‘समाजवादी’ भ्रम र प्राथमिकता – Nepal Press

‘समाजवादी’ भ्रम र प्राथमिकता

के ‘संवैधानिक’ गतिविधि गर्नेहरू सबै समाजवादी हुन् ? संविधानतः त्यसै हुनुपर्ने हो । किनकि संविधानमै लेखिएको छ, नेपाल समाजवादउन्मुख छ । यसरी हेर्दा पूर्वराजादेखि राजतन्त्रको पत्रु र विसंगत ‘मेहनत’मा लागेका राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र र हिन्दूवाद ल्याउने उद्देश्यका कमल थापा सबै तथाकथित समाजवादी परे । विप्लव त घघडान समाजवादी भैहाले, उनीसँग ‘बहुमत’ लिएर छुट्टिएका धर्मेन्द्र बास्तोला झन् समाजवादी ।

आहुतिको पार्टीको नाम आफैंमा वैज्ञानिक समाजवादी भैहाल्यो । क्रान्तिकारी मोहन वैद्य समाजवादका भीष्म पितामह नै हुन् । एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जन्मैले समाजवादी । उपेन्द्र यादवसँग टिक्न नसकेका बाबुराम भट्टराईले पनि आफ्नो समूहको नाम नेपाल समाजवादी राख्ने रे, राख्ने नै भए । महन्त ठाकुर त अझ लोकतान्त्रिक समाजवादी । मसाल, नेमकिपालाई भन्नै परेन । अनि एमाले, कांग्रेस र माओवादी केन्द्र समाजवादउन्मुख यो संविधानका मूल ‘स्टेकहोल्डर’ नै भए ।

समाजवादी हुन यहाँ न कम्युनिष्ट आदर्श चाहिने भयो न त बीपी कोइरालाका न्यूनत्तम विचार मूल्य । राजावादी, प्रतिगामी, यथास्थितिवादी, अग्रगामी र उग्र अग्रगामी सबैसबै आज ‘समाजवादको एजेन्डा’मा छन् ।

विसंगति – १

समाजवादी हुन यहाँ न कम्युनिष्ट आदर्श चाहिने भयो न त बीपी कोइरालाका न्यूनत्तम विचार मूल्य । राजावादी, प्रतिगामी, यथास्थितिवादी, अग्रगामी र उग्र अग्रगामी सबैसबै आज ‘समाजवादको एजेन्डा’मा छन् । संविधान समाजवादउन्मुख किन भयो ? किन बनाइयो ? यसको उत्तर के हो भने देश त समाजवादमै जान्छ । तर, उन्मुख हुँदै जान्छ । समाजवादउन्मुख संविधानको घाँटी निमोठे राजावाद आउने लालसामा कैयौं मुट्ठीभर छन् । राजावाद भन्नु एक ‘विकासे’ प्रतिक्रियावाद हो । प्रतिक्रियावाद यस्तो चाहन्छ कि समाजवादउन्मुख संविधान भजाएरै प्रतिगमन गरौं । प्रतिक्रियावाद र यथास्थितिवादको गहिरो साइनो छ, तिनले सधैं एकअर्कालाई मलजल गर्छन् । त्यसैले समाजवाद तिनको मुखुन्डोमात्र हो ।

विसंगति – २

आजको अग्रमामी चेतना यथास्थितिवादको गोलचक्करमा पर्नु आम राजनीतिक निरासाको मूल स्रोत हो । कम्युनिष्ट धाराका प्रचण्ड, माधव वा वामदेव मोर्चाको आजको समाजवादी गन्तव्य के हुने ? कम्युनिष्ट आन्दोलनले निक्र्योल गरेको कुन विचार चरणमा देश छ ? आजको कम्युनिष्ट आन्दोलनको अधिकत्तम/न्यूनत्तम समाजवादी कार्यक्रम र लक्ष्य के हुन्छ ? आफैं उपस्थित भएको सरकारमा ती कति पूरा गर्न खोजिँदैछ ? वा पूरा गर्न सकिएको छैन भने के बाध्यताले सकिएको छैन ? यसको समीक्षा नभइकन भ्रमित एवं लटरपटर हैसियतको समाजवादी केन्द्र निर्माण गर्ने गोलचक्कर यथास्थितिकै पक्षपोषण हो । उग्र अग्रगामीसँग भने तत्काल डराउनु र भ्रमित भइराख्नु जरुरी छैन, तिनको यान्त्रिक खबरदारीले पनि समाज सुधारको वैचारिक बहसलाई मद्दत नै गरेको छ ।

विचार-दृष्टिकोण मिल्ने वामपन्थीबीच सहकार्य, तालमेल र एकता निरपेक्ष सही हो । तर, वामको नाममा प्रतिगामी ओली प्रवृत्तिको एमाले ठूलै शक्तिका रूपमा ठिङ्ग उभिएको छ । उसबारेको जनभ्रम मेटाएर देश रुपान्तरणको अभिभारा बोक्ने दायित्व अग्रमामी कम्युनिष्टहरूमा छ ।

राजनीतिक प्राथमिकता – १

ओली प्रतिगमनलाई जनआन्दोलनको बलमा अदालतले समेत खारेज गरिसकेपछि संवैधानिक लयानुसार देशको राजनीति अगाडि बढ्यो । बीचमा स्थानीय चुनाव भयो । संसदले आफ्नो ‘बिजिनेस’ गरिरहेकै छ । सरकार पक्ष र प्रतिपक्षका धर्म जारी छन् । जुन उद्देश्यले होस्, देशलाई सधैं राजनीतिक संकटको भूमरीमा पार्ने ओली अभिलाषा चकनाचुर भएर मुलुक नियमित संघीय/प्रादेशिक चुनाव सन्निकट छ । यसवेला गत स्थानीय चुनावका सीमा-समस्यालाई गम्भीर समीक्षा, आत्मबोध र सच्याउने हिम्मत गरेर कांग्रेससहित कसिलो चुनावी तालमेल गर्नु सरकार गठबन्धनभित्रका दलहरूको एउटै दायित्व हो । संविधानतः आजको समाजवादउन्मुख दायित्व यही हो ।

स्थानीय चुनावमा कांग्रेसले दिएको ‘धोका’लाई गम्भीर समीक्षा गर्दा कांग्रेस नेतृत्वको सरकारका गठबन्धन संस्कृति प्रतिकूलका हर्कत र त्यस पार्टीका कैयौं नेताहरूको परिवर्तन उल्ट्याउने अवाञ्छित क्रियाकलापबारे भने निर्मम हुनुपर्छ । नेतृत्व कांग्रेसको भए पनि कम्युनिष्ट आवरणका ओलीको प्रतिगामी हर्कतका कारणले निर्माण भएको यो वाम-लोकतान्त्रिक सरकार हो । र, यो न्यूनत्तम सहमतिको वैचारिक आलोकमा सञ्चालन हुनुपर्छ । एमसीसीमा कांग्रेसले गठबन्धनभित्रका पार्टीलाई जुन बाध्यता निर्माण गरिदियो, त्यसमा आफ्ना शर्त र संकल्पहरू एमसीसीसँगै नत्थी गरेर पारित गरे पनि सबैलाई यसले चित्त बुझाएको छैन । एसपीपीको तरङ्ग अझै बाँकी छ । भलै यस पक्षधरताको प्रमुख दल एमाले हो, तैपनि अगाडि त यही सरकारले बढाउनुपर्‍यो । कांग्रेस त्यसको मूल कारिणी हो ।

ओलीविना वाम सहकार्य नै हुन नसक्ने जुन आत्म-कमजोरी वामदेव गौतम र एकीकृत समाजवादीका समेत कतिपय नेताको छ, त्यस प्रवृत्तिलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्छ । एमालेले कम्युनिष्ट नाम राख्दैमा ओली प्रवृत्ति कम्युनिष्ट होइन । यथास्थितिमा त त्यो वामपन्थीसमेत होइन ।

देश आर्थिक दृष्टिले संकटोन्मुख हुँदा अर्थतन्त्र र अर्थ मन्त्रालयमा यति ठूलो विवाद आउनु अक्षम्य हो । महंगीमा न राहत न त सहुलियत- जनता आतंकको हालतमा छन् । काला व्यापारी मोटाएकै छन्, राष्ट्रिय व्यापारी क्रमशः पलायन हुँदैछन् । कृषि र राष्ट्रिय उद्योग अधोगतिमै छन् । जमिन जस्ता प्राकृतिक स्रोतको समान वितरणको त कुरै छाडौं, नियमित प्रक्रियाका सुकुम्बासी पुर्जा वितरणसमेत सुस्त छ । विपन्नले आधारभूत सामान ठगीमा नपरिकन किन्न सक्ने सहुलियतको साझा पसल सञ्चालन गर्ने बुद्धिसम्म सरकारवालामा छैन । त्यसैले राजनीतिक, कूटनीतिक, सामाजिक र आर्थिक अनुभूतिजन्य सुधार संकेतमा सरकार गठबन्धनको तत्काल ध्यान जानुपर्छ, त्यसभित्रका जनपक्षीय पार्टीहरूले सरकार नेतृत्वलाई दबाब दिनुपर्छ

राजनीतिक प्राथमिकता – २

विचार-दृष्टिकोण मिल्ने वामपन्थीबीच सहकार्य, तालमेल र एकता निरपेक्ष सही हो । तर, वामको नाममा प्रतिगामी ओली प्रवृत्तिको एमाले ठूलै शक्तिका रूपमा ठिङ्ग उभिएको छ । उसबारेको जनभ्रम मेटाएर देश रुपान्तरणको अभिभारा बोक्ने दायित्व अग्रमामी कम्युनिष्टहरूमा छ । परिवर्तनकामी आन्दोलनमा शून्य योगदान भएको ओली प्रवृत्ति आन्दोलनमार्फत प्राप्त ऐतिहासिक उपलब्धि नामेट पार्न उद्यत छ । संघीयता खारेजी र हिन्दू राज्यको जबरजस्त वकालत त्यहाँ हुँदैछ । आफ्नो शीर पर्छ भने राजालाई समेत स्वीकार्ने चिन्तन त्यहाँ छ । आगामी चुनावमा सर्मनाक हार हुने भयमा रहेको त्यो प्रवृत्ति बाहिर दम्भी कुरा गरे पनि कतिबेला वाम तालमेलको ढोका खुल्ला भन्ने घोर हुटहुटीमा छ ।

देशैभरि विलय, पलायन र पत्तासाफ भएको आफ्नो शक्तिलाई समाजवादी केन्द्रको टेकोमा अड्याएर शीर्ष नेता हुने महत्वाकांक्षा बाबुराममा बल्झिएको प्रतीत हुन्छ । तर, बाबुरामको त्यस महत्वाकांक्षालाई अग्रगामी वामपन्थीहरूले अस्वीकार गर्नुपर्छ ।

तर, सबै एमाले नेता-कार्यकर्ता ओली चिन्तनका होइनन् । त्यहाँका असलहरूलाई ओली प्रवृत्तिबाट मुक्त गरेरमात्र सार्थक वाम सहकार्य हुनसक्छ वा ओली र त्यो प्रवृत्ति स्वयंले आजसम्मका प्रतिगामी रबैया त्याग्ने र वाम संस्कृतिमा एकाकार हुने आत्मालोचित, आत्मसमर्पित भाव देखाएमात्रै वाम सहकार्य हुनसक्छ । त्यसैले ओलीविना वाम सहकार्य नै हुन नसक्ने जुन आत्म-कमजोरी वामदेव गौतम र एकीकृत समाजवादीका समेत कतिपय नेताको छ, त्यस प्रवृत्तिलाई निर्ममतापूर्वक अस्वीकार गर्नुपर्छ । एमालेले कम्युनिष्ट नाम राख्दैमा ओली प्रवृत्ति कम्युनिष्ट होइन । यथास्थितिमा त त्यो वामपन्थीसमेत होइन । ओलीको चरम अवसरवादी सत्ताकांक्षाको लागि एमालेसहितको वाम सहकार्यको सन्दर्भ खारेज गरेर नै अग्रगामी वामपन्थीहरूको सहकार्य मजबुत हुन्छ, देशलाई समाजवाद निकट बनाउने उद्देश्यका लागि ।

राजनीतिक प्राथमिकता – ३

बाबुराम भट्टराई उपेन्द्र यादवबाट बहिर्गमित भएपछि समाजवादी केन्द्र निर्माणको बहसले मुलुक तरङ्गित जस्तै भएको छ । बलियो वाम सहकार्य निर्माणका सन्दर्भमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भइरहेको छलफलमा बाबुराम पनि मिसिएका छन् । उनी मिसिएकैले मजबुत वाम सहकार्यको सट्टा ‘मजबुत’ समाजवादी केन्द्र निर्माणतिर घटनाक्रम अगाडि बढेका छन् । समाजवादी केन्द्रलाई पार्टीकै स्वरुपमा अगाडि बढाउने तयारी भएको तर, त्यसमा कम्युनिष्ट शब्द जोड्न बाबुरामले नमानेको र अन्ततः कम्युनिष्ट शब्द नराखेरै त्यो पार्टीका रूपमा अगाडि बढ्ने आश्चर्यजनक प्रचारबाजीसमेत हुँदैछन् ।

कम्युनिष्ट पार्टी नेताको हैसियतमा, त्यसैको शक्ति आडमा प्रधानमन्त्रीसम्म खाने अनि त्यसलाई धोका दिएर महत्वाकांक्षी असफल यात्रा र विसंगत विचार तय गर्ने, माक्र्सवाद नै त्याग्ने बाबुरामलाई समेट्ने नाममा कम्युनिष्ट शब्द नै बलिदान हुन्छ भने त्यो स्वीकार्य हुन सक्दैन ।

देशैभरि विलय, पलायन र पत्तासाफ भएको आफ्नो शक्तिलाई समाजवादी केन्द्रको टेकोमा अड्याएर शीर्ष नेता हुने महत्वाकांक्षा बाबुराममा बल्झिएको प्रतीत हुन्छ । तर, बाबुरामको त्यस महत्वाकांक्षालाई अग्रगामी वामपन्थीहरूले अस्वीकार गर्नुपर्छ । आफ्ना अस्थिर, आत्मकेन्द्रित र विसंगत विचारलाई त्यागेर बीचका साम्राज्यवाद र उत्तर आधुनिक चिन्तनका प्रति आत्मालोचना गरेरमात्र उनले कम्युनिष्ट वा वामपन्थी आन्दोलनमा समाहित हुने नैतिकता राख्दछन् । तर, कम्युनिष्ट विचारलाई आफ्ना भ्रमपूर्ण आवेगमा उत्सर्जित गर्ने बाबुरामको नयाँ स्वार्थ उद्देश्यमा वामपन्थी नेताहरू किन पर्दैछन् ?

खबरदारी

हो, अग्रगामी वामपन्थीहरूबीच मात्र होइन, सच्चा समाजवादीबीच पनि सहकार्य हुनुपर्छ र हुनसक्छ । समाजवादी केन्द्रको तागतले समाज सरोकारका यावत विषय र आगामी चुनावमा समेत सकारात्मक अर्थ राख्नेछ । समाजवादी केन्द्रमार्फत वा सिङ्गो केन्द्र र कांग्रेसबीच तालमेलसहित चुनावमा जाँदा त्यसले छुट्टै माहौल र शक्ति सञ्चय निर्माण गर्नेछ । त्यसका लागि बाबुराम पनि प्राथमिकता त हुन् । तर, उनीसँगै उपेन्द्र यादव अझ प्राथमिकता हुन् । कम्युनिष्ट पार्टी नेताको हैसियतमा, त्यसैको शक्ति आडमा प्रधानमन्त्रीसम्म खाने अनि त्यसलाई धोका दिएर महत्वाकांक्षी असफल यात्रा र विसंगत विचार तय गर्ने, मार्क्सवाद नै त्याग्ने बाबुरामलाई समेट्ने नाममा कम्युनिष्ट शब्द नै बलिदान हुन्छ भने त्यो स्वीकार्य हुन सक्दैन । त्यो यत्न कम्युनिष्ट शब्दको बलिदानमात्र होइन, मार्क्सवाद र कम्युनिष्ट आन्दोलनकै बलिदान हो । समाजवादी भनिने त यहाँ को पो छैन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.