‘बकवास’ एसईईको हर्कबढाइँ कहिलेसम्म ? – Nepal Press
टिप्पणी

‘बकवास’ एसईईको हर्कबढाइँ कहिलेसम्म ?

म इटहरी- ४ बाघमारेमा बस्छु । बाघमारेको नयाँ नाम आइतबारे हो । मलाई पुरानै नाम प्रिय लाग्छ । बाघमारेमै छ तेह्रथुमे खाजाघर । बाघमारे क्षेत्रको मेरो सबैभन्दा प्रिय अडिने खाजाघर त्यही हो । यो प्रिय खाजाघरमा कहिलेकाहीं अप्रिय कुरा नि सुनिन्छ । खाजाघरका हितैषी सञ्चालक जेबी बस्नेत आफ्ना स्कुले छोराछोरीले नपढ्दा बिच्किन्छन् । गाली गर्छन् । उनको गालीमा दोहोरिने डाइलग छ- यत्रो खर्च गरेर पढाको छ । केही जान्नु छैन ।

यहाँ बस्नेतले भनेको ‘खर्च’ आर्थिक हो । उनलाई मैले सोध्दा उनी भन्थे- एउटा बच्चाको पोशाक, खाजा, बस भाडा, भर्ना, मासिक, अन्य शुल्कले लाख हाराहारी पुग्छ । दुई छोराका बाबु बस्नेतलाई छोराहरुले नपढ्दा लाग्ने प्रमुख पिर आर्थिक हो । खर्च गरेको छ, नजिता छैन । प्रालिमा दर्ता भएका निजी स्कुल अर्थात् शैक्षिक दोकानमा ग्राहक बनाएर पठाएका छोराहरुको परिणाम राम्रो नहुँदा बिच्किने अभिभावक जेबी बस्नेतमात्रै हैनन् । महँगो शुल्क तिरेर निजी स्कुलमा भर्ना गरेका आम अभिभावकहरु हुन् ।

यो दुःख निजी स्कुलमा मात्रै छैन । सरकारी तलबभत्ता खाएर झण्डै बीस हजार एकमुष्ठ रकम लिने इटहरीकै नमुना सार्वजनिक विद्यालय अर्थात् सरकारी दोकानका अभिभावकमा समेत उस्तै छ । पढाइको नाममा खर्च हुन्छ, पढाइ राम्रो हुँदैन ।

आम अभिभावकले गर्ने पढाइका चिन्ता मूलतः दुई कुराको छ । एक, खर्चअनुसारको पढाइ नहुनु । दुई, सोचेअनुसारको परीक्षामा अंक नआउनु ।

आम अभिभावकले गर्ने पढाइका चिन्ता मूलतः दुई कुराको छ । एक, खर्चअनुसारको पढाइ नहुनु । दुई, सोचेअनुसारको परीक्षामा अंक नआउनु ।

पहिलो मुद्दामा कुरा गरौं । खर्चअनुसारको पढाइ किन भएन ? किनभने पढ्ने संस्कृति राम्रो छैन । पढाउने जनशक्ति राम्रो छैन । पढाइने खुराक राम्रो छैन । पढ्ने संस्कृति राम्रो भएको भए त सबैले खुरुरु पढ्ने थिए । पढाउने जनशक्ति राम्रो भएको भए ट्युसन आतंक हुँदैन थियो । दश वर्ष पढ्दा पनि अंग्रेजीमा फेल । तर, तीन महिनामा पढेकै आधारमा कोरियाली, जापानी र हिब्रु फरर हुने कुरामा पढाउने जनशक्तिकै समस्या देखिन्छ ।

पढाइने खुराक राम्रो भएको भए सामाजिक शिक्षाको परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु असामाजिक हुँदैन थिए । पढाउने खुराक नभएकैले दश वर्ष पढ्दा पनि कुनै जिन्दगी जिउने सीप नपाउने तर तीन महिला प्लम्बिङ सिक्दामात्रै जिन्दगीले सीप पाल्ने भएको हो । स्कुले तहको इञ्जिनियरिङलगायतका सीपमूलक कोर्षहरु अपवाद हुन् । त्यो सबै स्कुलमा छैनन् । सबैले पढ्न पाएका छैनन् ।

नेपाली विद्यालय शिक्षाले अंकको ह्याङओभर यस्तरी हाल्दिएको छ कि अंक सबैथोक हो । अंक नै जिन्दगी हो । जिन्दगीलाई अंकमा कैद गरेर कुख्यात चक्रव्यूह बनाइएको छ ।

दोस्रो मुद्दाको कुरा गरौं । सोचेअनुसारको अंक नआउनु । नेपाली विद्यालय शिक्षाले अंकको ह्याङओभर यस्तरी हाल्दिएको छ कि अंक सबैथोक हो । अंक नै जिन्दगी हो । जिन्दगीलाई अंकमा कैद गरेर कुख्यात चक्रव्यूह बनाइएको छ । जसको कारणले साविक एलएलसीताका अंक नपुगेर परीक्षामा फेल हुनेहरुले जिन्दगीमा फेल भएको सम्झे, आत्महत्या गरे । अंकमात्रै जिन्दगी हैन भन्नेमात्रै सिकाइएको भए कम्तिमा आत्महत्या गर्नेहरुले आफ्नो रुचिको क्षेत्रमा राम्रो गर्ने थिए । केही नगरे विदेश गएर रेमिट्यान्स पठाउने थिए ।

अंक थोरै आएकोमात्रै दुःख छैन । धेरै आएकोमा पनि दुःख छ । अंक धेरै आएको भन्दै धेरैले आफूलाई ‘लार्जर द्यान लाइफ’ सम्झेका छन् । र, जिन्दगी त्यही लयमा नहुँदा पछुतो मानेका छन् ।

एसईईलाई ग्रेडिङमा ल्याएर एसएलसी जस्तो आतंक त छैन । तर, ग्रेडिङको कथित हर्कबढाइँ उस्तै छ । दश वर्ष प्लसको समय र सम्पत्ति लगानीको सही प्रतिफल नदिने एसईई आफैं कमजोर गे्रडिङ भएको परीक्षा प्रणाली हो । दश कक्षाको स्कुले जीवन पार गरेर भोटिङ उमेरउन्मुख भएर कलेजतर्फ यात्रा गर्ने उमेरमा वैश्विक नागरिक हुने आत्मबल आम विद्यार्थीलाई दिन नसक्ने एसईई पाठ्यक्रम आफैं विश्वस्तरीय शिक्षा ग्रेडिङमा तल्लो श्रेणीमा आउने परीक्षा प्रणाली हो ।

एसईईले शिक्षा दियो, सीप दिएन । अंक दियो, आनन्द दिएन । कागज दियो, कन्फिडेन्स दिएन । अनि यस्तो वकवास एसईईको हर्कबढाइँ गर्ने कहिलेसम्म ? यो घोकन्ते कागजी खोलोमेलोमा भावुक भएर विश्वास गर्ने कहिलेसम्म ?

दश वर्ष पढेको छु, अब यत्तिमै विश्राम लिए पनि दुनियाँको जुन कुनामा गएर पनि स्कुलले सिकाएको सीपले जिन्दगी चलाउँछु भन्ने आत्मबल दिन नसक्ने एसईई आफैं ग्रेडिङमा फिलतो छ । अति, त्यही ग्रेडिङमा कमजोर एसईईको वकवास ग्रेडलाई लिएर किन हर्कबढाइँ गर्ने ?

हो, एसईई उच्च शिक्षाको ढोका देखाउने बाटो हो । तर, उच्च शिक्षाको ढोका पुग्दा कुनै वैश्विक सीप नजानी घोकन्ते विद्यामा उभिनु गम्भीर समस्या हो । हो, एसईई एक तहको स्कुले शिक्षा पार गरेको जनाउ दिने मानक हो । तर, त्यो मानक आजको युग सुहाउँदो र विश्वको मानचित्रमा नेपाली शैक्षिक उपस्थिति बलियो बनाउने मानक नहुनु गम्भीर समस्या हो । एसईईले शिक्षा दियो, सीप दिएन । अंक दियो, आनन्द दिएन । कागज दियो, कन्फिडेन्स दिएन । अनि यस्तो वकवास एसईईको हर्कबढाइँ गर्ने कहिलेसम्म ? यो घोकन्ते कागजी खोलोमेलोमा भावुक भएर विश्वास गर्ने कहिलेसम्म ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *