१६ लाख नतिर्न आफ्नै साथीको अपहरण गरी हत्या – Nepal Press
अपराधको नयाँ शृङ्खला

१६ लाख नतिर्न आफ्नै साथीको अपहरण गरी हत्या

रुपन्देही । अर्घाखाँचीको पाणिनि २ हाल हाल रुपन्देहीको सैनामैना ६ कलौनी निवासी ४३ वर्षीय कुलचन्द्र गौतम दीपक र अर्घाखाँचीको मालारानी १ हाल बुटवल १५ बेलबास बस्ने ४४ वर्षीय विष्णु पाण्डे केही वर्षयता नजिकका साथी बनेका थिए ।

यही विश्वासमा पाण्डे आफैले चलाएको ट्रक १६ लाख मूल्याङ्कन गरी पछि रकम दिने गरी गौतमलाई पास दिएर उनको पहाड घरमा रकम लिन साउन ९ गते दुवै जना अर्घाखाँची गएका थिए ।

तर गौतमले पाण्डेलाई रकम दिन होइन सुनियोजित रुपमा हत्या गर्नका लागि अर्घाखाँची पुराएको एक सातामै पुष्टि भएको छ ।

यति घनिष्ठ सम्बन्ध भएका गौतमले पाण्डेलाई दिनुपर्ने १६ लाख नदिनका लागि विभिन्न योजना बनाएर हत्या गरेको सुन्दा उनीहरू दुवैलाई नजिकबाट चिनेकाहरू आश्चर्यमा परेका छन् ।

घटना विवरण अनुसार मृतक विष्णु पाण्डेको नाममा रहेको लु१ख ७७८१ नं को ट्रक १६ लाखमा गौतमलाई पास दिएपछि उक्त रकम गौतमले यहाँ दिन नसकेकोले पुर्ख्यौली घरमा पुगेर बुवा आमासँग मागेर दिने भन्दै साउन ९ गते गाडी रिजर्भ गरेर अर्घाखाँचीस्थित घरमा लगेका थिए । घरमा गएको भोलिपल्ट घर नजिकैको जंगलमा कालिज मार्न भनी पाण्डेलाई लगेर टाउकोमा फलामको रडले प्रहार गरी भीरबाट खसालेपछि गौतम बुटवलमा आएका थिए ।
उनी बुटवलमा आएपछि र पाण्डेले लगेको मोबाइलमा उनी गएको अर्को दिनपछि सम्पर्क नभएपछि पाण्डेको परिवारले गौतमलाई फोन गरेर खोजतलास गरे पनि आफूलाई जानकारी नभएको जवाफ दिएका थिए ।

मृतकका परिवारको तर्फबाट प्रहरीमा उजुरी दिने संकेत पाएपछि गौतमले आफ्नो परिवारलाई लगाएर उल्टै बेपत्ता भएको निवेदन प्रहरीमा दिए । त्यति बेलासम्म प्रहरीमा पाण्डेका परिवारले ठाडो उजुरी दिएका थिए गौतमविरुद्ध । प्रहरीले यसैलाई आधार मानेर उनीहरुबीच कारोबार भएको ट्रक छोपेर अनुसन्धान थालेपछि गौतम सम्पर्कविहीन भएका थिए ।

१४ गते शनिवार दिउँसो पाण्डे अर्घाखाँचीको पाणिनि २ डाँडाकटेरीको सिद्ध सामुदायिक बनमा मृत अवस्थामा भेटिएका छन् । उता उनको शव भेटिएसँग भागेर भारत पुगेका गौतमलाई पनि प्रहरीले पक्राउ गरी आइतबार बिहान बुटवलमा ल्याएको छ ।

यति लामो समय बलियो साथीको सम्बन्ध बनाएका गौतमले हत्या गरेको धेरैलाई पत्यार नलागे पनि आइतबार उनी आफैले ऋण तिर्न नसकेपछि आवेशमा आएर हत्या गरेको बताएका छन् ।

‘कुलचन्द्र दाइले यस्तो गरे भन्ने विश्वास नै लागेको थिएन, सबै व्यवहारमा विश्वास गर्ने विष्णु दाई माथि गरेको जघन्य अपराध सोच्न पनि नसकिने देखियो, यति विश्वास गरेका साथीभाइबाट यस्तो घात भएपछि समाजमा कसरी सुरक्षित बस्न सकिन्छ रु’ – उनीहरू दुवैलाई जानेका बुटवलका व्यवसायी नमराज सुवेदीले भने ।

मृतककी जेठी छोरी २१ वर्षीय शिला पाण्डेले बुवाले गौतमसँग गाडीबाहेक पुरानो १० लाख रकम पनि लिन भएको आफूलाई सुनाएको बताएकी छन् । ’गौतम अंकलसँग पुरानो १० लाख लिन भएको भए पनि विश्वासमा गाडी पास दिएर एकमुस्ट रकम पाउने आसमा विश्वास गरेपछि यस्तो जघन्य अपराध गरेर छाडे’, उनले भनिन् ।

एक व्यक्तिको सनकले दुवै परिवारको बिचल्ली

यति लामो समय व्यवसाय गरेर बसेका ४३ वर्षका कुलचन्द्र गौतमको एक छिनको सनकीपनले मृतक पाण्डे परिवारको मात्रै होइन गौतम परिवारको पनि बिचल्ली भएको छ ।

मृतक पाण्डेका ३ छोरी र १ छोरा अनि श्रीमती छन् । जेठी छोरी २३, माइली छोरी २०, कान्छी छोरी १४ अनि छोरा ११ वर्षका छन् । जेठी छोरीको विवाह भए पनि अरू पढ्ने उमेरकै छन् । घरमा आम्दानी गर्ने मुख्य व्यक्ति रहेका विष्णुको अल्पायुमै हत्या भएपछि उनीहरूको बिचल्ली भएको छ ।

‘घरको मुख्य मान्छे विष्णु नै हुन्, छोराछोरी सानै छन्, आम्दानी मुख्य स्रोत त्यही एक ट्रक मात्रै थियो, उनी त यसरी मारिए परिवारको कसरी व्यवस्थापन गरिदिने भन्ने ठूलो चुनौती आइलागेको छ’– उनका छिमेकी लीलबहादुर पाण्डेले भने ।

मृतकका परिवारका तर्फबाट आइतबार अपहरण, शरीर बन्धक गरी हत्यासहितको किटानी जाहेरी प्रहरीमा दर्ता भएको छ । प्रहरी र मृतकका परिवारसामु गौतमले हत्या गरेको स्वीकार गरेका छन् । यस कारण पनि उनको जन्मकैद हुने कानुन व्यवसायीले बताएका छन् । उनले सबै विषय स्वीकार गरेपछि यो मुद्दामा हुने जन्मकैद नै हो, अधिवक्ता ओमप्रसाद पंगेनीले भने । हत्या कबोल गरेकाले उनको जन्मकैद भएपछि गौतमको परिवारमा पनि बिचल्ली भएको छ ।

‘एक छोरा र छोरी कलेज स्तरको पढाइमा छन्, भएको सम्पत्ति बेचेर कारोबार सुरु गरेका हुन्, त्यो पनि बिगारेर यस्तो गरेको सुनियो, हत्याकाण्डले मृतक परिवारको त बिचल्ली भयो नै गौतम परिवारको पनि उस्तै बिजोग हुनभयो’– गौतमका छिमेकी शंकर गौतमले भने ।

आइतबार अबेर मात्रै मृतकका परिवारले किटानी जाहेरी दिएकाले मृतकको पोस्टमार्टम नभएको र अन्य अनुसन्धान भने जारी रहेको इलाका प्रहरी कार्यालयका प्रमुख ठग बहादुर केसीले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर