नारीका सपना र सामाजिक यथार्थ – Nepal Press

नारीका सपना र सामाजिक यथार्थ

मध्यरात ! सुनसान शहर ! यो व्यस्त काठमाडौं ! यतिखेर चीर निन्द्रामा सुतिरहेको बेला म भने पटक्कै सुत्न सकिरहेकी छैन । मेरा खुला आँखाले देखेका ती सपनाहरुको तापले मलाई भित्रभित्रै उकुसमुकुस बनाइरहेको छ । बन्द कोठाभित्र छरपष्ट रहेका किताब र भित्तामा टाँसिएका केही थान प्रमाणपत्रहरुले मलाई प्रश्न गर्दै थिए । तँ किन टोलाउछेस् ? अनुत्तरित म फेरि चुपचाप निदाउने प्रयास गर्छु !

हो, साँच्चै आजभोलि म शारीरिक थकानभन्दा पनि मानसिक थकानले निकै गलेकी छु । ती खुला आँखाले देखेका हजारौं सपनाहरुले मलाई त्यो सुन्दर गन्तव्यमा पर्खिरहेका छन् भन्ने आशा बोकेर सपनाको रणभूमिमा विक्षिप्त भएर ढलेकी मलाई पूरा गर्न बाँकी ती नै सपनाहरुले झ्वास्स झस्काएर व्युँझाइदिन्छन् ।

खै हिजोआज म धेरै नै फुर्सदिली भएर पो हो कि ! थुप्रै यादहरु आइरन्छन् । विगत, वर्तमान र भविष्य यस्तै यस्तै …..!

मलाई जवाफ फर्काउन मन लाग्छ, राजनीति सेवा हो, न कि पैसा कमाउने थलो ! म त राष्ट्रको सेवा गर्न लागेकी हुँ । समाज परिवर्तन गर्न हिँडेकी हुँ न कि सम्पत्ति कमाउन निष्ठाको राजनीति अँगालेकी छु ।

ती विगतमा मैले गरेका कामहरुको समीक्षा गर्दै अबको वर्तमानलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमै मेरा दिनरात बितिरहेका छन् । छोटो समयको टेलिभिजन पत्रकारितालाई बिट मारेर सक्रिय विद्यार्थी राजनीतिमा फर्किएकी मलाई थुप्रैले मेरा अगाडि थुप्रै खालका प्रश्नहरु तेस्र्याउँछन् । आखिर राजनीतिमा लागेर के पाउँछौ र ? त्यति राम्रो जागिर छोडेर किन लागेको राजनीतिमा ? केटी मान्छेलाई त गाह्रो हुन्छ नि राजनीति गर्न ? अझ केहीले त राजनीतिमा लागेर धेरैको भविष्य बिग्रिएको उदाहरण दिँदै भन्छन् दिनदिनै पार्टीका कार्यक्रममा हिँडेर आखिर के पाइन्छ ? न तलब आउँछ न त भत्ता, फगत समयको बर्बाद भन्दै नाक खुम्च्याउँछन् ।

मलाई जवाफ फर्काउन मन लाग्छ, राजनीति सेवा हो, न कि पैसा कमाउने थलो ! म त राष्ट्रको सेवा गर्न लागेकी हुँ । समाज परिवर्तन गर्न हिँडेकी हुँ न कि सम्पत्ति कमाउन निष्ठाको राजनीति अँगालेकी छु । कुनै दिन यसको सम्मान हुनेछ म निष्ठापूर्वक देश र जनताको सेवा गर्नेछु ।

तर, म मौन बस्छु । जवाफ फर्काउन आवश्यक ठान्दिनँ । यस्ता धेरै प्रश्नहरु झेलेर होला, जवाफ दिनुभन्दा पनि म मौन बस्न रुचाउँछु । मनमनै भन्छु, वस समय आउँछ । समयले नै सबै प्रश्नको उत्तर दिन्छ । मान्छेको सोच, मान्छेको मान्छेप्रतिको धारणा र मान्छेको कामप्रतिको बुझाइलाई अलि फराकिलो तरीकाले बुझिदिऊन् भन्ने पनि लाग्छ । तर, मान्छेका संकुचित सोचलाई परिवर्तन गर्न मुस्किल रहेछ । जति नै आदर्शका गफ गरे पनि हाम्रो सामाजिक प्रवृत्ति यहाँभन्दा माथि उठ्न सकेको छैन ।

मान्छेका संकुचित सोचलाई परिवर्तन गर्न मुस्किल रहेछ । जति नै आदर्शका गफ गरे पनि हाम्रो सामाजिक प्रवृत्ति यहाँभन्दा माथि उठ्न सकेको छैन ।

हाम्रो समाजमा अझै पनि महिला र पुरुषबीच असमानताको ठूलो खाडल छ । महिलालाई हेर्ने र बुझ्ने दृष्टिकोण फेरिनसकेको छैन । महिलाहरु समाज र राष्ट्रका महत्वपूर्ण हिस्सा हुन् भन्ने कुरा हाम्रो समाजले बुझ्न सकेको छैन । महिलाहरुलाई घरको कामकाज र परिवारको रेखदेखमै सीमित बनाइन्छ । जति क्षमता पुरुषसँग छ, त्यति क्षमता महिलासँग पनि छ भन्ने कुरामा विश्वास राख्छु म । किनकि प्रकृतिले कसैलाई न्याय अन्याय गरेर धर्तीमा पठाएको छैन । शारीरिक भिन्नतालाई आधार मानेर हाम्रो समाजले महिलालाई कमजोर मानेको हो । महिला र पुरुषको विभाजन गरेको हो । कामको वर्गीकरण गरेको हो ।

महिलालाई मात्र एउटी गृहिणी र पारिवारिक जिम्मेवारी सम्हाल्ने मेशिनको रुपमा हेर्ने, अनि बाहिरी काम र आर्थिक कुरामा पुरुषको भरपर्ने प्रवृत्तिको विकास भएसँगै महिलाहरुलाई कमजोर शक्तिको रुपमा चित्रण गरिएको हो । जबसम्म महिलाहरु आर्थिक रुपमा सक्षम हुँदैनन् तबसम्म समाजमा कमजोर पात्र बनिरहन्छन्, हेपिइरहन्छन् । आजकल मेरो ब्रह्माले यही भन्छ ।

अब मलाई त्यो कमजोर पात्र बन्नु छैन । आत्मनिर्भर भएर आफ्नै स्वाभीमानमा बाँच्नु छ । शीर ठाडो बनाएर हिँड्नु छ । जीवनमा आउने सबैखाले चुनौतीलाई स्वीकार्दै, सामना गर्दै अगाडि बढ्नु छ । मेरो परिवारले दिएको यो स्वतन्त्रतालाई सही ठाउँमा प्रयोग गर्नु छ । मैले रोजेको क्षेत्रमा सफलता हासिल गर्नु छ । अनि मेरा रातभर जागेका यी खुला आँखाले देखेका ती हर सपनाहरु पूरा गर्नु छ ।


प्रतिक्रिया

2 thoughts on “नारीका सपना र सामाजिक यथार्थ

  1. article राम्रो छ धेरै अझै थप सफलताको शुभकामना कमरेड ✊

Leave a Reply

Your email address will not be published. Required fields are marked *