अमेरिकासँग ६ गुणाले बढ्यो नेपालको व्यापार घाटा – Nepal Press

अमेरिकासँग ६ गुणाले बढ्यो नेपालको व्यापार घाटा

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विवाद मत्थर हुन नपाउँदै राजनीतिक वृत्तमा अहिले सबैभन्दा बढी चर्चामा रहेको विषय हो अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) । पछिल्लो समय अमेरिका एकपछि अर्को प्रोग्राम लिएर नेपालमा आफ्नो प्रभुत्व जमाउन खोजेको भन्दै उसका कार्यक्रमहरु विवादरहित बन्न सकेको छैन । विशेषगरी यसका अनुदान र सहयोग नेपालको संसदमा निकै विवादित हुने गरेको छ ।

उसो त नेपाल र अमेरिकाको दुईपक्षीय व्यापारकै कुरा गर्ने हो भने यी दुई देशबीचको व्यापार एकदम न्यून छ । गत वर्ष नेपालको वार्षिक २१ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार हुँदा अमेरिकासँगको व्यापार जम्मा ६८ अर्ब बराबरको छ । त्यसमा अमेरिकाबाट आयात ५० अर्ब ५ करोड ५ लाख भएको भन्सार विभागले जनाएको छ ।

यस्तै निर्यात १७ अर्ब ९९ करोडको भएको छ । यस आधारमा नेपालको अमेरिकासँगको ३२ अर्ब ५ करोड ८४ लाख रुपैयाँ व्यापार घाटा छ ।

पाँच वर्षको व्यापार अवस्था

(रकम रु. हजारमा )

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्ने हो भने यही वर्ष बढी व्यापार भएको छ । व्यापार घाटा पनि यही वर्ष बढी देखियो । आर्थिक वर्ष २०७६/७७ मा पनि १४ अर्ब बढी व्यापार घाटा थियो ।

नेपालबाट अमेरिका जाने वस्तुहरुमा प्रशोधित घ्यू, मह, कुकुर र बिरालोले खाने खाना (विशेषगरी छुर्पी), कालो चिया, ग्रीन टी, अदुवा, हातले बनाइएको ब्याग, वालपेपर, यार्सागुम्बा, बाँसबाट बनेको बास्केट, फ्रेस फ्लावरलगायत रहेका छन् । कुकुर तथा बिरालोका लागि चाहिने खाना १ अर्ब रुपैयाँभन्दा बढी निर्यात भएको छ ।

यस्तै यो वर्ष यार्सागुम्बा १ करोड ५४ लाख रुपैयाँभन्दा बढी, रुद्राक्षको बीउ ६७ लाख रुपैयाँ बढीको निर्यात भयो ।

आयात हुनेमा जीवित जनावर, बच्चाको दूध, अन्य दुग्धजन्य ठोस पदार्थ, प्रशोधित मह, ड्राइ फूड, दाल, बदाम, ओखर, पेस्ता, नासपाती, क्रेनबेरीलगायतका वस्तु आयात भएको तथ्यांकमा देखिएको छ ।

नेपाल-अमेरिका सम्बन्ध

नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा उल्लेख गरिएअनुसार सन् १९४७ अप्रिल २५ तारिखमा काठमाडौंमा नेपाल र अमेरिकाबीच वाणिज्य तथा मैत्री सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खोलेको थियो ।

साथै अमेरिकी नागरिकप्रति गरिने व्यवहारको मापदण्ड स्थापित गर्दै भविष्यका वाणिज्य सम्बन्धमा पक्षपातरहित व्यवहार अपनाइने नीति लिएको थियो । अमेरिकाले सन् १९५१ बाट नै आफ्नो यूएसएडमार्फत नेपालको सामाजिक आर्थिक विकास, शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि सहयोग गर्दै आएको छ ।

यो वर्ष नेपालको संसदले एमसीसी सम्झौताअन्तर्गत झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदानलाई अनुमोदन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर