प्रचण्डको अस्थिर अवतार र ‘वाम एकता’ को आलाप – Nepal Press

प्रचण्डको अस्थिर अवतार र ‘वाम एकता’ को आलाप

प्रचण्ड भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमण सकाएर नेपाल फर्किसकेका छन । भारतबाट फर्कंदा एयरपोर्टबाटै आफ्नो भ्रमण सोचे जस्तै सफल रहेको दाबी गरे । अब उनले के सोचेका थिए र के भयो ? त्यो उनलाई नै थाहा हुने विषय भयो । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटबारे आफैंले हल्ला गरेका प्रचण्ड भारतीय प्रधानमन्त्रीसँग भेट असफल भएको चर्चाले स्थान पायो ।

राजनीतिक दलका नेताहरुको यस्ता भ्रमण एउटा सामान्य प्रक्रिया हो । तर, समय, सन्दर्भ र आन्तरिक-बाह्य राजनीतिक अवस्था जस्ता तत्वहरुले सामान्य भेटघाटलाई पनि अर्थपूर्ण बनाउँदो रहेछ । प्रचण्डले दिल्ली उड्नुभन्दा पहिला भारतबाट फर्केर चाँडै नै चीन जाने उद्घोष गरिहाले ।

पहिलो पटक प्रचण्ड प्रधानमन्त्री बनेको केही मिनेटमै तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बधाई सन्देश पठाएका थिए । साथै भारत आउने निम्तो पनि प्रचण्डले पाएका थिए । त्यसैवेला चीनको बेइजिङमा चालू ओलम्पिकको समापन समारोहको मुहूर्त हेरेर प्रचण्डलाई चीन आउन निम्ता पठाइयो । यो २०६५ को घटना हो । प्रचण्ड भारत र चीनमध्ये चीन गए, ओलम्पिक समापन समारोहमा । त्यहाँ चीनका तत्कालीन राष्ट्रपति हु जिन्ताओसँग प्रचण्डको गम्भीर छलफल भएको थियो । चारदिने चीन भ्रमण सकेर नेपाल फर्कंदा प्रचण्डले विमानस्थलबाट आफ्नो पहिलो राजनीतिक भ्रमण भारतकै हुने भनी घोषणा नै गरे । बोलीले भूराजनीतिक सन्तुलन खोज्ने प्रचण्डको पुरानो व्यवहार नै रहेको छ ।

चीन जाँदा भारत र भारत जाँदा चीनबारे मुख खोलेर प्रचण्डले सन्तुलन कायम गर्न खोज्ने उहाँको तरिकाले नै प्रचण्डको व्यक्तित्वमा अस्थिरताको शिरोमणि भनी पगरी गुँथ्याउन खुला छुट दिन्छ ।

वर्तमान चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमणमा रहँदा नेपालका शीर्ष नेताहरुसँग सघन भेटघाट गरेका रहेछन् । ज्ञातव्य छ, लिउ नेपाल आएको समयको भूराजनीतिक महत्व छ । अमेरिकाको मिलिनियम च्यालेन्ज करपोरेशन (एमसीसी) सदनबाट पास भएको पृष्ठभूमि र अमेरिकाको सैन्य रणनीति, स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)ले नेपाली राजनीतिमा ल्याएको खैलाबैला र २०७४ मा चीनको अदृश्य तर अथाह नियतका साथ बनाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वा भनौं विशाल कम्युनिष्ट गठबन्धन भत्किसकेको अवस्थामा अहिले नेपालमा त्यसको पुनः सम्भावनाका आयाम जाँच्ने ध्येयले लिउको भ्रमणलाई लिइएको छ ।

बहुमतको बिगबिगी रहेको बेलाका प्रचण्ड र अहिलेका प्रचण्डमा आकाश-पातालको भिन्नता छ, आन्तरिक जनसमर्थनका दृष्टिकोणले । चीन जाँदा भारत र भारत जाँदा चीनबारे मुख खोलेर प्रचण्डले सन्तुलन कायम गर्न खोज्ने उहाँको तरिकाले नै प्रचण्डको व्यक्तित्वमा अस्थिरताको शिरोमणि भनी पगरी गुँथ्याउन खुला छुट दिन्छ । प्रचण्ड नेकपा माओवादी केन्द्रका सदाबहार अध्यक्ष हुन् । पार्टीको आकारबमोजिम नै घरेलु राजनीतिमा कुनै पनि नेताको अध्यक्षको हैसियत मापन गरिन्छ ।

संविधान घोषणापश्चात २०७४ मा भएको आम निर्वाचनपूर्व देशमा कम्युनिष्टहरुको एकीकरण हुँदा प्रचण्डले घट्दै गरेको पार्टीको हैसियतलाई सम्मानजनक स्थानमा ‘लोकेट’ गर्न एमालेमै विलय गराएका थिए । एमालेका नेताहरु जसरी प्रचण्डको स्वार्थ भनेको एमाले कब्जा गर्नु थियो भनी आरोपित गर्दैरहे त्यो आधारहीन थियो भन्न कठिन छ ।

चीन र भारत दुबैलाई आराम प्रदान गर्ने ‘अचुक मन्त्र’ केबल प्रचण्डसँग मात्र हुनसक्छ !

झण्डै दुई वर्ष पहिला केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गर्दा जसरी तत्कालीन नेकपा तितरबितर हुनपुग्यो र नेपाली कांग्रेसबाट प्रधानमन्त्री बन्ने सुनिश्चितता नहुने बखतसम्म प्रचण्डको राजनीतिक छटपटी देख्नलायक थियो । सार्वजनिक रुपमै मुख खोल्दै माओवादी, जसपाले भारतलाई कम्फरटेबल सरकार दिनसक्ने मन्तव्य दिन भ्याएका थिए । उक्त समीकरण चीनको लागि पनि त्यतिकै कम्फरटेबल हुने भनी एउटा अमुक राष्ट्रिय च्यानलमा बोल्न भ्याए । चीन र भारत दुबैलाई आराम प्रदान गर्ने ‘अचुक मन्त्र’ केबल प्रचण्डसँग मात्र हुनसक्छ !

तर, समयक्रमले तत्कालीन राजनीतिक तरलतालाई एमसीसीसँग साइनो र कम्युनिष्टको बलियो एकताको पहरेदारी चीनले गरिरहेको देख्दा कम्युनिष्ट एकीकरण तुहाउने मुद्दा भूराजनीतिक साझा मुद्दा बनिसकेको थियो, नेपाल बाहिरका लोकतान्त्रिक शक्तिहरुका लागि । बेलाबेलामा कम्युनिष्ट एकताको धुर्की देखाउने प्रचण्ड आफ्नै पार्टीमा आएको बिखराब समेट्न बाध्य भएर नेपाली कांगे्रससँग तालमेलमा ‘आपतकालीन ल्याण्डिङ’ गरेका थिए ।

गत वैशाखमा सम्पन्न गठबन्धनको आडमा र चितवन महानगरमा माओवादीले मेयर जितेन भन्ने देश राजनीतिक दुर्घटनामा पर्ने अभिव्यक्तिका साथ प्रचण्डको नेकपा माओवादीले आफ्नो आँकलनभन्दा राम्रै नतिजा हात पार्‍यो । चितवनमा रेणु दाहाल मेयरमा दोस्रोपटक निर्वाचित भइन् । देश दुर्घटनाबाट पनि जोगियो होला ! अहिले जसरी शेरबहादुर देउवा र प्रचण्डले गठबन्धनको राजनीतिमा देशको भविष्य तलासिरहेका छन्, यसले केही समय माओवादी केन्द्र नयाँ निर्वाचनपछि नयाँ सत्ता बजारको पुरानै पूरक शक्तिमा विद्यमान हुने सम्भावना अधिक छ । यसकारण पनि होला प्रचण्डको नाडी छाम्ने काम धेरैले गर्नेछ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) समन्वय विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणले पनि देशको आन्तरिक राजनीतिले लिने दिशामा केही पदचाप छोडेको हुनुपर्छ । नेपाली कांगे्रसदेखि नेपाल मजदुर किसान पार्टीका नेतासम्म भेटेका लिउले बालकोटमा गरेको ‘चार घन्टे’ मिटिङले बढी चर्चा पायो । सम्भवतः लिउले वर्तमान राजनीतिको ‘भविष्यमुखी कन्टेन्ट’ बालकोटमै भेट्टाए ।

पाँचदलीय गठबन्धन यथास्थितिमा रहिरहने अवस्थामा केपी शर्मा ओली र तिनका समूहले प्रचण्डलाई सके जति ‘प्रोभोक’ गरी नै रहनेछन् । प्रश्न आउँछ, प्रचण्डको अस्थिर स्वभावले भोलि कहाँ ‘लोकेट’ गराउने हो, निश्चित भन्न सकिन्न ।

कुनै पनि देशको आन्तरिक राजनीतिमा उसको हैसियतबमोजिमको भूराजनीतिक चाप पर्नु नौलो कुरा होइन । आर्थिक रुपमा कमजोर नेपाल जस्ता देशमा यस्ता प्रभाव देखिनुलाई सामान्य ढंगले लिँदा राम्रो । यस्ता देशमा कुन नेताले कति रिस्क लिएर के-कस्ता कृत्य गर्न सक्छन् भनी प्रदर्शनहरु गरिरहनुपर्ने हुन्छ ।

नेपाली जनताले अपार बहुमत दिएको थियो नेपाल कम्युनिष्ट पार्टीलाई । एकपटक होइन, दुई पटक संसद विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले देश दुनियाँलाई चकित पारे । कुनै अमुक देशको खुफिया विभागका प्रमुखलाई मध्यरातमा प्रधानमन्त्री निवासमै रेडकार्पेट ओछ्याएर स्वागत गरिनु चानचुने आँटले पुग्नसक्दैन । पशुपतिमा संकल्प पूजासहित करोडौंको जलहरी दान गरेर ओलीले आफ्नो अब्बलता प्रस्तुति गरिसकेका छन् ।

एकाथरि कम्युनिष्ट नेताहरु अहिले फेरि ‘वाम एकता’ को राग अलाप्न थालेका छन् । सुधारिएका संसदीय कम्युनिष्टहरुमाझ वाम एकताको चर्चाले ठाउँ पाउनुमा कुनै सैद्धान्तिक ओज छैन । कम्युनिष्ट माइन्डेड मतदाताको मनोविज्ञानको सदुपयोग गर्न दिने टेक्निकल टोनमात्र हो । केही महिनापश्चात हुने भनिएको आम निर्वाचन आउँदै गर्दा र पाँचदलीय गठबन्धन यथास्थितिमा रहिरहने अवस्थामा केपी शर्मा ओली र तिनका समूहले प्रचण्डलाई सके जति ‘प्रोभोक’ गरी नै रहनेछन् । प्रश्न आउँछ, प्रचण्डको अस्थिर स्वभावले भोलि कहाँ ‘लोकेट’ गराउने हो, निश्चित भन्न सकिन्न ।


प्रतिक्रिया

One thought on “प्रचण्डको अस्थिर अवतार र ‘वाम एकता’ को आलाप

  1. वाम एकताको नाममा वाहुनको नेतृत्व स्थापित गर्नेको लागी एकता बुझ्नुपर्छ….किनकी दलित, पिछडा र गरिबको नाममा राजनीतिको व्यापार चलाउने वाम दल अहिलेसम्म बाहुनभन्दा अन्यलाई प्रधानमन्त्री बनाएको छैन….उदाहरणको लागी ….मनमोहन अधिकारी,पुष्प कमल दहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली…..यसलाई भनिन्छ खसीको टाउको राखेर कुकुरको मासु बेच्ने व्यापार…..नाम वाम नारा सर्वहारा बाहुनलाई सशक्तिकरण गरौ यही हो उदेश्य हमारा भएन र ….?

Leave a Reply

Your email address will not be published. Required fields are marked *