तयार भयो बुटवलको ‘ड्रिम प्रोजेक्ट’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र – Nepal Press

तयार भयो बुटवलको ‘ड्रिम प्रोजेक्ट’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

रुपन्देही । बुटवलको ‘ड्रिम प्रोजेक्ट’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । एकैपटकमा एक हजार जना मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको हो । यसँसगै अब ठूलो सभासम्मेलन कहाँ र कसरी गर्ने भन्ने झमेला बुटवल क्षेत्रमा हराएको छ ।

संघीय सरकारको शहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र बुटवलमण्डपमा तयार पारिएको हो । केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ । सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ ।

लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतिक संरचना तयार पारिएको छ । विद्युतका लागि छुट्टै सब-स्टेशन राखिएको छ । ६३० केभीए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ ।

सभाहल अगाडि पोखरी निर्माण गरिएको छ । प्रवेश हुने र बाहिरिने गरी ५ वटा अलग-अलग गेटको व्यवस्था छ । विशिष्ट प्रवेशद्वार र सर्भिस गेट पनि बनाइएको छ । बाँकी ३ वटा गेटमध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटाबाट बाहिरिने व्यवस्था मिलाइएको छ । बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेशन र टिकट काउण्टरसमेत बनाइएको छ । नेपालको झन्डा आकारमा बनाइएको सभाहल प्रयोगको लागि तम्तयार भइसकेको हो । हलमा ८७२ वटा फिक्स कुर्सी जडान गरिएको छ ।

बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार सभाहल तत्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ । सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी छ ।

सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल तयार भएको छ । सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ । ‘भौतिक संरचना तयार भएको छ । सभाहलबाहेक अन्य हलहरुलाई सजावट गर्न बाँकी छ’, प्रमुख पन्थीले भने, ‘अब ठूला कार्यक्रम र सम्मेलन गर्न अन्यत्र धाउनुपर्दैन ।’

२०७१ साल पुसबाट ९.६ बिघामा केन्द्र निर्माण सुरु गरिएको थियो । सुरुमा रुख कटानका कारण निर्माण कार्य प्रभावित भएको थियो । दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयावधि तोकेर काम भएको थियो । पछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो । थप भएको म्यादअगावै २०७८ असारमै निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख पन्थीले बताए ।

भौतिक निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भइरहेको छ । सम्मेलन केन्द्रको भौतिक निर्माण तयार भए पनि कसरी सञ्चालन गर्ने भन्नेबारेमा शहरी विकास मन्त्रालय र बुटवल उपमहानगरबीच सामान्य छलफलमात्रै भएको छ ।

आयोजनाका अनुसार ३ करोड न्यूनत्तम मासिक खर्च सम्मेलन केन्द्रको आउँछ । त्यसैले केन्द्र दिगो रुपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक रहेको आयोजना प्रमुख पन्थी बताउँछन् ।

प्रदर्शनी केन्द्रको काम सुस्त

१६ बिघा क्षेत्रफलमध्ये ९.६ बिघामा सम्मेलन केन्द्र बनेको छ । सभाहलको पश्चिमपट्टि ६.५ बिघामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणाधीन छ । सम्मेलन केन्द्र तयार भए पनि अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सुस्त छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको भवन तयार हुने चरणमा छ । आयोजना प्रमुख पन्थीका अनुसार ६१ प्रतिशत भौतिक प्रगति भएको छ । केही सामान बाहिरबाट ल्याउनु परेकाले ढिलाइ भइरहेको उनले बताए ।

बुटवलमण्डपमा रुपन्देहीका संघसंस्थाहरुले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए । तर, यो प्रदर्शनी केन्द्र निर्माण भए यहाँका उद्योगी-व्यवसायीले जाडो, गर्मी, हिउँद, वर्षा जुनसुकै बेलामा मेला-महोत्सव गर्न सक्नेछन् ।

प्रदर्शनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ । म्याद सकिएकाले आयोजनाले पुनः म्याद थप्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर