सशस्त्रमा डीआईजी होल्ड- नियम मिचेर एसएसपी बनेका राष्ट्रिय ज्वाइँले गर्लान् त ‘क्लिन बोल्ड ? – Nepal Press

सशस्त्रमा डीआईजी होल्ड- नियम मिचेर एसएसपी बनेका राष्ट्रिय ज्वाइँले गर्लान् त ‘क्लिन बोल्ड ?

काठमाडौं । सशस्त्र प्रहरीमा झन्डै तीन महिनादेखि नायब महानिरीक्षक (डीआईजी) का तीन दरबन्दी रिक्त छन् । दरबन्दी रिक्त रहेको लामो समय बित्दा पनि सरकारले बढुवा गरेको छैन । जसले गर्दा यो क्रम कम्तिमा असोजसम्म लम्बिने देखिएको छ ।

गत आर्थिक वर्षको कार्य सम्पादन मूल्यांकनपछि मात्र बढुवा हुने भएकाले डीआईजी दरबन्दी अझै कम्तिमा दुई महिना रिक्त हुने देखिएको हो । बढुवाका लागि दावेदार हुँदाहुँदै पनि गृह मन्त्रालयले रिक्त दरबन्दी पूर्ति गरेको छैन ।

आईजीपीमा राजु अर्याल तथा एआईजीद्वय नारायणदत्त पौडेल र सीपी गौतम बढुवा भएपछि रिक्त डीआईजी दरबन्दीमा कसैलाई पनि बढुवा गरिएको छैन ।

सशस्त्र प्रहरीमा यतिबेला डीआईजी दरबन्दी लामो समय रिक्त राख्नुको पछाडि प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ दीपेन्द्र कुँवरका लागि रोकिएको चर्चा सुन्ने गरिएको छ । कुँवर हालैमात्र एसएसपीका लागि बढुवा सिफारिस भएका हुन् ।

सशस्त्र प्रहरीमा डीआईजी वा सोभन्दा माथिको दर्जामा बढुवा हुन बहालवाला दर्जामा कम्तिमा यति वर्ष काम गरेको हुनुपर्ने भन्ने व्यवस्था छैन । त्यसैले एसएसपी बनेलगत्तै कुँवर डीआईजी बढुवा हुन उम्मेदवार बन्न सक्नेछन् ।

कुँवरकै लागि प्रधानमन्त्री देउवाले डेढ महिना अघि सशस्त्र प्रहरी नियमावली संशोधन गरेका थिए । एसपीबाट एसएसपीमा बढुवा हुन बहालवाला दर्जामा कम्तिमा ४ वर्ष काम गरेको हुनुपर्ने नियमावलीको व्यवस्था संशोधन गरेर तीन वर्षमा झारिएको थियो ।

यही कारण कुँवर बढुवाका लागि योग्य बनेका हुन् र तत्काल डीआईजी बन्ने बाटो पनि खुलेको हो । एसपीभन्दा आफ्नो भर्ना ब्याचको १० औं नम्बरमा रहेका कुँवर एसएसपीमा भने पहिलो नम्बरमा रहेर बढुवाका लागि सिफारिस भएका छन् ।

डीएसपीबाट भारी छलाङ, एसपीमा कामु बढुवा र देउवाको आड

२०५९ चैतमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका कुँवर आफ्नो टोलीका सामान्य अधिकृत मानिए पनि डीएसपीदेखि बढुवामा छलाङ मारेका हुन् ।

इन्सपेक्टरबाट डीएसपीमा ७४ जना बढुवा हुँदा ६० भन्दा तल रहेका कुँवर एसपी बढुवामा भने निकै अगाडि आएका थिए । उक्त टोलीबाट ३४ जनामात्र एसपी बढुवा हुँदा कुँवर आफ्नो भर्ना ब्याचबाट १० औं नम्बरमा रहेर बढुवा भएका थिए । ७/८ महिनाअघि कुँवरसहित ११ जनालाई कामु एसएसपीको जिम्मेवारी दिइएको थियो । कामु एसएसपीको जिम्मेवारी पाएसँगै उनी आफ्नो भर्ना ब्याचबाट पहिलो लटमै एसएसपी बन्ने पक्का भएको थियो ।

सशस्त्र प्रहरी बलमा दरबन्दी रिक्त रहेको तर बढुवा हुन समय नपुगेको अवस्थामा कामु बढुवा दिने व्यवस्था छ । यो व्यवस्थाले कार्य सम्पादन मूल्यांकनको धज्जी उडाइरहेको भन्दै स्वयं सशस्त्रकै अधिकृतहरु गुनासो गर्छन् ।

‘बढुवा हुन उक्त दर्जामा काम गरिरहन पर्दैन, अघिल्लो दर्जाबाट बढुवा हुँदा पाएको वरियताकै आडमा बढुवा हुने अवस्था छ । यसले गर्दा अघिल्लो बढुवामा वरियतामा पछाडि परेका अधिकृतहरुलाई राम्रो काम गरेर अगाडि आउने बाटो लगभग बन्द जस्तै छ’, सशस्त्र प्रहरीका एक अधिकृत भन्छन् ।

कामु बढुवा गर्दा वरियता नमिच्ने तर दरबन्दी पूर्ति गर्दा कामु बढुवा भएकालाई छुटाउने चलन छैन । त्यही कारण कुँवर पहिलो लटमै बढुवा हुने पक्का भएको थियो । बढुवा हुने पक्का भएपछि कुँवरले बढुवामा अगाडि आउन कसरत गरेका थिए । सत्ताको सर्वाेच्च पदमा आफ्नै नातेदार हुनुलाई कुँवरले अधिकतम दुरुपयोग गरेका हुन् ।

सशस्त्र प्रहरीमा साधारण समूहतर्फ २६ जना एसएसपीको दरबन्दी रहेकामा रिक्त १६ जनाका लागि कुँवरसहितका अधिकृत सिफारिस भएका हुन् । अहिले सिनियर १० जना एसएसपी छन् । तीमध्ये ९ जना गत असारमा मात्रै बढुवा भएका हुन् ।

बाँकी एक जनाले आगामी वर्ष अवकाश पाउँदैछन् । असारमा बढुवा भएकाहरु सबै करिब डेढ वर्ष कामु एसएसपी रहेका थिए । २०५९ कात्तिकमा इन्सपेक्टर बनेका उनीहरुमध्ये ७ जनाले मात्र स्टाफ कलेज पास गरेका छन् । डीआईजीमा बढुवा हुन अनिवार्य स्टाफ कलेज पास हुनुपर्छ । सोही टोलीलाई ओभरटेक गर्ने तयारीमा कुँवर देखिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर