पाल्पाका चापागाई अमेरिकाको डेमोक्रेटिक केन्द्रीय समितिमा निर्वाचित – Nepal Press

पाल्पाका चापागाई अमेरिकाको डेमोक्रेटिक केन्द्रीय समितिमा निर्वाचित

रुपन्देही । पाल्पाबाट लामो समय पत्रकारिता गरेर हाल अमेरिका बसोबास गर्ने पत्रकार सतिस चापागाई बाल्टिमोर काउन्टीको स्थानीय डेमोक्रेटिक केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।

जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउन्टीको ७ ए बाट स्थानीय केन्द्रीय समिति निर्वाचित भएका हुन् । हाल चापागाई नेप्लिज डायस्पोराका सम्पादक हुन् ।

पदमा चापागाईसँगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन् ।

मेरिल्याण्ड डेमोक्रेटिक पार्टीका स्थानीय केन्द्रीय समितिका सदस्यहरू प्राइमरी निर्वाचनमा गभर्नरेटरी चुनाव वर्षहरूमा निर्वाचित हुन्छन् ।

सन् २०१८ मा निर्वाचितहरुको कार्यकाल सन् २०२२ मा पूरा हुने भएकाले यसपटक नयाँ सदस्यहरु निर्वाचित भएका हुन् ।

मतदाताले चुनाव गरेपछि कतिपय स्थानीय केन्द्रीय समितिका सदस्यले काम गर्न पाएका हुँदैनन् ।

यो अवस्थामा राज्यको केन्द्रीय समितिले राजिनामा दिएका, सरुवा वा मृत्यु भएकाहरूको ठाउँमा नयाँ सदस्यहरू नियुक्त गर्दछ । काउन्टीका स्थानीय केन्द्रीय समितिभन्दा माथि राज्यका केन्द्रीय समितिहरु हुन्छन् । हरेक राज्यमा राज्यस्तरका केन्द्रीय समितिहरु हुन्छन् ।

हरेक राज्यका राज्यस्तरका केन्द्रीय समितिका अध्यक्ष र उपाध्यक्षहरु डेमोक्रेटिक नेशनल कमिटिका सदस्यहरु हुन्छन् ।

डेमोक्रेटिक नेशनल कमिटिका सदस्यहरुले डेमोक्रेटिक नेशनल कमिटिका अध्यक्षको चयन गर्ने प्रावधान रहेको छ । डेमोक्रेटिक नेशनल कमिटी डेमोक्रेटिक पार्टीको कार्यकारी निकाय हो ।

निर्वाचनमा खटिएका स्वयंसेवकहरुलाई चापागाईले सामाजिक सञ्जालमार्फत धन्यवाद ज्ञापन गरेका छन् ।

चापागाईको विजयले नेपालबाट अमेरिका बस्नेहरुले आफ्नो प्रतिनिधित्व भएको भन्दै बधाई दिइरहेका छन् ।

रुपन्देहीबाट अमेरिका बसेका पत्रकार दिपक परियारले सतिस चापागाईको विजयले आफ्नो प्रतिनिधित्वको अपनत्व भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *