कोरोनाको चौथो लहरले छोपिसकेको हो ? – Nepal Press

कोरोनाको चौथो लहरले छोपिसकेको हो ?

काठमाडौं । एक महिनाअघि  अर्थात असार १४ गते नेपालमा ४४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबेलासम्म सक्रिय संक्रमित २०१ जना थिए । मृत्यु शून्य नै थियो । उपत्यकाका अस्पतालहरुमा कोभिडका बिरामी शून्य थिए । वीरेन्द्र अस्पताल छाउनीको एचडीयुमा मात्रै एकजना भर्ना थिए । सातै प्रदेशका अस्पतालहरुमा ४ जनामात्रै आईसीयुमा भर्ना थिए ।

तर, एक महिनापछि अवस्था ठीक उल्टो भएको छ । यसबीच संक्रमणदर तीव्र बढेको छ । शनिबार एकैदिन ४३८ जनामा संक्रमण पुष्टि भयो । दुई जनाकाे संक्रमितको ज्यानै गयो । अहिले देशभर संक्रिय संक्रमित ४ हजार ३६९ जना पुगेका छन् ।

साउन १ गते तीन महिनापछि पहिलोपटक एक जना कोभिड संक्रमितको मृत्यु भएको थियो । त्यसयता दैनिक ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट साउन १ गतेयता १३ जनाको मृत्यु भइसकेको छ ।

एक महिनामा ०.५ बाट १२ प्रतिशत पुग्यो संक्रमणदर

एक महिनाअघि ०.५ प्रतिशतमा झरेको संक्रमणदर अहिले १२ प्रतिशतमा उक्लिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले संक्रमणदर बढ्दो क्रममा छ ।

नेपालमा अहिले ओमिक्रोन भेरियन्ट र यसका उपप्रजाति ‘बीए २’ र ‘बीए ५’ बढी सक्रिय छन् । जसले संक्रमणदर तीव्र फैलिएको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार बीए ५ ओमिक्रोन भेरियन्टको उपप्रजातिहरुमध्ये सबैभन्दा छिटो फैलिने गरेको छ ।पछिल्लो समय तीव्र फैलिएको कोरोना संक्रमण कतै चौथो लहर त होइन ? सर्वत्र प्रश्न गर्न थालिएको छ ।

संक्रामक रोगको सिद्धान्तअनुसार न्यूनत्तम विन्दूमा पुगेर नयाँ संक्रमित बढेर उचाइमा पुगेमा त्यसलाई अर्को लहर मानिन्छ । संक्रमणको ग्राफ बढ्दै गयो वा संक्रमण कति उत्कर्षसम्म जान्छ भन्ने पक्षले अर्को लहर आएको संकेत गर्छ ।

१५ दिनअघि नै सुरु भएको थियो चौथो लहर

नेपालमा १५ दिनअघिदेखि कोरोनाको चौथो लहर सुरु भइसकेको बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी पनि नेपाल कोरोनाको चौथो लहर राम्रैसँग पसिसकेको बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले चौथो लहर सुरु भयो भनेर औपचारिक घोषणा भने गरेको छैन । तर, चौथो लहर सुरु भएको स्वीकार गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले दैनिक पुष्टि भएको संख्यालाई ग्राफमा राख्दा उकालो लागेको देखिएकाले चौथो लहर सुरु भएको पुष्टि भएको बताए ।

उनले भने, ‘दैनिक रुपमा पुष्टि भएको संख्यालाई ग्राफमा राख्दा जुन उकालो लागेको देखिन्छ । त्यसको आधारमा ग्राफले भन्ने हो । पहिले धेरै उकालो लागेर घटेर तल पुगेको थियो । फेरि अहिले बढेर माथि जान थालेको देखिन्छ । अर्को पिकमा जान थालेको छ ।’

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहर चलिरहेको संकेत गर्ने बताउँछन् । ‘अहिले देखिएको संक्रमणले चौथो लहर आइसकेको भन्ने देखाउँछ’, उनले भने ।

अहिले संक्रमित बढिरहेकाले कहाँसम्म पुग्छ भन्ने कुरा परीक्षणमा भरपर्ने उनको भनाइ छ ।

समुदायमै पुग्यो संक्रमण

संक्रमण समुदायमै फैलिसकेको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् । अस्पताल आउनेहरुले परिवारमा पनि यही खालको समस्या देखेको बताउने गरेकाले पनि संक्रमण समुदायस्तरमा फैलिसकेको पुष्टि हुने उनको भनाइ छ ।

विगतमा भन्दा अहिले धेरैले खोप लगाएको कारणले कडा लक्षण नदेखिएको डा. पुन बताउँछन् । जति खोप लगायो, त्यति नै परीक्षण गर्ने सम्भावना कम हुने उनको भनाइ छ । त्यसैले अहिले संक्रमित भएर पनि कोरोजा परीक्षण गर्न नआउनेहरुको संख्या धेरै हुनसक्ने उनले बताए ।

डा. पुनले भने, ‘जब खोप लगाउनेको संख्या बढ्छ तब संक्रमण त होला । तर, जटिल अवस्था नआउने भएकाले परीक्षण घट्छ । यसअघिको भेरियन्टमा धेरैभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । कोभिड लागे तापनि परीक्षणमा नआउने हुन्छ । तर, संक्रमण भइसकेको हुन्छ । जुन तथ्यांकमा देखिँदैन ।’

बुस्टर डोज लगाएकाहरु पनि संक्रमित

अहिले फैलिएको ओमिक्रोनको उपप्रजातिले बुस्टर डोज लगाएकालाई पनि असर गर्नसक्ने इपिडिमियोलोजीका पूर्वनिर्देशक डा. मरासिनी बताउँछन् ।

अहिलेको बी फाइभले तीव्र रुपमा संक्रमण फैलाए पनि सामान्यतया खोप लगाएकाहरु अस्पताल नै गएर बस्न नपर्ने हुनसक्ने उनले बताए ।डा. मरासिनीले भने, ‘खोप नलगाएकोलाई अलि बढी असर हुनसक्छ । अहिले मृत्यु हुनेहरुले खोप पनि नलगाएको देखियो ।’

उनका अनुसार खोप लगाएकाहरुको मृत्यु हुँदैन भन्ने  होइन । यो लहरमा शारीरिक रुपमा कमजोर भएकाहरुलाई खोप लगाएको भए पनि कोरोना अलि कडा रुपमा प्रस्तुत हुनसक्ने उनको भनाइ छ ।

डा. मरासिनीको भनाइमा डा. पुन पनि सहमति जनाउँछन् । उनी भन्छन्, ‘अब खोप नलगाएकोहरुलाई गाह्रै हुन्छ । अहिले पनि खोप नलगाउने एउटा समूह छ । ओमिक्रोन डेल्टाभन्दा कमजोर देखिए पनि खोप नलगाए समस्या आउँछ ।’

पोस्ट कोभिड पनि देखिने सम्भावना रहेको डा. पुन बताउँछन् ।

डा. मरासिनी भन्छन, ‘अहिले धेरै बच्चाहरुले खोप लगाएका छैनन् । ५ वर्षभन्दा माथि ११ वर्ष तलका बच्चाहरुले फस्ट डोज खोप लगाएका छन् । तर, दोस्रो डोज नलगाएसम्म सुरक्षा दिँदैन । साना बच्चाहरु धेरै छन् र बाँकी ठूलो उमेरका जनसंख्या पनि कतिले लगाएका छैनन् ।’

कतिले खोप लगायो भन्ने यकिन तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । बच्चाहरु आपसमा घुलमिल पनि हुने, स्कुलमा पढ्दा सामाजिक दूरी कायम गर्न नसक्ने हुँदा बच्चाहरुमा संक्रमण बढी देखिएको छ ।

साना बच्चाहरुमा पहिले पनि फाट्टफुट्टबाहेक कडा रुपमा नदेखिएकाले बी फाइभले उनीहरुमा धेरै कडा लक्षण नदेखिने उनको भनाइ छ ।

अवस्था कति डरलाग्दो छ ?

अहिलेको लहर पहिलाको तुलनामा छोटो देखिने डा. मरासिनीको भनाइ छ । ‘अहिले संक्रमणको कारण पहिले जस्तो अस्पताल भरिभराउ हुने र धेरैको मृत्यु हुने सम्भावना कम हुन्छ’, उनले भने, ‘तर, यो भन्दै गर्दा कोही पनि भर्ना हुँदैन, कोही पनि मर्दैन भन्ने होइन ।’

डा. पुनले यो लहरमा खोप नलगाउनेहरु उच्च जोखिम हुने बताए । संक्रमण एक–अर्कालाई सार्दै जान्छ, जसले गर्दा तीव्र फैलने सम्भावना रहने उनले स्पष्ट पारे ।

तर, यसले सुरुमा जस्तो अप्ठ्यारो अवस्था सिर्जना गर्ने सम्भावना कम रहेको उनले बताए । ‘जति शरीरलाई सुरक्षा प्रदान गर्ने खोप लगाउँदै जान्छौं । त्यति नै भाइरससँग लड्ने क्षमता बढ्छ । भाइरसको क्षति गर्ने क्षमता पनि कमजोर हुन्छ । त्यसैले पहिलेजस्तो डराउनुपर्ने अवस्था छैन’, डा. पुनले भने ।

यसपटक धेरै मानिसहरु अस्पतालमा भर्ना हुनुपर्ने अवस्था नआउने डा. मरासिनी बताउँछन् ।

उनी भन्छन्, ‘धेरै मान्छेले दुईवटा खोप लगाएका छन् । त्यसले गर्दा पहिले जस्तो धेरै मानिसहरु अस्पताल भर्ना हुनुपर्ने र आईसीयूमा राख्नुपर्ने अवस्था नआउला । तर, यसको तयारी चाहिँ हुनुपर्ने देखिन्छ ।’

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी अहिलेको लहरले अल्फा र डेल्टामा जस्तो धेरै मानिसको हताहती हुने अवस्था नआए पनि संख्यामा त्योभन्दा कम मानिसको मृत्यु हुने बताउँछन् । तर, केही हुँदै हुँदैन भनेर भन्न पनि नमिल्ने उनको भनाइ छ ।

अस्पतालमा बढ्दै चाप

संक्रमण तीव्र फैलिएपछि अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । एक साताभित्र अस्पतालमा बिरामीको चाप बढेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक साताअघि उपत्यकाका अस्पतालहरुमा केहीमात्र कोभिडका बिरामी भर्ना भएका थिए । मन्त्रालयका अनुसार कोभिडको उपचार गर्ने नेपाल प्रहरी अस्पताल, निजामती कर्मचारी अस्पताल, त्रिवि शिक्षण अस्पताल र राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रमा एकजना पनि संक्रमित भर्ना भएका थिएनन् । अन्य अस्पतालहरुमा पनि एक–दुई जनामात्रै कोभिडका बिरामी थिए ।

अस्पतालमा भर्ना भएका बिरामीमध्ये पनि दीर्घ तथा गम्भीर खालका रोग लागेकाहरु छन् । उपत्यकाका कुनै पनि अस्पतालको भेन्टिलेटरमा बिरामी थिएनन् । तर, अहिले विस्तारै अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढ्न थालेको छ ।

अस्पताल भर्ना भएका बिरामीमा पनि सामान्य लक्षण देखिएको छ । ज्वरो, रुखाखोकी लागेर भर्ना हुनेबाहेक गम्भीर खालका बिरामी नभएको त्रिवि शिक्षण अस्पतालका कोभिड फोकल पर्सन रामविक्रम अधिकारीले बताए ।

उनले भने, ‘अहिले अस्पतालमा ४ जना बिरामी भर्ना हुनुहुन्छ । उहाँहरु सबैले खोप लगाउनुभएको छ । उहाँहरु कसैलाई पनि अक्सिजन लगाउनुपर्ने अवस्था छैन ।’

अन्य अस्पतालमा पनि सामान्य बिरामी भर्ना भएका छन् । तर, बिरामीहरुको चापाचाप भने नभएको अस्पतालहरुले जनाएका छन् । संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुने प्रतिशत कम भए पनि संख्या बढ्दै जानसक्ने मन्त्रालयका प्रवक्ता डा. अधिकारीले बताउँछन् ।

उनले भने, ‘बीचमा संक्रमण कम भएको तुलनामा अहिले केही बढेको छ । तर, संक्रमण रोकथाम गर्न हामीले जनस्वास्थ्यका मापदण्ड पालना बढाउनुपर्छ । अस्पतालको तयारी र निगरानीको पाटोतर्फ मन्त्रालयले काम गरिराखेकै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर