आइबी राई दार्जिलिङ नै बस्न हुने, म इलाम बस्न किन नहुने ? – Nepal Press

आइबी राई दार्जिलिङ नै बस्न हुने, म इलाम बस्न किन नहुने ?

अब बोले मात्रै पुग्ने अवस्थामा म पुगेको छु । हरेक लेखकले एउटा फेज पार गरिसकेपछि उसले सोचेका कुराहरु प्रकाशन गर्नैपर्छ भन्ने जरुरत हुँदैन रहेछ । स्वतस्फूर्त रुपमा हरेक मान्छेले सोचेको हुन्छ । आफूले सोचेको कुरा प्रकाशन गर्नैपर्छ भन्ने हुँदैन । पहिला पहिला मैले सोचेको कुरा प्रकाशन हुनैपर्छ । अरुले थाहा पाउनैपर्छ भन्ने लाग्थ्यो । अहिले चाहिँ मैले सोचेको कुरा आफैंभित्र राख्छु, गम्छु अनि मुसुमुसु मुस्कुराउँछु । हेर्छु, पढ्छु र आनन्द मान्छु ।

हाम्रो आन्दोलन बीचको बाटोमा हिँड्नुपर्छ । मुन्धुममा पनि दाहिनेतिर गयो, फूलैफूलको बाटो छ, देब्रेतिर गयो काँडैकाँडाको बाटो छ । बीचको बाटोमा हिँड्यौ भने लक्षमा पुग्छौ भनेको छ । त्यो भएर हामी फूलैफूलको बाटो पनि हिँड्नु भएन, काँडैकाँडाको बाटो पनि हिँड्नु भएन । हाम्रो जीवन भनेकै त्यही हो, फूल र काँडाको बीचमा हिँड्नुपर्छ । हाम्रो आन्दोलन पनि त्यसरी नै अगाडि बढेको हो ।
०००

कवि हाङयुग अज्ञात १५ वर्षसम्म हङकङमा रहे । हङकङको व्यस्त जीवनशैलीबाट जुगड भएको समय कवितामा अक्षरहरु उनिरहे । कविताहरु पाठकसम्म पुर्‍याइरहे । नेपालमै हुँदा बखत् राजन मुकारुङ र उपेन्द्र सुब्बासित मिलेर अगाडि बढाएको साहित्यिक आन्दोलन ‘सृजनशील अराजकता’लाई स्थापित गराउन लागिपरे ।

युवावयमा तीन सर्जकले सुरु गरेको सृजनशील अराजकता आन्दोलन स्थापित मात्रै भएन, तीनैजना सर्जक स्थापित भए । अहिलेको आफूहरुको उपस्थितिलाई आन्दोलन अविचलित भएर हाँक्दाको परिणति ठान्छन् हाङयुग ।

लेखनीमार्फत् सहअस्तित्व र पहिचानको वकालत गरेर नथाकेका हाङयुगको अहिलेको स्थायी ठेगाना हो, इलाम । अनि इलाममै किन, काठमाडौंमा बसे हुँदैन?हाङयुगको सर्टकट जवाफ छ, ‘हामीले नै संघीयताको पक्षमा, विकेन्द्रिकरणको पक्षमा वकालत गर्‍यौं । अनि अब काठमाडौं बसेर भयो त ? सिद्धान्तलाई व्यवहारिक रुपमा लागु पनि त गर्नुपर्‍यो ।’

इलाममा कृषि कर्ममा लागेका छन् । बाख्रा, सुँगुर, कुखुरा पालेका छन् । र उतैबाट नयाँ कविताको खेस्रा कोरिरहेका छन् । काठमाडौंबाट हेर्दा थातथलोमा पुगेपछि हाङयुगले एकदमै पातलो लेखिरहेका छन् । छापा तथा अनलाइनहरुमा पनि एकदमै पातालो गरी आएका छन् । पछिल्लो समय त आएकै छैनन् भन्दा पनि फरक पर्दैन । किन त ?

हाङयुगको प्रतिप्रश्न छ, ‘अनि काठमाडौंले हामीलाई थेग्न सक्छ त ? अब काठमाडौंले हामीलाई बोलाउने होइन, इलामले सिंगो काठमाडौंलाई यहाँ बोलाउँछ ।’

भन्दा जे भने पनि हाङयुगको लेखन त पातलो भएकै हो ! तर, आफ्नो मौनतालाई पातलो नभनेर ‘शान्त’ चाहिँ भएको बताउँछन् । जस्तोः समुद्र पुग्नुअघिको शान्त नदी । लेखनमा ३ दशक प्लस गुजारिसकेका उनको भनाइ छ, ‘सधैं खहरेजस्तो उर्लिएर हुँदैन । गड्याङगुडुङ गरेर हुँदैन । लेखनको यात्रा नदीको यात्रा जस्तै हो । एक चरणमा पुगेपछि लेखन पनि नदीजस्तै शान्त हुन्छ ।’

इलामको आफ्नो घरमा भेटिएका हाङयुगले अहिले आएर मौनता र शान्तपनको कार्ड फ्याँके पनि उनी तिनै लेखक हुन्, जो एक समय काठमाडौंको साहित्यिक कार्यक्रमहरुमा चर्को हल्लाखल्ला गरेर आफ्नो उपस्थितिको औचित्य खोज्ने गर्दथे । चर्को हल्लाबीच तीखा प्रश्नहरु गरेर आफ्नो उपस्थितिको दाबी गर्दथे । फूल, नदी, हिमालका विम्ब चलाउने कविहरुलाई आदिवासी सौन्दर्य जबरजस्ती पढाएर हिँड्ने गर्दथे ।

अहिले आएर उनै हाङयुग समुद्र पुग्नुअघिको नदीको मौनताको कुरा गर्छन् । अलि तालमेल मिलेन हगी ?

हाङयुगको स्वीकारोक्ती छ, ‘सुरुवाती कालमा त्यसो गरेको हो । जो पनि लेखकले त्यसरी नै सुरु गर्छ । र देशव्यापी रुपमा आन्दोलित हुनसक्छ । आफ्नै जीवनसँग आन्दोलित हुनसक्छ । तर, लेख्दै जाँदा गम्भीरता बुझ्दै, जीवन देख्दै, भोग्दै जान्छ । अनि अन्तिममा एक अवस्थामा आइपुगेपछि ऊ शान्त हुनैपर्छ ।’

तर पातलो लेखनीको कारण के हो त ?प्रश्न त हाङयुगमाथि कति तेर्सिएलान् !

‘अब बोले मात्रै पुग्ने अवस्थामा म पुगेको छु । हरेक लेखकले एउटा फेज पार गरिसकेपछि उसले सोचेका कुराहरु प्रकाशन गर्नैपर्छ भन्ने जरुरत हुँदैन रहेछ । स्वतस्फूर्त रुपमा हरेक मान्छेले सोचेको हुन्छ । आफूले सोचेको कुरा प्रकाशन गर्नैपर्छ भन्ने हुँदैन,’ हाङयुग सुनाउँछन्, ‘पहिला पहिला मैले सोचेको कुरा प्रकाशन हुनैपर्छ । अरुले थाहा पाउनैपर्छ भनने लाग्थ्यो । अहिले चाहिँ मैले सोचेको कुरा आफैंभित्र राख्छु, गम्छु अनि मुसुमुसु मुस्कुराउँछु । हेर्छु, पढ्छु र आनन्द मान्छु ।’

भन्नुको तात्पर्य अब लेखन पुगिसक्यो हाङयुगलाई ?पुग्यो भन्दा पनि लेखन लेखन मात्रै भनेर लेखनदास हुने रहर नरहेको बताउँछन् उनी ।

अनि अहिले सृजनशील अराजकता अभियान र यसका अभियान्ताहरु अलि सुस्त हुँदै गएका त होइनन् ?

‘होइन, म हाम्रै मुद्दा अनुसार प्रदेश एकमा बसिरहेको छु । हाम्रै मुद्दालाई अगाडि बढाउन इलाममा बसेको हो । हामीले सिद्धान्त मात्रै ओकलेनौं, व्यवहारमा पनि यो संघीयताका लागि सडकमा लड्यौं । विकेन्द्रिकरण भन्यौं । अब हामी नै काठमाडौंमा बस्नुपर्ने जरुरत छैन ।’

पहिचानको आन्दोलन अहिले कमजोर भएर गएको विश्लेषण हुने गरेका छन् । अहिलेको समयमा आइपुग्दा पहिचानको आन्दोलनलाई कसरी हेर्ने ? कसरी लिने ? कसरी आत्मासात् गरेर अगाडि बढ्ने ?

हामीले सुरुवातमा खोजेको सहअस्तित्व थियो । पछि नश्लीय चेत जोडियो । त्यससँगै पहिचान जोडियो । यो राजनीतिक रुपमा आएको शब्द हो । पहिचानको राजनीति पश्चिमा मुलुकमा चलिसकेको थियो । नेपालको सन्दर्भमा सृजनशील अराजकताले लिनुपर्ने बाटो पहिचानकै थियो । तर, हामीले लिने बाटो हाम्रैजस्तो हुनुपर्छ भन्नेमा अडिग थियौं । त्यहाँ अतिवाद, उग्रवाद, नश्लवाद हुनु हुँदैन भन्नेमा सचेत थियौं ।

पहिचानको मुद्दा तर डाक्टर गोपाल गुरुङले धेरै अघि उठाइसक्नुभएको थियो । हामीले साहित्यिक रुपमा उठाउँदा गुरुङकै जस्तो विचार हुनु हुँदैन भनेर लगातार छलफल पनि गरेका थियौं । हामीले पहिचानको लेखनमा हाम्रै कुरा लेख्ने हो । हामीले हाम्रो कुरा लेख्दा अरुलाई किन लखेट्ने ?

मैले बारम्बार भनिरहेको छु कि गणेश भगवानको फोटो वनारसमा छापिएर आउँछ । त्यो पनि धोती लगाएको फोटो । हामीले त्यही वेला भनेका थियौं, हामी पनि गणेश भगवानलाई मान्छौं । तर, दौरासुरुवाल लगाइदेऊ न । बख्खु लगाइदेऊ न । बख्खु लगाएको महादेव बनाइदेऊ न । यहाँ इलाममा हुँदाहुँदा महादेवको मूर्तिमा जनै लगाइदिएको छ । यो भनेको अतिक्रमण हो । कुनै पनि शास्त्रमा महादेवले जनै लगाएको उल्लेख छैन । ऊ त आदिवासी देउता थियो ।

अनि हामीले अर्को बाटो तय गरेका थियौं । त्यो हो हाम्रो् आन्दोलन बीचको बाटोमा हिँड्नुपर्छ । मुन्धुममा पनि दाहिनेतिर गयो, फूलैफूलको बाटो छ, देब्रेतिर गयो काँडैकाँडाको बाटो छ । बीचको बाटोमा हिँड्यौ भने लक्षमा पुग्छौ भनेको छ । त्यो भएर हामी फूलैफूलको बाटो पनि हिँड्नु भएन, काँडैकाँडाको बाटो पनि हिँड्नु भएन । हाम्रो जीवन भनेकै त्यही हो, फूल र काँडाको बीचमा हिँड्नुपर्छ । हाम्रो आन्दोलन पनि त्यसरी नै अगाडि बढेको हो ।

अहिले पनि पहिचानको आन्दोलन कमजोर भएको छैन । यसले स्वरुपहरु फेर्दै गएको छ । उन्मुक्त पुस्ता, रंगवाद, सृजनशील उत्तरवर्तीहरु छन् । सरस्वती प्रतिक्षाले ‘नथिया’ लेखिन्, उनले पनि वादी समुदायको पहिचानलाई स्थापित गर्न खोजेकी हुन् । पछिल्लो समय वसन्त वस्नेतले ‘महाभारा’ ल्यायो, त्यो किताब पनि पहिचानवादी धारमै लेखिएको हो । पहिचानको आन्दोलन कमजोर भएको छैन, झनै जरा गाडेर भित्रभित्र गएको छ ।

पहिचानको आन्दोलन अलि सम्प्रादायिक चाहिँ भएको हो र ?

भएजस्तो लाग्दैन, यदि थोरबहुत सम्प्रादायिक हुँदै गएको छ भने सच्चिनुपर्छ हामी । हामीले खोजेको त मान्छेको पहिचान हो । चितवनमा गैँडा मर्दा देशभरि कोकोहोलो मच्चिन्छ । यहाँ सिंगो एउटा जातिको अस्तित्व संकटमा पर्दा कसैलाई मतलव हुँदैन । हामी कुकुरको रेस्क्यु गर्छौं, तर एउटा मान्छे सडकमा बहुलाएर किन हिँडिरहेको छ, उसलाई सोच्दैनौं । त्यसमाथिको आक्रोश उठ्नसक्छ, आक्रोशलाई नै सम्प्रादायिक भन्नु हुँदैन । तर, हामीले आन्दोलनमाथि समीक्षा गर्नुपर्ने वेला चाहिँ भएको अवश्य हो ।

अब आन्दोलनलाई कसरी कसरी अगाडि बढाउन सकिएला ?

सृजनशील अराजकता आजभन्दा ३० वर्षअघि सुरु भएको हो । हामीले जे भन्यौं, त्यही नै मुख्य कुरा हो । हामीले त्यसवेला फुकेको आगो अहिले पनि बलिरहेको छ । आगो त फुकिदियौं, त्यहाँ दाउरा हालिरहनुपर्छ भन्ने छैन । नयाँ पुस्ता आउँछन्, दाउरा हाल्दै जान्छन् । अनि आलु पोलेर खाने कि के खाने उनीहरुले नै त्यस अनुसार गर्ने हुन् ।

हामीले फेरि सडकमा उफ्रिएर गर्नुपर्ने केही छैन । उपेन्दै जी आफ्नै ढंगले लेखिरहनुभएको छ । राजन जीले आफ्नै पाराले लेखिरहनुभएको छ । म आफ्नै ढंगले सोचिरहेको छु ।

अबका दिनमा तपाईं इलाम नै पक्का जस्तै रहेछ है ?

यहाँबाट दुई पाइला उता दार्जिलिङ छ । तेस्रो आयामको आन्दोलन इन्द्रबहादुर राई, बैरागी काइँला र इश्वरबल्लभले दार्जिलिङबाटै सुरु गरे । काइँला र बल्लभ काठमाडौं गए । आइबी राई दार्जिलिङ नै बसे । उनलाई नेपाल बोलाउँदा पनि आएनन् । अनि आइबी राई त्यसरी बस्न हुने, म नहुने भन्ने हुँदैन ।

०००

प्रतिक्रिया

One thought on “आइबी राई दार्जिलिङ नै बस्न हुने, म इलाम बस्न किन नहुने ?

Leave a Reply

Your email address will not be published.