प्रचण्डका दुई चाहना : कांग्रेसले पूरा गर्ला कि खोज्ला बहाना ? – Nepal Press

प्रचण्डका दुई चाहना : कांग्रेसले पूरा गर्ला कि खोज्ला बहाना ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सक्रिय राजनीतिको उत्तरार्धमा छन् । त्यसैले उनी राजनीतिको मैदानमा ‘अन्तिम पारी’ अर्थात ‘लास्ट इनिङ’ खेल्न चाहन्छन् । आफ्नो चाहना उनले सार्वजनिक मञ्चबाटै व्यक्त गरिसकेका छन् ।

‘हामीले एकचोटी देशलाई यसरी विकास, यसरी सुशासन, यसरी समृद्धि भनेर देखाउनै पर्नेछ । मेरो हुनसक्छ यो लास्ट इनिङ होस र यो पछिसम्मको सन्ततिलाई सम्झने गरी देशलाई केही चीज दिने सपना देखिरहेको छ’, शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले भने । उनको भनाईको अर्थ स्पष्ट छ, उनी फेरी प्रधानमन्त्री बन्न चाहन्छन् ।

आफू प्रधानमन्त्री बन्नेबाहेक दोस्रो चाहना पनि प्रचण्डले सार्वजनिक गरिसकेका छन् । उनी नेकपा माओवादी केन्द्रलाई वामपन्थीहरुमध्ये पहिलो पार्टी बनाउन चाहन्छन् । संसदीय निर्वाचन सन्निकट रहँदा नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा प्रचण्ड विश्वस्त भइसकेका छन् । त्यसैले एमालेलाई उछिनेर दोस्रो हुने चाहना प्रचण्डले राखेका छन् । त्यसका लागि आफ्नो मेहेनतमा मात्रै प्रचण्डको भर छैन, उनी कांग्रेसले माओवादीलाई दोस्रो बन्न मद्दत गर्नुपर्ने अडानमा छन् । माओवादीलाई दोस्रो दल बनाउन कांग्रेसले सहयोग नगरे माओवादीले पनि कांग्रेसलाई पहिलो दल बन्न मद्दत नगर्न सक्छ । यो संकेत प्रचण्डले सार्वजनिक अभिव्यक्तिदेखि गठबन्धनको शीर्ष बैठकमा समेत गरिसकेका छन् ।

‘मैले नेपाली कांग्रेसका नेताहरुसँग कुराकानी गर्दा पनि भनेको छु , सायद पहिलो त कांग्रेस नै हुने देखियो । दोस्रो चै माओवादी केन्द्र हुने हो । त्यसमा सहयोग गर्ने हो भने सब चीज सहज जान्छ, होइन भने सहज जाँदैन’, प्रचण्डले भनेका छन् ।

कांग्रेस तयार छ त ?

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले कुनै पार्टीलाई पहिलो वा दोस्रो बनाउन नसक्ने बताउँछन् । निर्वाचनमा कुन पार्टीलाई कुन साइजमा राख्ने भन्ने निर्णय जनताले गर्ने महतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्डले शर्तकै रुपमा माओवादीलाई दोस्रो बनाउने जिम्मा कांग्रेसले लिनुपर्ने अडान नराखेको विश्वास महतले व्यक्त गरे ।

‘कांग्रेसले नै माओवादीलाई दोस्रो बनाइदिने भन्ने कुरा त नहोला । यो त जनताको अभिमतको कुरा हो । हाम्रो निर्वाचन प्रणालीमा ४० प्रतिशत समानुपातिकको व्यवस्था छ । प्रत्यक्षमा हामीले सिट बाँडेर तालमेल गरेपनि समानुपातिकमा त माओवादीले आफ्नो मत आफैं बढाउनुपर्ला’, महतले नेपाल प्रेससँग भने ।

स्थानीय निर्वाचनमा तालमेल गर्दापनि कांग्रेसले उदारता प्रस्तुत गरेको भन्दै प्रवक्ता महत आगामी निर्वाचनमा पनि व्यवहारिकता हेरेर सिट बाँडफाँट गर्न कांग्रेस तयार रहेको बताउँछन् । तालमेल गर्दा उम्मेदवारी दिनेभन्दा चुनाव जित्ने लक्ष्य निर्धारण गर्नुपर्ने महतको भनाई छ ।

‘लेफ्टहरुमध्ये सबैभन्दा ठूलो दल बन्ने माओवादीको ईच्छामा हाम्रो शुभेच्छा छ । तर त्यो कांग्रेसले बनाइदिने होइन । समानुपातिकमा उहाँहरुले मत बढाउनुपर्यो, प्रत्यक्षमा पनि व्यवहारिक बाँडफाँट हुनुपर्यो’, महतले भने ।

चुनावपछि प्रचण्डको ‘लास्ट इनिङ’ सुरु हुनेबारे छलफल भइनसकेको कांग्रेसको भनाई छ । प्रवक्ता महतका अनुसार सीट र शक्ति बाँडफाँटबारे गठबन्धनको शीर्ष तहमा छलफल हुनै बाँकी छ । ‘यसबारे औपचारिक छलफल सुरु भएपछि नै तय होला । अहिले नै को प्रधानमन्त्री भन्ने स्थिति छैन । सबै पार्टीमा गहन छलफल भएपछि को के हुने भन्ने टुंगो लाग्ला’, महतले भने ।

महतका अनुसार कांग्रेस चुनावी तालमेल र गठबन्धनमा शर्त राख्ने पक्षमा छैन । यद्यपि तालमेलका लागि सिट बाँडफाँट गर्दा व्यवहारिकता मिल्दो र जनाधार पुष्टी हुनेगरी गर्नुपर्ने कांग्रेसको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर