निमफुन्जो शेर्पाको दावी-माथिबाट ह्वीप नलागोस्, सिन्धुपाल्चोकमा वाम गठबन्धन हुन्छ – Nepal Press

निमफुन्जो शेर्पाको दावी-माथिबाट ह्वीप नलागोस्, सिन्धुपाल्चोकमा वाम गठबन्धन हुन्छ

‘मोहन बस्नेतले हाम्रा नेताहरुलाई खेलाए,माओवादीका उम्मेदवार नै विक्री भए’

काठमाडौं । स्थानीय तह चुनावको मुखैमा सिन्धुपाल्चोकका दुईजना नेता एकाएक राष्ट्रिय भाइरल भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत र बाह्रबिसे नगरपालिकाका तत्कालीन मेयर तथा एमाले नेता निमफुन्जो शेर्पाले एकले अर्कोलाई गाली गर्न प्रयोग गरेका शब्द र भाषा टिकटकदेखि सामाजिक सन्जालमा भाइरल भएका थिए ।

चुनावपछि पनि दुवै नेता चर्चाबाहिर छैनन् । मोहन बस्नेतले हालै सम्पन्न पार्टीको केन्द्रीय कार्य समिति बैठकमै देशभर जे गरे पनि सिन्धुपाल्चोकका कम्युनिस्टसँग गठबन्धन नहुने र आफ्नो क्षेत्र सभामुख अग्नि सापकोटाका लागि छाडिए विद्रोह गर्ने चेतावनी दिए । त्यसको केही दिनअघिमात्र उनले जिल्ला समन्वय समिति चुनावमा पनि माओवादीलाई आउट गरेका थिए ।

उता बाह्रबिसे नगरपालिकाको दोस्रोपटक मेयर बन्न असफल भएका निमफुन्जो शेर्पा पनि एमालेको वागमती प्रदेश कमिटीबाट राजीनामा दिएपछि चर्चामा छन् । उनले एमाले छाडेको हल्ला चलिरहेका बेला शेर्पा भने माओवादीका जिल्ला र केन्द्रीयस्तरका नेताहरुसँग छलफलमा भेटिन थालेका छन् ।

के उनले पार्टी परिवर्तन गर्न लागेका हुन् ? हालै काठमाडौंको एउटा क्याफेमा भेटिएका शेर्पाले आफूले एमाले नत्यागेको जवाफ दिए । बरु सिन्धुपाल्चोकमा एमाले र माओवादीबीच गठबन्धन गर्ने र देशलाई नै एउटा उदाहरण दिने प्रयास भइरहेको उनले सुनाए ।

जिल्ला समन्वय समिति चुनावमा एमाले र माओवादीको गठबन्धनमात्र भएन,उनीहरुबीच आगामी संघ र प्रदेशको चुनावमा पनि मिल्ने लिखित सहमति भएको छ । सोही सहमति कार्यन्वयन गराउँन आफू लागिरहेको र देशभर जे भए पनि सिन्धुपाल्चोकमा वामपन्थी एकता हुनुपर्ने बताए ।

प्रस्तुत,एमाले नेता तथा बाह्रबिसे नगरपालिकाका पूर्व मेयर शेर्पासँग नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा ।

चुनाव हार्ने बित्तिकै तपाईले एमाले छाडेको हल्ला चल्यो,वास्तविकता के हो ?

वास्तविकता त्यो भन्दा विल्कुल फरक हो । मैले पार्टी त्यागेको होइन,नेकपा एमालेको प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएको हो । मेयरको चुनाव हार्नु र पार्टीको प्रदेश कमिटीको जिम्मेवारीबाट अलग हुनु फरक कुरा हो ।

मैले कार्यकारी भूमिकामा रहन खोजेको हो,सचिवालयमा अपेक्षा थियो । तर ४,५ सय जनाको भिडमा भाषण सुन्नमात्र सदस्य रहनुभन्दा कुनै जिम्मेवारीमा नरही पार्टी र कम्युनिस्ट आन्दोलनको पक्षमा योगदान गर्न सक्छु भनेर पदीय जिम्मेवारी नलिएको हुँ । तर मैले मेरो पार्टी एमाले छाडेको होइन र त्यो सम्भावना पनि छैन ।

तपाई नेकपा एकीकृत समाजवादीमा जाने चर्चा पनि चल्यो,कसैले कांग्रेस जाने पनि भने खासमा के हो ?

यो मलाई नबुझ्ने,नचिन्ने वा मेरो बदनाम गर्न चाहनेहरुको खेलोमेलो हो । नेकपा एसमा जाने भए उहिल्यै माधव नेपालसँगै जान्थेँ । माधव नेपालले दिनमा तीनपटक सम्म फोन गरेर आग्रह गर्दा पनि,केन्द्रीय सदस्य दिने भन्दा पनि नगएको हुँ । म नेकपा एमाले विभाजनको विपक्षमा उभिएको मान्छे हो । कम्युनिस्ट आन्दोलन बलियो हुनुपर्छ भनेर लागेको मान्छे हुँ ।

म आफ्नै पहल र नेतृत्वमा कांग्रेस र माओवादीका कयौं राम्रा र इमानदार जनप्रिय छबि भएका कार्यकर्तालाई एमालेमा समाहित गरेको छु । त्यस्ता साथीहरुलाई एमाले बनाएर,अझ धेरैलाई एमाले प्रवेश गराएर म आफू चाहिँ पार्टी छाड्ने कुरा कसैले सोच्न सक्छ त ? म त यो पार्टीलाई अझ बलियो बनाउँन लागेको छु ।

कांग्रेसमा जाने कुरा त मेरो कल्पनाभन्दा पनि बाहिरको हो । जुन पार्टी र जुन पार्टीको नेता मोहन बस्नेतसँग मेरो मुख्य प्रतिस्पर्धा छ उसैको कार्यकर्ता हुन जाने कुरा सोच्न पनि सकिन्न । म नेकपा एमालेमै छु र रहनेछु । यहि पार्टीमा रहेर मैले वाम एकताको पक्षमा योगदान गर्न खोज्दैछु । यस सिलसिलामा माओवादीका साथीहरुसँग पनि छलफलमा छु,त्यो सबै कुरा भनेको देशभर नसके पनि सिन्धुपाल्चोकमा एमाले र माओवादी मिलेर वाम जनमतको रक्षा गर्नुपर्छ भन्ने हो ।

बाह्रबिसे नगरपालिकाको मेयरका रुपमा लोकप्रिय नै हुनुहुन्थ्यो तर चुनाव जित्न सक्नुभएन,अन्तर्घातले हो कि जनताले ?

चुनावको परिणाम आइसकेको छ । समग्रमा सिन्धुपाल्चोकमा हाम्रो पार्टीको सोचेजस्तो परिणामा आएन । यसो हुनुमा पहिलो कुरा त जिल्लाको बारेमा निर्णय गर्ने तहका रहेका नेताहरुले सही भूमिका खेल्न सकेनन् । उनीहरुले बेलैमा सही निर्णय गरेको भए परिणाम फरक हुनसक्थ्यो । के के भूमिका भयो भन्ने कुरा समिक्षा होला ।

दोस्रो कुरा,अन्तर्घात पनि भएको छ । मेरै नगरपालिकामा जिल्ला कमिटीका सदस्य भनिएका,विद्यार्थीका जिल्ला नेता भनिएका र भविष्यका सांसद बन्छु भन्नेहरुले खुलेआम कांग्रेसको पैसा खाने,हाम्रा जनप्रतिनिधिको बेुरुजु भन्दै बोकेर हिड्ने काम पनि भए । यस्तालाई के कारवाही गर्ने भन्दा मैले भनेको छु उनीहरु त जनताबीच आफैं नांगिइसकेका छन् । त्यस्तालाई केही कारवाही गर्नै पर्दैन ।

तेस्रो कुरा चाहिँ माओवादी,राप्रपाका उम्मेदवारहरु नै कांग्रेसले किन्यो । यस्ता धेरै कारणहरु छन्,चुनावको बारेमा अब त्यो समिक्षाको विषय हो ।

जिल्लाका नेताहरुको भूमिकाको कुरा गर्नुभयो नि,त्यो कस्तो भयो ?

स्थानीय तहको चुनावको सन्दर्भमा पर्याप्त छलफल र तयारी गर्ने सन्दर्भमा हाम्रो पार्टीका नेताहरु चुकेकै हुन् । सिन्धुपाल्चोककै सन्दर्भमा भन्नु पर्दा कांग्रेसका नेता मोहन बस्नेतले एमाले र माओवादी दुवै पार्टीका नेताहरुलाई बिरालोले मुसो खेलाए झैं खेलाएकै हुन् । कम्युनिस्ट मिल्न नदिने र कांग्रेसले पाएसम्म मिलेर जित्ने रणनीतिमा उनी एक हदसम्म सफल भए । हाम्रो रणनीति बलियो भएन ।

एमालेका नेताहरुलाई एक्ला एक्लै चुनाव लड्ने भनेर भुलाए । हाम्रा साथीहरु बस्नेतको भ्रममा परे । एमालेबाट जितेका दुईजना गाउँपालिका अध्यक्ष नै कांग्रेसमा गए । माओवादीबाट उम्मेदवार बनेका मेयरका उम्मेदवारहरु नै कांग्रेसले किन्यो । चुनावपछि उनीहरु माओवादी छाडेर कांग्रेस बने । यसबाट पनि उनले कम्युनिस्टलाई खेलाएको पुष्टि हुन्छ ।

कांग्रेसले कम्युनिस्ट मिल्न दिएन र आफू कमजोर भएका ठाउँमा कतै माओवादीसँग र कतै राप्रपासँग मिलेर एमाले हराउँन सफल भयो । यो समग्रमा सिन्धुपाल्चोकको सन्दर्भमा एमाले र माओवादीको कमजोरीमा मोहन बस्नेतले खेल्यो । यहि कुरा मलाई चित्त बुझेन र अब एमाले माओवादी मिल्नुपर्छ भनेर लागेको हुँ ।

यदि स्थानीय तह चुनावअघि नै मोहन बस्नेतको खेलमा नपरेको भए १२ वटामा लगभग सबै पालिका कम्युनिस्टले जित्ने अवस्था थियो । त्यसमा हामी चुक्यौं र अब फेरि पनि वाम जनमतलाई विभाजित हुन नदिन सिन्धुपाल्चोकबाट हामीले सन्देश दिनुपर्छ भनेर म लागेको छु ।

देशभरी नै पाँच दलीय गठबन्धन हुने निश्चित भइसकेका बेला सिन्धुपाल्चोकमा एमाले र माओवादीको गठबन्धन कसरी सम्भव छ ?

यो कुरा ठिकै हो तर सिन्धुपाल्चोकको अवस्था अलि फरक छ । हामीले स्थानीय चुनावमै पनि एउटा पालिकामा गठबन्धन गरेर जित्यौं । जिल्ला समन्वय समिति चुनावमा एमाले र माओवादीबीच गठबन्धन भयो र त्यस क्रममा दुवै पार्टीबीच केही लिखित तथा केही अलिखित समझदारी पनि भएका छन् । देशभर जे सुकै होस्,सिन्धुपाल्चोकमा व्यक्तिवादी घमण्ड तोड्न र वामपन्थी जनमतलाई एकठाउँमा राख्न हामी मिल्नुपर्छ ।

अर्को कुरा,मोहन बस्नेतले नै सिन्धुपाल्चोकमा कम्युनिस्टसँग मिल्दैनौं भनिसकेपछि माओवादीका साथीहरु लुरुलुरु मोहन बस्नेतको पछि लागेर भाग देऊ भन्न जान्छन् जस्तो मलाई लाग्दैन । मलाई विश्वास छ,सिन्धुमा एमाले र माओवादी मिल्छन् । किनकी एक्ला एक्लै लड्दा आजको दिन पनि सिन्धुपाल्चोकमा एमाले पहिलो शक्ति हो तर कांग्रेसको डनवाद र धनवादलाई पराजित गर्न र वामपन्थी बलियो बनाउँन दुई पार्टी मिल्नुपर्छ भनेर हामी लागेका छौं । केन्द्रका नेताले हामीलाई यसमा ह्वीप नलगाए पुग्छ ।

सिन्धुपाल्चोकको सन्दर्भमा भन्नुपर्दा यो जिल्ला वामपन्थीहरुको इतिहास भएको ठाउँ हो । पिस्कर हत्याकाण्डपछि स्थापित नेकपा एमाले र पछिल्लो जनयुद्धकालपछि स्थापित माओवादी दुवैको विरासत छ । शीर्षस्थ कम्युनिस्ट नेताहरु अमृतकुमार बोहोरादेखि अग्नि सापकोटासम्मले सोच्नुपर्छ । युवा पुस्ताका नेताहरुले पनि कम्युनिस्ट आन्दोलन जोगाउँन सोच्नुपर्छ ।

अनि नेकपा एसबाहेकको बाम गठबन्धन हो ?

नेकपा एसको सिन्धुपाल्चोकमा केही छैन,त्यसलाई गणना नगरौ । एमाले र माओवादीको कुरा मुख्य हो ।

एमाले र माओवादी सिन्धुपाल्चोकमा मिलाउनै पर्छ भनेर लाग्नुको कारण,तपाई आफू गठबन्धनबाट चुनाव जित्नलाई हो ?

यसबारेमा पनि मैले प्रष्ट पार्ने मौका दिनुभएकोमा धन्यवाद । म २०७४ सालमा मेयर भएँ र २०७९ मा पराजित भएँ । अब फेरि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा आफू उम्मेदवार बनेर जित्नका लागि गठबन्धनको कुरा गरेको भन्ने भ्रममा कोही नरहे हुन्छ । म अबको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कुनै पनि पदको उम्मेदवार होइन । मेरो भूमिका पार्टीलाई जिताउँनेमात्र हुन्छ । म वापमन्थी एकताको पक्षमा छु तर उम्मेदवार बन्न होइन ।

चुनावको बेला मोहन बस्नेतलाई मुख छाडेको भिडिओ भाइरल भएको थियो नि ? किन त्यति आक्रोशित ?

बस्नेत कुनै राजनीतिक मान्छे होइनन् । उनीसँग मेरो राजनीतिक कुरा केही छैन । तर मेरै नगरपालिकाभित्र गएर मेरो आफ्नै वडामा व्यक्तिगत रुपमा मलाई तल्लोस्तरमा झरेर गालिगलौज र छाडा कुरा गरेपछि मैले पनि उनलाई त्यस्तै शैलीमा जवाफ दिएको हुँ । जस्तो मान्छे छ उस्तै व्यवहार गर्ने हो ।


प्रतिक्रिया

One thought on “निमफुन्जो शेर्पाको दावी-माथिबाट ह्वीप नलागोस्, सिन्धुपाल्चोकमा वाम गठबन्धन हुन्छ

  1. Sherpa ji ne. Ka. Pa. As kehi hain bhann lag lagdain sthaniya chunab dhekhenau. Khair sanghiya ma pani dhekaula aavibhadan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर