रुपन्देहीमा डेंगुका बिरामी बढे, स्वास्थ्य कार्यालयसँग बजेट छैन – Nepal Press

रुपन्देहीमा डेंगुका बिरामी बढे, स्वास्थ्य कार्यालयसँग बजेट छैन

रुपन्देही । रुपन्देहीमा एक महिना यता डेंगुका बिरामीहरू बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुटवल, सैनामैना, देवदह र तिलोत्तमामा डेंगुका बिरामीहरु बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा यो रोग लागेका बिरामीहरुले भरिएका छन् । यी मध्ये धेरै गम्भीर प्रकृतिका बिरामीहरुलाई चितवन तथा काठमाडौं पठाइएको छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतना, यसको लार्भा खोज र नष्ट गर भन्ने अभियान बिगतमा गरिएपनि अहिले पालिकाहरुले प्रभावकारीरुपमा यसलाई संचालन गरेको नदेखिएको स्वास्थ्यकर्मी कमल ज्ञवालीले बताए ।

रुपन्देहीका हरेक ल्याबहरुमा अहिले डेंगुका लक्षण देखिएका बिरामीको परीक्षण गर्ने भीड लागेको छ तर यसका बिरामी कति बढे भन्ने आधिकारिक तथ्यांक राख्ने कुनै संयन्त्र बलियो छैन । स्वास्थ्यकर्मी ज्ञवालीका अनुसार डेंगुका लक्षण देखिएर परीक्षण गराएका र यसको उपचार गराएको संख्या निकै ठूलो छ तर सरकारी अस्पतालमै यसको तथ्यांक सबै नभएपनि निजी अस्पताल र क्लिनिकमा उपचार भएको एकिन तथ्यांक आउन संभव नै छैन ।

लुम्बिनी प्रादेशिक अस्पतालको तथ्यांकअनुसार केही दनयता एक सय २२ जनामा डेंगु रोग देखिएको छ । जाँच गराएकामध्ये ८ सय ६४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण भएकामध्ये दश जनाभन्दा बढी रक्तकोषिका कम भएका बिरामीहरू अस्पतालमा भर्ना भई उपचाररत छन् ।

वर्षात र गर्मी मौसम, बुटवलको मुख्य सडकसहित भित्री सडकहरू विस्तार हुँदा खाल्डोमा संकलन भएको फोहोर पानी र लामखुट्टे निराकरणसम्बन्धी सचेतनामुलक कार्यक्रमहरू नहुँदा डेंगुका बिरामीहरू बढ्दै गएको लुम्विनी प्रादेशिक अस्पतालका सूचना अधिकृत डाक्टर नेत्र रानाले बताए ।

’डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रमको कमी भएको पाइएको छ’, उनले भने, ’सरोकारवाला निकायले यसतर्फ ध्यान दिनुपर्छ, दिनदिनै यसका बिरामीको चाप बढेको छ ।’ उनले विपन्न वर्गलाई स्थानीय सरकारले किटानासक झुल वितरण कार्यक्रम गर्नुपर्ने बताए ।

टोल समितिमार्फत् वडाका बस्ती बस्तीमा डेंगु रोग नियन्त्रणसम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए । उनले सवारीसाधनहरू मर्मत गर्ने बुटवल–२ स्थित मैनावगर क्षेत्रमा सुरुमै कार्यक्रमलाई केन्द्रित गरिएको बताए । एसी चलाउने सित्तल ठाउँमा डेंगु फैलाउने लामखुट्टे बढी देखिएको उनको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कार्यालयसँग बजेट धेरै नभएकाले सचेतनाका कार्यक्रम धेरै गर्न नपाएको तर सबै स्थानीय सरकारलाई यस बारेमा सचेतना गराई कार्यक्रम गर्नका लागि आग्रह गरिएको बताए ।

उनले भने,‘अहिले हामीसँग बजेट नै हुँदैन, समन्वय गर्ने काम गरिरहेका छौं, प्राविधिक पक्षबाट गर्ने काम हामी गर्छौ तत्काल सचेतना र लामखुट्टेको खोजी तथा नष्ट अभियान चलाउने भनेर सबैलाई तयारी गर्न भनेका छौं ।’ ‘अहिले डेंगुको बढी हुने समय हो, यो समयमा सबै सचेत हुनुपर्दछ’– ढकालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर