कञ्चनपुर ३ मा देउवा दम्पतीको नजर, शेरबहादुर जाने कि आरजु ? – Nepal Press

कञ्चनपुर ३ मा देउवा दम्पतीको नजर, शेरबहादुर जाने कि आरजु ?

काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनको मिति तय भइसकेको छैन । यद्यपि दलका नेताहरुको निर्वाचन तयारी भने सुरु भइसकेको छ । आफ्नो राजनीतिक जीवनमा कुनै पनि संसदीय निर्वाचन नहारेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यसपटक निर्वाचन क्षेत्रबारे छलफलमा छन् । निकटस्थहरुले देउवालाई निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाएका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०४८, २०५१, २०५६ र २०७४ तथा संविधानसभा निर्वाचन २०६४ र २०७० मा देउवा डडेल्धुराबाटै निर्वाचित भएका थिए । २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली ६ सहित डडेल्धुराबाट समेत देउवा निर्वाचित भएका थिए ।

यसपटक डडेल्धुराको राजनीतिक वातावरण र देउवाको मनस्थिति दुवै बदलिएको छ । देउवालाई निकटस्थसँगै ‘इन्टेलिजेन्स’ ले पनि डडेल्धुराबाट चुनाव नलड्न सुझाव दिएको बताइन्छ । गत स्थानीय निर्वाचनमा कांग्रेसले देउवाकै वडामा निर्वाचन हारेको थियो । जिल्लाभरको परिणाममा सत्तारुढ गठबन्धनको पकड देखिए पनि डडेल्धुराभन्दा बलियो क्षेत्र खोज्न देउवालाई निकटस्थहरुले सुझाएको बालुवाटार स्रोतको दाबी छ ।

‘यो एकदमै कन्फिडेन्सियल कुरा हो । समाचार नलेख्नुहोला । तर, प्रधानमन्त्रीलाई डडेल्धुराको अप्सन खोज्न सुझाव दिइएको छ । उहाँ नकरात्मक पनि हुनुहुन्न’, देउवा निकट विश्वस्त सूत्रले भन्यो ।

प्रारम्भमा डडेल्धुरा छाड्नेबारे सुन्नै नचाहेका प्रधानमन्त्री देउवाले क्रमशः उपयुक्त विकल्पबारे चासो राख्न थालेका छन् । ‘राजनीतिक सन्देश गलत नजाने गरी के उपाय होला भनेर प्रधानमन्त्रीले पनि चासो राख्नुभएको छ । सुदूरपश्चिमकै केही क्षेत्रबारे कुरा भएको छ’, देउवा निकट स्रोतको दाबी छ ।

प्रधानमन्त्रीले निर्वाचन क्षेत्र खोजे पनि निकटस्थहरु यसलाई सामान्य मान्दछन् । ‘शेरबहादुर दाइले चुनाव हार्ने कुनै सम्भावना छैन । सम्भवतः उहाँ डडेल्धुराबाटै लड्नुहुन्छ । कञ्चनपुरबाट लडे पनि अन्यथा मान्नुपर्दैन, देशको कुनै पनि क्षेत्रमा जित्ने उम्मेदवार उहाँ नै हो’, देउवा निकट एक केन्द्रीय सदस्यले भने ।

कञ्चनपुर ३ नै पहिलो रोजाइ

संसदीय निर्वाचनमा डडेल्धुरा छाड्ने विषयमा पूर्ण सहमत भइनसके पनि प्रधानमन्त्री देउवाले कञ्चनपुर ३ को सम्भावनाबारे पनि छलफल गरेका छन् । गत संसदीय निर्वाचनमा सुदूरपश्चिममा डडेल्धुरामात्रै कांग्रेसले प्रत्यक्षमा जितेको थियो ।

त्यसबाहेक सबैभन्दा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्र कञ्चनपुर ३ हो । जहाँ कांग्रेसका रमेश लेखक एमालेका दीपकप्रकाश भट्टसँग २५८ मतान्तरले पराजित भएका थिए । वाम गठबन्धनका भट्टले २६ हजार ३६४ मत ल्याउँदा कांग्रेसका लेखकले २६ हजार १०६ मत पाएका थिए ।

डडेल्धुरामा कांग्रेसका निवर्तमान सभापति कर्ण मल्ललगायतले विद्रोह गरेका कारण संसदीय निर्वाचनमा देउवालाई असर पर्ने धेरैको आँकलन छ । मल्लले देउवाविरुद्ध आफ्नो उम्मेदवारी पर्ने बताइसकेका छन् । नेपाली कांग्रेस बीपीका तर्फबाट मल्ल उम्मेदवार भए एमालेले समर्थन जनाउने सम्भावना उत्तिकै छ ।

यही कारण डडेल्धुराभन्दा सुरक्षित क्षेत्र कञ्चनपुर ३ लाई मानिएको छ । साविक कञ्चनपुर ४ को अधिकांश क्षेत्र समेटिएको सो क्षेत्रबाटै २०६४ को संविधानसभा निर्वाचनमा देउवा विजयी भएका थिए ।

देउवा कि आरजु ?

नेपाली कांग्रेस कञ्चनपुरकै केही नेताहरु भने सभापति देउवा कञ्चनपुर ३ बाट चुनाव लड्नेबारे औपचारिक छलफल नभएको बताउँछन् । प्रधानमन्त्री पत्नीसमेत रहेकी कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले पनि सोही क्षेत्रमा रुचि राखेको ‘हल्ला’ छ ।

‘प्रधानमन्त्रीजीको होइन भाउजूको चै हल्ला भइरहेको छ । तर, अहिलेसम्म कुनै छलफल भएको छैन’, कञ्चनपुर कांग्रेसका एक नेताले भने ।

कांग्रेस नेता रमेश लेखक पछिल्लो समय निरन्तर क्षेत्र केन्द्रित अभियानमा सक्रिय छन् । लेखक निकट नेताहरु पनि क्षेत्र छाड्नेबारे छलफल नभएको बताउँछन् । ‘रमेश दाइ क्षेत्रकै कार्यक्रममा व्यस्त हुनुहुन्छ । उहाँसँग सल्लाह नगरी हुने कुरा होइन । त्यसैले कञ्चनपुर ३ बारे चलाइएको हल्लामा सत्यता छैन’, लेखक निकट एक नेताले नेपालप्रेससँग भने ।

प्रधानमन्त्री निकट स्रोत भने कञ्चनपुर ३ बाटै देउवा र आरजुमध्ये एकजनाले निर्वाचन लड्ने दाबी गर्छ । ‘इन्टेलिजेन्सको रिपोर्ट र प्रधानमन्त्रीलाई प्राप्त सुझावका आधारमा डडेल्धुराभन्दा कञ्चनपुर ३ प्रधानमन्त्रीको रोजाइँमा पर्ने सम्भावना छ । अझै धेरै समय बाँकी छ, शेरबहादुर दाइ कि आरजु भाउजूमध्ये एक लड्ने कुरा छ’, देउवा निकट एक नेताले नेपालप्रेससँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर