अनलाइन मिटर ब्याजको जालो: चिनियाँ सफ्टवेयरबाट अवैध रुपमा यसरी विदेशिन्छ करोडौं रकम – Nepal Press

अनलाइन मिटर ब्याजको जालो: चिनियाँ सफ्टवेयरबाट अवैध रुपमा यसरी विदेशिन्छ करोडौं रकम

रुपन्देही । रुपन्देहीमा ४ दिनअघि कल सेन्टरबाट करोडौं रकम अवैध रुपमा ठगी भइरहेको भेटिएको थियो । प्रहरीलाई यसको जालो भेट्टाउन चुनौती थपिएको छ ।

यस्ता कल सेन्टरबाट नेपाललाई आधार बनाइ चिनियाँ सफट्वेयरमार्फत दैनिक करोडौं रकमको ट्रान्जेक्सन हुने गरेको खुलासा भएको छ । पछिल्लो समय अनलाइन कारोबारमार्फत अवैध धन्धा बढेको छ यसबाट पुष्टि हुन्छ ।

प्रहरीका अनुार काठमाडौंमा कडाइ भएपछि चीनबाट परिचालित ठगी गर्ने युनिट रुपन्देहीको तिलोत्तमा पुगेको थियो । करीब ६ महिनादेखि प्रेम गुरुङ (सुब्बा) को चार तले घर भाडामा लिएर चलाइएको अवैध ठगी धन्धालाई रुपन्देही प्रहरीले पर्दाफास गरेको थियो । यससँगै देशभर यस्ता धन्दा खोज्न प्रहरी सक्रिय भएको छ ।

मासिक ३ लाख १५ हजार रुपैयाँ घरभाडा तिरेर कल सेन्टर सञ्चालन गर्न स्थानीय राजनीतिक दलका नेताहरु नै साक्षी बसेको खुलेपछि छिमेकीहरु आश्चर्यमा परेका छन् । ‘यो घरमा काठमाडौंको ठूलो कार्यालयको शाखा खोल्ने भनी प्रचार गरिएको थियो । आखिर भित्री कारोबार यस्तो रहेछ’, स्थानीय श्याम घिमिरेले भने ।

२०७८ फागुन २२ गते ब्लूस्काई बिजनेश सोलुसन नाममा दर्ता गरिएको फर्मबाट उद्देश्यभन्दा फरक ढंगमा गतिविधि भएको भेटिएको इलाका प्रहरी कार्यालयका बुटवलका प्रमुख ठगबहादुर केसी बताउँछन् । ‘एक हिसाबले अनलाइन मिटर ब्याजको धन्धा भएको थियो, १६ देखि २२ वर्षसम्मका युवाहरुलाई प्रयोग गरेको भेटिएको छ’, उनले भने, ‘२५० वटा कम्प्युटर उपकरण रहेको तथा दिनमा डेढ सय जनाका हिसाबले दुई सिफ्टमा काम गर्ने गरी कार्यालय सञ्चालन भएकाले यसको सञ्जाल ठूलै छ ।’

चिनियाँ सफ्टवेयरमार्फत दैनिक एक करोडभन्दा बढी रकम चीन जाने गरेको प्रहरीको भनाइ छ । भारतीय नागरिकलाई लक्षित गरी विभिन्न किसिमका सफ्टवेयर प्रयोग गरी ऋण उपलब्ध गराउने र त्यसमा निश्चित रकम ट्याक्स र सेवा शुल्क जोडेर ऋण असुल्ने गरेको केसीको भनाइ छ ।

रुपन्देहीको कुनै नगरमा कल सेन्टर सञ्चालन भएको सूचना आएपछि प्रहरीले लक्ष्मीनगर, देवीनगर हुँदै चौथो दिनमा जानकीनगरमा सञ्चालित उक्त कार्यालय भेटाएको थियो ।

यो काममा मुख्य संलग्नता रहेका भारत विहार गायविद्घा पञ्चायत मचारीकमराका वर्ष २५ का जिसाद दबंग भन्ने निरञ्जनकुमार र दाङको घोराही- १४ बस्ने हिमाल बाठामगरलाई ठगी मुद्दा दर्ता गरिएको छ भने २१३ जना कर्मचारीलाई निगरानीमा राखेर अनुसन्धान गरिएको छ ।

पक्राउ परेका भारतीय नागरिक निरञ्जन कुमारले प्रहरीसमक्ष यसमा चिनियाँ बोसको निर्देशनमा काम हुने स्वीकार गरेको प्रहरीले जनाएको छ । आईटीमा दख्खल रहेका उनी धेरैपटक चीन गएर अनलाइन बिजनेशको तालिम गरेको खुलेको प्रहरीको दाबी छ ।

बाठामगर कार्यालयमा कर्मचारी व्यवस्थापनको काम हेर्ने जिम्मेवारीमा थिए । युवाहरु दुई सिफ्टमा काम गर्ने र भित्रै नास्ता, खाना सबैको व्यवस्था थियो । उनीहरु हेडफोन लगाएर निरन्तर आफ्नो काममा व्यस्त रहन्थे । तल्लो तह, मध्यम र सबैभन्दा माथि तेस्रो तला गरी ३ तहमा उनीहरु काम गर्ने गरेको प्रहरी बताउँछन् । उनीहरुलाई १२ देखि ३० हजार रुपैयाँसम्म तलब र कामको आधारमा थप रकम उपलब्ध हुने गरेको थियो ।

पहिलो तल्लामा बस्नेहरु ह्वाटसअपमा लोन एप्सको प्रचार गर्ने र प्राप्त गर्न नम्बर दिने गर्दथे । लोनका अप्सनहरु एकदेखि ३० हजार रुपैयाँसम्मको बारे प्रचार गर्दथे । लोनको एप्स डाउनलोड गरेका ग्राहकसँग दोस्रो तलाका युवाहरु आधार कार्ड, फोटोलगायत परिचयपत्रहरु माग्ने र फर्म भराउने गर्दथे ।

एकहजार रुपैयाँको लोन स्वीकृत भए त्यो एक हप्तासम्म तिर्नुपर्ने तर ६०० प्रयोग गर्न पाउने हुन्थ्यो । थप ४०० उनीहरु रिजर्भ राखिदिन्थे । एकपटक फसेको व्यक्तिले अर्को लोनको लागि थप प्रयास गरे भने फेरि ४० प्रतिशत रकम होल्ड राखिन्थ्यो ।

लोन लिने व्यक्तिका थप २ जनाको नम्बरसमेत फर्ममा भरिएको हुन्थ्यो । लोन लिएका व्यक्तिले ६ दिनभित्र नतिरे उसबाट पैसा असुल्न तेस्रो तलाका युवाहरु परिचालन गरिथ्यो । उनीहरुले गालीगलौज, म्यासेज र फोटो निकालेर अश्लील फोटो र भिडियो बनाउनेसम्मको काम गर्ने गरेको प्रहरीको दाबी छ ।

ऋण असुल्ने प्रक्रियामा सुरुमा राम्रोसँग सम्झाउने बुझाउने र नदिएमा दोस्रो पटकमा धम्क्याउने र गाली गर्ने, विभिन्न किसिमका म्यासेजहरु पठाउने परिवारलाई समेत म्यासेज पठाउने गरेको प्रहरी प्रमुख केसीले बताए ।

यति गर्दा पनि ऋण नउठे उनीहरुले अश्लील तस्वीरहरु, भिडियोहरु बनाएर अपलोड गरिदिन्छाैं भनेर धम्की दिनेसम्मको काम हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार सर्वसाधारणलाई चिठ्ठा, उपहार भनेर केही म्यासेज आउने गरेकोमा यो नयाँ ढंगबाट ऋण दिने ठगीधन्दा चलेको पाइयो ।

सामाजिक सञ्जालमा अहिले धेरै पीडितहरुले आफ्नो गुनासा पोखिरहेका छन् । प्रहरीले छापामा २१३ जना युवा र ९ जना सञ्चालकलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये दुई जनालाई हिरासतमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

रोजगारदाता कम्पनीमाथि आशंका बढ्दै

दैनिक करोडौंको अवैध कारोबार गर्ने गिरोह पक्राउ परेसँगै यहाँका जब लिङ्क (रोजगारदाता कम्पनी) हरुमाथि पनि प्रश्न उठेको छ । तिलोत्तमा– २ स्थित ब्लू स्काई कल सेन्टरमा छापा मारेसँगै रोजगारदाता कम्पनीहरुमाथि समेत प्रश्न उठेको हो ।

ब्लूस्काई कल सेन्टरमा काम गर्नेमध्ये एक थिए २१ वर्षीय दमनराज पाण्डे । कक्षा १० मा अध्ययन गर्दागर्दै पढाइ छाडेका उनी रोजगारी खोज्दै बुटवल आइपुगेका थिए । यसबीच उनले बुटवलकै लुम्बिनी जब लिङ्क नामक संस्थाले जागिरको अवसरबारे निकालेको सूचना देखे । उनी जब लिङ्क पुगे । त्यहाँ उनलाई ब्लू स्काई कल सेन्टरमा राम्रो अवसर रहेको जानकारी दिइयो ।

दमनराजले भने, ‘जब लिङ्कले लगाइदिएको जागिर यस्तो अवैध होला भन्ने मैले सोचेकै थिएन । एक्कासि प्रहरीले छापा मार्दा झसङ्ग भएँ ।’

मासिक १२ हजार तलबमा काम गर्दै आएका उनले काम लगाइदिने जब लिङ्कलाई समेत पहिलो महिनाको तलबमा केही प्रतिशत कमिसन दिएको बताए । उनीसँगै लुम्बिनी जब लिङ्कबाट अन्य ७ जना पनि काम गर्न सोही कल सेन्टर पुगेका थिए ।

यसैगरी पाल्पाको रामपुर नगरपालिकाका २ युवा पनि लुम्बिनी जब लिङ्कबाटै ब्लूस्काईमा काम गर्न पुगेको पाण्डेले बताए । काम गर्ने बेलामा जागिर लगाउने संस्थाले उक्त कल सेन्टर वैध अवैध केही जानकारी नदिएको उनीहरु बताउँछन् । आफूहरुले काम गर्दासमेत उक्त कल सेन्टर अवैध हो भन्ने थाहै नपाएको ती युवाहरुले बताए ।

जागिर खोज्ने क्रममा सामाजिक सञ्जालहरुमा जब लिङ्कहरुले राखेका सूचना पछ्याउँदै उनीहरु यसरी अवैध काममा फस्ने गरेको पाइएको प्रहरी बताउँछ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले अधिकांश कामदारहरुलाई उक्त गिरोहले विभिन्न जब लिङ्कबाट काममा लगाएको बताए ।

जागिरका नाममा भर्खरैका किशोरकिशोरीहरुलाई अवैध गतिविधि हुने कार्यालयमा पठाउनु र उनीहरुबाट लाभ लिनु जब लिंकहरुको स्वार्थ र गम्भीर लापरबाही भएको भन्दै यसको वैधानिकतामाथि नै प्रश्न उठेको उनी बताउँछन् ।

लुम्बिनी जब लिङ्कका सञ्चालक आरसी अधिकारीले ब्लूस्काईको धन्धाका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले पछिल्लो केही महिनादेखि भने आपसी विवादका कारण कामदार पठाउन छाडेको जानकारी दिए ।

आफू मात्र नभई यहाँका अन्य जब लिङ्कहरुले समेत कामदार पठाउने गरेको उनको भनाइ छ । उनका अनुसार रुपन्देहीमा एक दर्जन बढी जब लिङ्क सञ्चालनमा छन् । कतिपय जब लिङ्कहरु दर्ताविनै सञ्चालनमा छन् । रुपन्देहीमा जब लिङ्कका नाममा विभिन्न संस्था खुल्ने क्रम बढ्दो छ । बन्द हुने क्रम पनि उत्तिकै छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा अव्यवस्थित रुपमा सञ्चालित जब लिङ्क तथा जब सेन्टरहरुलाई आवश्यक परेको अवस्थामा नियमन तथा अनुगमन गर्ने बताए । रोजगारदाता संस्था दर्ता हुँदा श्रम तथा रोजगार मन्त्रालय तथा रोजगार कार्यालयअन्तर्गत दर्ता हुने हुँदा त्यसको नियमनका लागि उक्त निकायले नै बढी निगरानी राख्नुपर्ने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर