समाजवादी केन्द्रको खेलो- कांग्रेससँग ‘कलेक्टिभ बार्गेनिङ’ गर्ने मेलो – Nepal Press

समाजवादी केन्द्रको खेलो- कांग्रेससँग ‘कलेक्टिभ बार्गेनिङ’ गर्ने मेलो

काठमाडौं । तत्कालीन नेकपाका ५ जना सचिवालय सदस्य दुईपटक सामुहिक छलफलमा बसेर फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एकजनाले टिप्पणी गरे- अब सायद यिनीहरूले बहुमतबाट केपी ओलीलाई एमालेको अध्यक्षबाट हटाउने निर्णय गर्‍यौँ भन्ने होलान् ।

इतिहासको गर्तमा पुगिसकेको नेकपाका पाँच सचिवालय सदस्यको बैठकमा नेकपाकालीन संरचना ब्युँताउने प्रस्ताव वामदेवले राखेका थिए । पछि गएर यो समूहमा बाबुराम भट्टराईसमेत मिसिएपछि समाजवादी केन्द्र बनाउने चर्चा सुरू भयो । जुन केन्द्रमा उपेन्द्र यादवसमेत समेटेर कांग्रेस र एमालेलाई काउन्टर दिने कुरा पनि चल्यो ।

नेपाली राजनीतिमा पछिल्लो समय तीब्र रूपमा समाजवादी केन्द्रको बहस चुनावी स्टन्टमात्र हो कि, साँच्चिकै तेस्रो धारको निर्माण भन्ने प्रष्ट भइसकेको छैन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अगुवाइ गरेको यो कसरतमा सत्ता गठबन्धनबाहेकका दलसमेत मिसिएका छन् ।

सामाजवादी केन्द्रको भ्रूण लाग्न नपाउँदै यो तुहिने सम्भावना पनि उत्तिकै छ । किनकी यसमा उपेन्द्र यादव सहभागी नहुनासाथ कुनै अर्थ छैन । एक्लै चुनाव लडेर जितिन्छ भन्ने आत्मवल प्रचण्ड र माधव नेपाल दुवैले गुमाइसकेका छन् ।

यसमा माओवादी, नेकपा एस, राष्ट्रिय जनमोर्चा, जसपाबाट भर्खरै छुट्टिएर नयाँ पार्टीमा जुटेका बाबुराम भट्टराईको समूह र जसपा सामेल गर्न खोजिएको छ । केही दिनअघि जनकपुर पुगेका प्रचण्डले उपेन्द्र यादव पनि समाजवादी केन्द्रमा आउने बताएका थिए । तर, उपेन्द्रले त्यो सम्भावना खारेज गरेका छन् ।

चुनावलक्षित केन्द्र निर्माणको होमवर्कमा जुटेका नेताहरू एकता गरेर नयाँ पार्टी बनाउनेसम्मको रणनीतिमा छन् । तत्काल त्यो सम्भव नभए संयन्त्र बनाइने र संयुक्त घोषणापत्र बनाएर एउटै चिन्हका साथ चुनाव लड्ने विषयमा छलफल भइरहेको माओवादी नेता हरिबोल गजुरेल बताउँछन् ।

बिहीबार स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले भइरहेका पहल र अहिलेसम्मका उपलब्धिबारे जानकारी गराएको उनको भनाइ छ ।

‘समाजवादी केन्द्रभन्दा पनि एकता गरेर पार्टी नै बनाउने गरी छलफल अघि बढाइएको हो । परिणाम आउन समय लाग्छ । तर, तत्काललाई मोर्चाको रूपमा लगेर चुनावमा जान सकिन्छ यसमा सबै सकारात्मक हुनुन्छ’, गजुरेलले नेपाल प्रेससँग भने ।

संयुक्त घोषणापत्र र एउटै चुनाव चिन्ह भने पहिले एकताको टुंगो लागेपछि हुने उनले बताए ।

सत्ता गठबन्धन कायमै राखेर अर्को मोर्चाबन्दी हुन्छ त ? भन्ने जिज्ञासामा उनले यसले गठबन्धनलाई कुनै असर नपार्ने उल्टै बल पुग्ने दाबी गरे । तर, एमालेसँगको च्याप्टर भने क्लोज भइसकेको गजुरेलको प्रष्टीकरण थियो ।

नेकपाकालीन सचिवालयका बहुमत सदस्यहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच यसअघि दुई चरण छलफल भएर यस एजेण्डाको उठान गरेका हुन् । सचिवालय ब्युँताउने र एकता संयोजन संयन्त्र बनाउने वामदेवको प्रस्ताव र संयोजनमा नेताहरू जुटेका थिए । वामदेवले नेकपा एकता संयोजन संयन्त्र बनाउने र यसमा एमाले अध्यक्ष ओलीलाई पनि मनाउन सकिने बताएका छन् ।

तर, ओलीले पार्टीको प्रशिक्षण कार्यक्रममा फेरि अर्को फुटका लागि एकता अभियान सुरू भएको प्रतिक्रिया दिएका थिए । ‘आज तपाईँहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि सुरू भएको छ । यो त्यति सफल हुँदैन,’ उनको भनाइ थियो ।

शक्ति आर्जनको दाउ

यसअघि नेकपा एमाले र माओवादी एकतापछि बनेको नेकपा दुई तिहाइनजिक पुगेर ५ वर्षपनि नटिकेको दृष्टान्त हामीमाझ छ । आन्तरिक किचलोबाट नेकपा फुटपछि माधव नेपालको समूह एमालेबाट चोइटिएको छ ।

टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकत्रित बनेर मोर्चाबन्दी गर्दै शक्ति बढाउन लागेको सहजै बुझ्न सकिन्छ । अझ तल्लो तहसम्म सांगठनिक रूपमा मजबुत कांग्रेस र एमालेपछि ‘थर्ड पोल’ बनाउने गरी छलफल र भेटघाटलाई बाक्लो पारिएको छ ।

कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर प्रचण्डले समाजवादी केन्द्रलाई साधन बनाउन लागेको प्रष्टै छ । यसअघि आवश्यकताअनुसार आफू फड्को मार्न कांग्रेस-एमालेसँग मिलेका उनी अब कांग्रेससँग बार्गेनिङ पावर बढाउन यसको गृहकार्यमा जुटेका छन् ।

‘कांग्रेसको यही अहमता रहने हो भने उसैसँग मात्र तालमेल गर्नुपर्छ भन्ने छैन । अहिले अध्यक्षका लागि आन्तरिक र बाह्य राजनीतिक सहज बनेको छ । यही बुझेर उहाँ वामपन्थी एकजुट गराउन लाग्नुभएको हो । यो आवश्यकता पनि छ’, प्रचण्डनिकट एक नेताले भने ।

‘समाजवादी केन्द्रभन्दा पनि एकता गरेर पार्टी नै बनाउने गरी छलफल अघि बढाइएको हो । परिणाम आउन समय लाग्छ । तर, तत्काललाई मोर्चाको रूपमा लगेर चुनावमा जान सकिन्छ यसमा सबै सकारात्मक हुनुन्छ’- हरिबोल गजुरेल

कांग्रेसभित्रै पनि गठबन्धनमा मतऐक्यता नभएको साथै एमालेसँगको तालमेल पनि असम्भव देखेका प्रचण्डले यसलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोजेका छन् । र, माधव-झलनाथ र वामदेवको आड-भरोसाले हौसिएका पनि छन् ।

एमाले फुटाएर जन्मिएको नेकपा एसलाई पनि स्थानीय तह निर्वाचनको परिणामले सन्तोष दिएको छैन । त्यसैले पार्टीको वास्तविक परीक्षा आउँदो संसदीय चुनावमा हुने भएकाले उसले पनि शक्ति आर्जनका लागि यो मोर्चाबन्दीलाई हतियार बनाउन खोज्दैछ । गठबन्धनको तेस्रो ठूलो घटक भएको भन्दै माधवकुमार नेपालले नेकपा एसको शक्तिलाई कम नआँक्न कांग्रेस र माओवादीलाई सचेत गराउँदै आएका छन् ।

एमाले नेतृत्वकै सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउन आफूसहितका नेताको राजनीतिक भविष्य दाउमा राखेको मूल्यस्वरूप चुनावपछि छोटो समयकै लागि भए पनि प्रधानमन्त्री बन्न चाहन्छन् ।

कांग्रेसमाथि दबाब !

स्थानीय चुनावमा एमालेविरोधी तालमेलबाट हौसिएको पाँचदलीय गठबन्धन आगामी संसदीय चुनावसम्म जान प्रतिबद्ध भइसकेको छ । गठबन्धनका लागि सबैको भरोसा बनेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी बैठकमै एमालेलाई कम नआँक्न भन्दै ओली छाडेर आएका प्रचण्ड-माधवलाई अलपत्र पार्न नसकिने बताउँदै आएका छन् ।

साउनको सुरूवातीमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले आफ्नै पार्टीलाई बहुमतको ग्यारेण्टी हुनेगरी गठबन्धनलाई कायम राख्ने निर्णय गरिसकेको छ । र, आफ्नै नेतृत्वमा ५ वर्ष स्थायी सरकार बनाउने रणनीतिमा कांग्रेस लागेको छ ।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सुरक्षा संयन्त्रको रिपोर्टिङका आधारमा देशभरको अवस्था ब्रिफिङ गर्दै माओवादी गठबन्धनविना चुनावमा नजाने सुनाएका थिए । एक्ला-एक्लै चुनाव लड्का कांग्रेसको पनि राम्रो नतिजा नआउने साथै माओवादीले ८ सिटभन्दा नजित्ने खाणको प्रक्षेपण थियो । उसलाई एमालेतिर जानबाट रोक्नुपर्ने कांग्रेसको बाध्यता भने गृहमन्त्रीले सुनाएका थिए ।

कांग्रेससँग मात्र गठबन्धनको भर पर्दा प्रधानमन्त्रीका लागि कम्फर्टेबल नहुने बुझेर प्रचण्डले समाजवादी केन्द्रलाई साधन बनाउन लागेको प्रष्टै छ । यसअघि आवश्यकताअनुसार आफू फड्को मार्न कांग्रेस-एमालेसँग मिलेका उनी अब कांग्रेससँग बार्गेनिङ पावर बढाउन यसको गृहकार्यमा जुटेका छन् ।

नेकपा एसले रौटहटमा एक सीट जित्ने र मधेसवादी दलहरूले १५/१६ सीट जित्नसक्ने रिपोर्ट गृहमन्त्रीको छ । उनको अनुमानमा कांग्रेस एक्लै लड्दा ८० सिटसम्म जित्न सक्ने तर एमाले पनि सोही हाराहारीमा आउने अवस्था छ ।

स्थानीय तह निर्वाचनमा पनि कांग्रेसले जितेका ३२९ पालिका प्रमुखमध्ये १२८ जनाले गठबन्धनको बलमा जितेको पार्टीको आधिकारिक प्रतिवेदनमै उल्लेख छ ।

चुनावसम्म गठबन्धन गरेर जाने कांग्रेसको निर्णयले माओवादी र नेकपा एसलाई राहत त मिलेको छ नै । तर, आफ्नै बहुमत सुनिश्चित गर्ने गरी मात्र सर्त राखेर गरिएको निर्णयमा उनीहरू झस्किएका छन् । र, कांग्रेसको यही निर्णयपछि समाजवादी केन्द्रको बहस एकाएक तातेको छ ।

हुन त प्रचण्डले पटकपटक समाजवादी केन्द्रको निर्माणले गठबन्धनमा असर नपार्ने बताइरहेका छन् । पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकमा पनि उनले कांग्रेसको विकल्प सोच्न आवश्यक नरहेको बताएका छन् ।

कांग्रेससँगै गठबन्धनभित्र रहेर एमालेबाहेकका वामपन्थीहरूको समाजवादी मोर्चा बनाउन सकिनेबारे छलफल भइरहेको प्रचण्डले ब्रिफिङ गरेका थिए ।

गठबन्धनमा अबको चुनावको सीट बाँडफाँटको विषय पेचिलो छ । आफ्नो बहुमत सुनिश्चित गर्ने बताइसकेको कांग्रेसले कम्तीमा ९० सीट जित्नुपर्छ । १६५ मध्ये ९० सीटभन्दा तल झर्न नसकिने कांग्रेस नेताहरू बताइरहेका छन् ।

तर, प्रचण्ड भोलि आफू निर्णायक शक्ति हुनेगरी मात्र सीट बाँडफाँट हुनुपर्छ भन्नेमा सचेत छन् । कांग्रेसलाई प्रष्ट बहुमत ल्याउन नदिनेगरी दाबी गर्ने ध्याउन्नमा रहेका उनले जसपा, लोसपा, नेकपा एससँगै मिलेर सरकार बनाउने अवस्थामा आफू बाइपास हुनसक्ने जोखिम राम्ररी बुझेका छन् ।

माओवादीका एक नेताका अनुसार सीट बाँडफाँटका लागि कांग्रेसलाई ७० बाट सुरू गरेर ७५ लाई बटमलाइन बनाउने प्रचण्डको रणनीति छ । अझ समाजवादी केन्द्रमार्फत थप दबाबमा पारेर कांग्रेससँगको बार्गेनिङ पावर बढाउन देउवालाई झस्काउन खोजिरहेका छन् उनी ।

‘चुनावसम्ममा पार्टी एकता गरेर जाने अवस्थामा कांग्रेसकै भर परिरहनुपर्छ भन्ने छैन । हाम्रो बुइ चढेर कांग्रेस नै माथि जाने अवस्थामा त हामीले पनि कांग्रेससँगै मिल्नुपर्छ भन्ने छैन’, प्रचण्डनिकट एक नेता सुनाउँछन् ।

यता माधव नेपाल पनि कांग्रेस-माओवादी नेतृत्वलाई नेकपा एसको अपमान नगर्न र आफूहरू एमालेको विद्रोही शक्ति हो भन्ने नबिर्सन पटक-पटक भनिरहेको बेलाबेला बताइरहेका छन् ।

कांग्रेससँग सकेसम्म बढी सीट लिने र उसलाई चुनावपछि आफ्नो सहयोगविना सरकार बन्न नसक्ने अवस्थामा राख्नेबाहेक अरु कुनै उपाय दुवै नेतासँग छैन । त्यसैले तत्कालका लागि समाजवादी केन्द्र पानीको लौरोमात्र हो, जसले कांग्रेसलाई कुट्न त सक्दैन तर अलिकति भने दच्काउन सक्छ ।

एक पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस-माओवादी नेतृत्वलाई आफूले ‘टोकिरहेको’ र स्थानीय चुनावमा गरेजस्तो दम्भ र अहंकार देखिए आउने चुनावमा गठबन्धन सफल नहुने चेतावनी दिएका थिए । तर, अहिलेको अवस्थामा गठबन्धनबाट बाहिरिहाल्न जोखिम मोल्ने तयारीमा नेकपा एस छैन । यसलाई घुर्कीको रूपमा मात्र लिन सकिन्छ ।

केही दिनअघि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले संसदीय चुनावमा कम्तीमा ४० सीट पाउनुपर्ने बताएका थिए । उनले कांग्रेस धोखेबाज शक्ति रहेकाले आफूहरूका लागि कांग्रेससँगको गठबन्धन फलदायी नहुने भनेर बेलाबेला शंका व्यक्त गर्दै आएका छन् ।

‘कांग्रेसले हामीलाई भोटरमात्र बनायो । हाम्रो भोट लिने तर हामीलाई नदिने । गठबन्धनबाट हामीले फाइदा लिन सकेनौं । अब यसको गम्भीर समीक्षा हुनुपर्छ र एमालेले जितेका सिटमा हाम्रो दाबी रहन्छ ’, खनालले भनेका थिए ।

एमालेले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनबाट ९७ सिटमा उम्मेदवारी दिएर ८० सिट जितेको थियो । प्रत्यक्ष निर्वाचित ८० मध्ये हाल नेकपा एसमा १३ जना सांसद छन् ।

आवश्यकता कि बाध्यता ?

टुटफुटले कम्युनिष्ट आन्दोलन कमजोर हुने भन्दै बेलाबेला वामपन्थी शक्ति एकगढ हुनुपर्न आवाज नउठेका होइनन् । तर, एकताको रटान लाउन नथाक्ने नेताहरू सानो असमझदारीमै ‘धुजाधुजा’ भएका छन् ।

पछिल्लो समय नेपाली राजनीतिमा ‘अप्राकृतिक गठबन्धन’ ले जनमतको भने अवमूल्यन भएको छ । तालमेलका कारण एक दल अर्कोसँग मिल्दा वास्तविक जनमत देखिन्न ।

सामाजवादी केन्द्रको भ्रूण लाग्न नपाउँदै यो तुहिने सम्भावना पनि उत्तिकै छ । किनकी यसमा उपेन्द्र यादव सहभागी नहुनासाथ कुनै अर्थ छैन । एक्लै चुनाव लडेर जितिन्छ भन्ने आत्मवल प्रचण्ड र माधव नेपाल दुवैले गुमाइसकेका छन् ।

टुटफुटबाट कमजोर बन्दै गएका नेताहरू एकत्रित बनेर मोर्चाबन्दी गर्दै शक्ति बढाउन लागेको सहजै बुझ्न सकिन्छ । अझ तल्लो तहसम्म सांगठनिक रूपमा मजबुत कांग्रेस र एमालेपछि ‘थर्ड पोल’ बनाउने गरी छलफल र भेटघाटलाई बाक्लो पारिएको छ ।

प्रचण्ड-माधव समूहसँग कांग्रेसले नदिए एमालेतिर जान्छौं भन्ने ठाउँ पनि अब छैन । एमालेले वाम गठबन्धनको सम्भावना खारेज गरिसकेको अवस्थामा सत्ता गठबन्धनभित्रै समाजवादी केन्द्र बनाएर बढीभन्दा बढी सीट बार्गेनिङ गर्ने खेलोमेलोबाहेक यसले कुनै आकार लिने वा परिणाम दिने सम्भावना छैन ।

यस्तो अवस्थामा कांग्रेससँग सकेसम्म बढी सीट लिने र उसलाई चुनावपछि आफ्नो सहयोगविना सरकार बन्न नसक्ने अवस्थामा राख्नेबाहेक अरु कुनै उपाय दुवै नेतासँग छैन । त्यसैले तत्कालका लागि समाजवादी केन्द्र पानीको लौरोमात्र हो, जसले कांग्रेसलाई कुट्न त सक्दैन तर अलिकति भने दच्काउन सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर