जसपा विभाजन : बाबुराम र उपेन्द्रमध्ये लुम्बिनीमा को बलियो ? – Nepal Press

जसपा विभाजन : बाबुराम र उपेन्द्रमध्ये लुम्बिनीमा को बलियो ?

प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये नामावलीसहित आ-आफ्नो बहुमत दाबी गर्दै

रुपन्देही । जसपा विभाजनपछि लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यमा रहेका नेताहरू आफ्नो पक्षमा तान्ने र आफू बलियो रहेको देखाउने होडबाजी चलेको छ ।

जनता समाजवादी पार्टीका लागि मधेसपछि बलियो रहेको लुम्बिनी प्रदेशबाट बहुमत केन्द्रीय सदस्यहरूले डा. बाबुराम भट्टराईलाई साथ दिएपछि उपेन्द्र यादव नेतृत्वको जसपा कमजोर बनेको दाबी भट्टराई समूहको छ ।

जसपाबाट लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना नेता भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएको भट्टराई पक्षले नामावलीसहित घोषणा गरेका छन् ।

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरूको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे ‘सागर’ ले जानकारी दिए ।

जसपा परित्याग गर्नेहरूमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरू गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी छन् ।

यस्तै उर्मिला पाण्डे, देवेन्द्र पाण्डे, किस्मत विक, अब्दुल रहमान, बिमल गिरी, विश्वदीप पाण्डे, तेजेन्द्र थापा, राजु नेपाली, छन्द पन्थी, अतिउल्ला मुसलमान, उमाशंकर यादव, घमानसिंह गुरुङ, जीतमान पुन, उपेन्द्रलाल कामी, हिक्मत बिक, वेदप्रकाश आचार्य, गजाधर सुनार, हरि रिजाल, नारायण खनाल, डा. मुक्ति रिजाल, सुनिता काफ्ले, पंकज राई, गोकर्ण थापा र वीरेन्द्र हरिजनले पनि डा. भट्टराईको पार्टीमा आबद्ध हुने गरी राजीनामा दिएको मुख्यसचिव यज्ञप्रसाद पोखरेलले जानकारी दिए ।

‘हामीले सबैको नामावलीसहित सार्वजनिक गरेका छौं, ५८ जनामा ३३ जना यतै हुनुहुन्छ कसको बहुमत छ हामीले भन्नुपर्दैन, हामीतिर रहेका नेताहरूले केही नभन्ने तर अर्को समूहमा रहेका नेताहरूले गलत दाबी गर्न मिल्दैन’, पोखरेलले नेपाल प्रेससँग भने ।

तर, जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भट्टराई समूहले गलत प्रचार गरेको आरोप लगाए ।

‘उहाँहरूसँग २८ जनाभन्दा बढी केन्द्रीय सदस्य जानुभएको छैन, हामीसँगै भएका व्यक्तिको नाम लिएर संख्या थप गर्नुभएको छ, यता केन्द्रमा भएर राजीनामा नै नदिएका व्यक्तिहरू कसरी उहाँहरुको हुन्छ, तपाईँहरू आफैँ बुझ्नोस्’, यादवले भने, ‘यसैपनि बहुमत केन्द्रीय सदस्यमा हामी यतै नै छौं, त्यसमाथि नेताहरू मात्रै गएर भएन नि जनमत त हामीसँगै छ नि ।’


प्रतिक्रिया

One thought on “जसपा विभाजन : बाबुराम र उपेन्द्रमध्ये लुम्बिनीमा को बलियो ?

  1. डा बाबुराम भट्टराईको राजनीतिक उद्देश्य कसैले बुझ्न नसक्ने भए ! किन भने उनी जुन पार्टीमा पुग्छन् त्यसलाई विभाजन गरेका छन् ! नेकपा एकता केन्द्र विभाजन गरेर जनमोर्चा, जनमोर्चा विभाजन गरेर प्रचण्ड नेतृत्वको माओवादीमा विलय गरे, त्यसपछि नयॅा शक्ति नाम गरेको समूहमा देखिए अनि उपेन्द्र नेतृत्वको जसपामा प्रवेश गरे र अहिले नेपाल समाजवादीको नाममा फेरि विभाजत भएकोछन् ! आखिर यस्तो कामबाट यिनलाई लाभ चाही के भई पहेको छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर