यतिपटक कान/नाक/आँखा/दाँत परीक्षण गर्नुस् । यस्ता उपदेशले गरिबहरूलाई गिज्याइरहेको अनुभव हुन्छ । अझ सञ्जालमा आयातित कल्चरको बाढी लागेको देख्दा साधारण कमाइले त्यो खर्च धान्न सक्ने त कुरै हुँदैन । त्यसैले देखासेखीका लागि पनि भ्रष्टाचार र गलत बाटोबाट पैसा कमाउन मान्छेले संकोच गर्न छाडिसके ।

एकदिनमा सकिने विवाह भारतीय टेलिसिरियलको असरले लम्बिँदै हल्दिरसम, मेहन्दी रसम, संगीम साँझ ब्याचलर पार्टीसम्म आइपुग्दा बिहेको खर्चले डाँडो काट्छ । अनि नसक्नेहरूमा हिनतावोध हुने, घर झगडा बढ्ने हुन सक्छ । फलानाहरू घुम्न गए, फेसबुकमा कस्ता राम्रा फोटा हाल्या छन्, टिकटक यस्तो बनाएका छन्, बाट सुरू भएको झगडा सम्बन्ध विच्छेदसम्म पुग्न सक्छ । तीनै देखासेखी फजुल खर्चीले निम्न आय भएका युवाहरूमा फ्रस्ट्रेसन बढ्छ र विदेशिने बाध्यतामा पुग्छन् ।

सञ्जालमा देखिएका समुद्र किनारमा उभिएर नाङ्ले चश्मा लगाएका फोटा दैनिक सुखसयलका फोटा होइनन् । ती धेरै दिनको योजना र दु:खपछि मौका मिलाएर खिचिएका हुन् भन्ने फोटो हेर्नेलाई थाहा हुँदैन । त्यसैले अरुको जीवन सहज र आफ्नो कष्टकर भएको गलत निष्कर्षमा पुग्छन् । यसले मानसिक रोगसमेत निम्तिन सक्छ । वास्तवमा यो पनि सामाजिक सञ्जालले फुलाएको डिसइन्फमेसनको परिणाम हो । सञ्जालका दृष्य र वास्तविक जीवन फरक हुँदा प्रयोगकर्तामा मानसिक विचलन देखिन थालेको छ जसलाई ‘डार्क ट्रियाड पर्सनालिटी’ भनेर चिनिन्छ । यो तीन किसिमका मानसिक अवस्थाको मिश्रित रूप हो । जसमा आत्मरति/अहम भाव, छट्टुपन/फटाइँ र साइकोप्याथ हाबी हुन्छ । रोगीले आफूलाई दम्भी, अहंकारी, रकमी हुनुमा गर्व गर्छ । छट्टु, धुर्तहरू साह्रै चिसा र शंकालु हुन्छन् । मानवीय संवेदना हराइसकेको हुन्छ ।

आफ्नो कमजोरी महसुस गर्न सक्ने दिमागी हालत हराइसकेको हुन्छ । अर्काको दु:ख पीडामा आफ्नो सहानुभूति राख्ने सामर्थ्य गुमाइसकेको हुन्छ । आत्मसम्मान घट्ने, पढाइ/कार्यसम्पादनमा ह्रास आउने, अन्तरघुलन, फेस टु फेस अन्तरक्रिया गर्ने क्षमता घट्ने, आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै झुट बोल्न आँट गर्ने, क्रुर शोषण गर्न पनि पछि नपर्ने हुन्छ । आफ्नो कमजोरी ढाक्न आफ्नो अहम जेले बढ्छ, त्यसै गर्ने हुन्छन् । सामाजिक सञ्जालमा नैतिकताको मापन वस्तुपरक नहुने हुनाले मान्छेलाई छक्याउन झुक्याउन सजिलो छ । अनुशासनजन्य कारबाही सजिलै नहुने हुनाले पनि सामाजिक सञ्जाल रिस पोख्ने सजिलो माध्यम भइदिएको छ ।

जब संकट आइलाग्छ, जुनसुकै प्राणीले पनि बाँच्ने कोसिस गर्छ । मानिसको व्यक्तिगत गुण अनुसार संकटको सामना गर्ने (कोपिंग) तरिका फरक हुन्छ । कसैले समस्याको स्रोत/तनावका कारणलाई परिवर्तन गरेर कोपिंग गर्छन् । यसलाई प्रोब्लम बेस्ड कोपिङ भनिन्छ । अर्को चाहिँ इमोसन बेस्ड कोपिङ हुन्छ, जसमा दु:खको अनुभूतिलाई घटाउने तरिका अपनाइन्छ ।

सामाजिक सञ्जालको लतमा लागेको मान्छेलाई अप्ठेरो परिस्थितिसँग सामना गर्ने तरिका पहिल्याउन गाह्रो हुन्छ र समस्याबाट भाग्न बेवास्ता (एभोइडेन्स) गर्ने अनि अझ खराब कुलत (ड्रग/पोर्न) मा फस्ने हुन सक्छ । सोसल स्किल डेफिसिट (सामाजिक कौशलतामा कमी) ले गर्दा एकछिन सञ्जालबाट टाढा हुँदा छटपटी हुने, रिसाउने, सञ्जालमै झुण्डिइरहन मन लाग्न (कम्पल्सिभ भ्यूज) शारीरिक व्यायामजन्य क्रियाकलापमा कमी भई शारीरिक र मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउँछ ।

तसर्थ सामाजिक सञ्जाल प्रयोगकर्ताले अब सोच्नुपर्ने बेला आएको छ । कतै यसमा बिताएको समयले अरु दैनिक कामकाज, पढाइ, सामाजिक सम्वन्ध, शारीरिक क्रियाकलापमा ह्रास आइराखेको त छैन ? छ भने स्क्रिन टाइम घटाउने, प्रत्यक्ष भेटघाट कुराकानी बढाउने, समाचारहरूको स्रोत सत्यतथ्य केलाएर मात्र विश्वास गर्ने, अरुलाई पनि सत्य समाचार मात्र शेयर गर्ने, बालबालिकालाई स्क्रिन टाइम लक गर्ने जस्ता उपायहरू अवलम्बन गरौं । सामाजिक सञ्जाल हाम्रो अभिन्न अंग भइसक्यो । यसको सदुपयोग गरौं ।

प्रतिक्रिया

2 thoughts on “कु-समाचारले सताइएको समाज

  1. Very well thought out and researched… kudos to the author for writing on such an important social issue. Great job indeed!

    1. सकारात्मक फिडब्याकका लागी धन्यवाद, हार्दिक आभार!

Leave a Reply

Your email address will not be published.