एन्फाको हेडक्वार्टरमा अवैध नियुक्ति पाएका पाण्डे गौरवलाई रोक्न भगीरथ प्रयासमा – Nepal Press

एन्फाको हेडक्वार्टरमा अवैध नियुक्ति पाएका पाण्डे गौरवलाई रोक्न भगीरथ प्रयासमा

चरम अल्पमतमा परेका अध्यक्ष नेम्वाङ बैठकबाट भाग्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को गत असार ७ गते सम्पन्न चुनावबाट अध्यक्षमा पंकज नेम्वाङ निर्वाचित भए । कर्माछिरिङ शेर्पालाई ६ मतले (४५/३९) पराजित गर्दै नेम्वाङले एन्फाको बागडोर पाएका थिए । तर, चुनाव जितेको एक महिनाभित्रै उनी टिठलाग्दो अवस्थामा पुगेका छन् ।

नेम्वाङले आफ्नो शक्तिबाट चुनाव जितेका थिएनन् । उनको ब्याक सपोर्टमा एन्फाका भूतपूर्व अध्यक्ष गणेश थापा थिए । नेम्वाङलाई भोट दिने ४५ जनामध्ये २५ जना थापानिकट हुन् । तर, चुनावलगत्तै थापासँग फाटो उत्पन्न भएपछि नेम्वाङ कार्यसमितिभित्र चरम अल्पमतमा परेका छन् । १९ सदस्यीय कार्यसमितिमा उनलाई समर्थन गर्ने एकजनामात्रै छन् । थापाप्रति झुकाव राख्ने १० जना छन् भने ७ जना कर्माछिरिङको प्यानलबाट जितेका हुन् ।

एन्फाको विधानमा २१ जनाको कार्यसमिति रहने प्रावधान छ । तर, चुनावमा २० औं स्थानमा चार जनाको बराबरी मत आएपछि १९ जनामात्रै निर्वाचित भए । दुई सदस्य खाली छन् । कहिले पूर्ति हुन्छ भन्ने टुंगो छैन ।

आफू कुनै पदमा नरहे पनि एन्फाभित्र गणेश थापाको पकड फिर्ता भएको छ । कार्यसमितिको बहुमतबाट उनले चाहेको निर्णय गराउनसक्ने अवस्था देखिन्छ । यही समीकरणका कारण अध्यक्ष नेम्वाङ कार्यसमिति बैठकसमेत गर्न सकिरहेका छैनन् ।

यसरी आयो फाटो

थापा र पंकज तीन वर्षदेखि एकसाथ थिए । आफ्ना मुख्य विरोधी कर्माछिरिङलाई चुनाव हराएर पंकजलाई नेतृत्वमा ल्याउन थापाले निकै जोडबल लगाए । सफल पनि भए । तर, चुनावलगत्तै मनपरी निर्णय गर्न थालेको भन्दै थापा नेम्वाङसँग असन्तुष्ट बनेका हुन् ।

आफू निर्वाचित भएको भोलिपल्टै नेम्वाङले कार्यसमितिको आकस्मिक बैठक डाकेर केही महत्वपूर्ण नियुक्तिहरु गराएका थिए । उनले महासचिवमा किरण राई, कोषाध्यक्षमा रवीन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरे । उनीहरुमध्ये पाण्डेको नियुक्ति विवादास्पद थियो र थापाले यसमा आपत्ति जनाएका थिए ।

जर्मनीको नागरिकता भएका एनआरएन पाण्डेलाई एन्फामा नियुक्ति दिइएपछि थापाले सामाजिक सञ्जालबाट समेत असन्तुष्टि पोखे । यसले उनको नेम्वाङसँग दूरी बढ्यो । त्यसपछि नेम्वाङ गणेश थापाका छोरा गौरवलाई सीईओ नियुक्त गर्ने प्रतिबद्धताबाट समेत पछि हट्ने चेष्टा गरिरहेका छन् ।

को हुन् नवीन पाण्डे ?

पाण्डे नेपाली मूलका जर्मन नागरिक हुन् । उनी जर्मनीमै बसोबास गर्छन् । युवा अवस्थामा नेपालबाट जर्मनी पुगेका उनी त्यहीँको युवतीसँग बिहे गरेर सेटल भएका थिए ।

पाण्डेकी श्रीमती जर्मनीको सरकारी जागीरे हुन् । केही वर्षअघि उनले नेपालस्थित जर्मन दूतावासमा समेत काम गरेकी थिइन् । त्यसबेला पाण्डे पनि श्रीमतीसहित नेपाल आएर ५-६ वर्ष बसेका थिए । त्यही क्रममा उनी फुटबल क्लव हिमालयन शेर्पासँग जोडिएका थिए । फुटबलमा उनको अनुभव यतिमात्रै हो ।

हिमालयन शेर्पामा आवद्ध रहँदा पाण्डेले कर्माछिरिङसँग व्यक्तिगत सम्बन्ध राम्रो बनाएका थिए । त्यसैका आधारमा शेर्पा अध्यक्ष भएपछि सन् २०१८ मा पाण्डेलाई एन्फामा भित्र्याए । उनलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख बनाइयो । तर, तीव्र विवाद भएपछि करिब ६ महिनाभित्रै शेर्पाले उनलाई जागीरबाट हटाए । त्यसपछि शेर्पाविरुद्ध प्रतिशोध साँध्न पाण्डे नेम्वाङसँग नजिक भएका हुन् । चुनावमा उनले नेम्वाङलाई खुलेर सघाएका थिए ।

एन्फामा पाण्डेको नियुक्ति पूर्ण रुपमा अवैध हो । एन्फा विधानको धारा २४ को उपधारा ३ (क) मा गैरनेपाली नागरिकले एन्फा, प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा नियुक्त हुन नसक्ने स्पष्ट व्यवस्था छ । विदेशी नागरिकलाई एन्फाको इमेलको पासवर्ड दिनु पनि देश हितविपरीत हुने अरु पदाधिकारीहरु बताउँछन् ।

पाण्डे जर्मनीमै बसोबास गर्ने भएकाले पनि एन्फाको जिम्मेवारी सम्हाल्न सक्ने अवस्था छैन । नियुक्ति लिएपश्चात उनी जर्मनी पुगिसकेका छन् । नेपालमा पावर एक्सरसाइज गर्न र आफ्नो प्रोफाइल बनाउनमात्रै उनले एन्फाको नियुक्त खान मरिहत्ते गरेका हुन् ।

पाण्डे भर्सेस गौरव थापा

अहिले उत्पन्न टकरावको अर्को कारण हो, गणेश थापाका छोरा गौरव थापालाई एन्फामा लैजाने प्रयास । नेम्वाङले चुनाव अगाडि नै गौरवलाई एन्फाको सीईओ बन्न प्रस्ताव गरेका थिए ।

गणेश थापाका छोरा भनेरमात्रै प्रचारित गरिएको भए पनि गौरवको फुटबलमा आफ्नै पृष्ठभूमि र योगदान छ । उनले विगतमा एन्फामा मात्र होइन, एएफसी र फिफामा समेत आवद्ध भएर काम गरिसकेका छन् । गणेश थापाको एन्फाबाट बहिर्गमनपछि अध्यक्ष बनेका नरेन्द्र श्रेष्ठले गौरवलाई अन्तर्राष्ट्रिय विभागको प्रमुख बनाएका थिए । उनको कार्यसम्पादनको तत्कालीन पदाधिकारीहरु अहिले पनि प्रशंसा गर्छन् ।

त्यसअघि पाँच वर्षसम्म एसियन फुटबल काउन्सिल (एएफसी) मा काम गरेको अनुभव गौरवसँग छ । एएफसीको हेड अफ युथ फुटबलको भूमिकामा थिए उनी । गणेश थापा फिफाको कारबाहीमा परेपछि उनले पनि एएफसीबाट राजीनामा दिए । यद्यपि, एएफसीले उनको राजीनामा मागेको थिएन । पछि नेपाल भ्रमणमा आएका एएफसीका अध्यक्षले गौरवलाई ‘कुनै पनि बेला एएफसीमा स्वागत गर्न तयार रहेको’ बताए पनि उनी फर्किएनन् ।

दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकपमा गौरवले एउटा खेलस्थलको इन्चार्ज भएर जिम्मेवारी निभाएका थिए । यस्तै सन् २०१२ मा उनले लन्डन ओलम्पिकमा न्यूक्यासल भेन्यूको इन्चार्जका रुपमा काम गरेका थिए । एएफसी एसियन कप, एएफसी च्याम्पियनसीप लिगदेखि एसियामा आयोजित एएफसीका विभिन्न प्रतियोगिताहरु सञ्चालन गरेको अनुभव उनीसँग छ ।

उच्च कार्यदक्षता र अनुभवका कारण गौरवलाई एन्फामा ल्याउनुपर्नेमा कार्यसमितिभित्र लगभग सर्वसम्मतिजस्तै थियो । तर, अन्तर्राष्ट्रिय विभागका प्रमुख पाण्डे भने गौरवलाई जसरी पनि रोक्न लागिपरेका छन् । उनले नेम्वाङमाथि असीमित दबाब थोपरिरहेका छन् । गौरव आएमा आफू छायाँमा पर्ने चिन्ता उनलाई छ । त्यसैले आफूनिकट केही बिगहाउसका पत्रकारलाई प्रयोग गर्दै उनले गौरवविरुद्ध धाराबाहिक समाचार लेखाइरहेको स्रोतले बतायो ।

व्यक्तिगत पृष्ठभूमिलाई छायाँमा पारेर केवल ‘गणेश थापाको छोरा’ का रुपमा प्रचार गरिएपछि गौरवलाई एन्फामा ल्याउने प्रयास विवादित बनेको छ ।

यसबीचमा पाण्डेले एएफसीदेखि फिफासम्म पत्राचार गरेर गौरवको विषयमा सोधपुछ गर्न भ्याइसके । तर, बाबु गणेश थापा जोडिएको प्रकरणमा गौरवमाथि कुनै पनि आरोप लागेको वा कारबाही भोगेको प्रमाण उनले भेटाउन सकेका छैनन् । त्यसैले बुवा गणेश थापालाई फिफाले कारबाही गरेकै कारण गौरव थापालाई एन्फामा ल्याउन नमिल्ने एकोहोरो दलिल गरिरहेका छन् ।

तर, अहिले पनि एन्फाका अधिकांश सदस्यहरु गौरवलाई ल्याउनैपर्ने अडानमा रहेको स्रोत बताउँछ । गणेश थापानिकट १० जनामात्र होइन, कर्माछिरिङको प्यानलबाट चुनाव जितेका सदस्यहरु पनि गौरवलाई सीईओ वा उपमहासचिव बनाउनुपर्ने पक्षमा छन् । गौरव पनि यसमा सकारात्मक छन् । तर, मिडियाबाट उत्पन्न गरिएको विवादले उनी निराश बन्न थालेको स्रोतले बतायो ।

एन्फाका एक सदस्य भन्छन्, ‘अहिले एन्फाभित्र विदेशबाट आएको एउटा इमेलको गतिलोसँग जवाफ दिने पनि जनशक्ति छैन । त्यसैले एन्फाको कार्यक्षमता बढाउन उनीजस्तो अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्ति चाहिन्छ भनेका हौं ।’

बैठक छल्दै नेम्वाङ

पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुख बनाउने निर्णय विवादित बनेपछि यतिबेला एन्फा अध्यक्ष नेम्वाङ ठूलो सकसमा छन् । यही निर्णयका कारण कार्यसमितिमा उनको पकड पूर्ण रुपमा गुमिसकेको छ । यतिबेला एक उपाध्यक्ष दावा लामाबाहेक नेम्वाङको पक्षमा कोही पनि छैनन् ।

आफू अल्पमतमा परेपछि नेम्वाङ कार्यसमिति बैठकबाट भागिरहेका छन् । उनले गत सोमबार एन्फाको दोस्रो कार्यसमिति बैठक डाकेका थिए । उक्त बैठकमा गौरवलाई एन्फा सीईओ नियुक्त गर्नेसहित १८ वटा एजेन्डा तय गरिएका थिए । तर, त्यही दिन नेम्वाङ छाती दुःखेको भन्दै अस्पताल भर्ना भए र बैठक स्थगित गराए ।

त्यसपछि अर्को बैठक गत बिहीबार बस्ने भनियो । बैठक बस्यो पनि । तर, गणेश थापा पक्षधर कार्यसमिति सदस्यहरुले हाजिरीमा सही गर्न नमानेको बहाना बनाएर नेम्वाङले बैठक स्थगित गरिदिए । स्रोतका अनुसार उक्त बैठकमा केही सदस्यले उपस्थितिमा सही नगर्ने र निर्णयमा मात्रै सही गर्ने अडान लिएका थिए । उनीहरुले उपस्थितिमा सही नगर्दा पनि बैठक बस्न कोरम पुगेको अवस्था थियो । तर, नेम्वाङले बैठक गर्नै चाहेनन् ।

विहीबारको बैठक स्थगित भएपछि अर्को बैठक बोलाइएको छैन । एन्फाका १२ जना कार्यसमिति सदस्यले पाण्डेलाई बर्खास्त गर्न निवेदन दर्ता गराएको हुँदा नेम्वाङ संकटमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *