लिग- २ क्रिकेटमा नेपालः दुरुह बन्दै विश्वकपको सपना, एक दिवसीय मान्यता पनि धरापमा – Nepal Press

लिग- २ क्रिकेटमा नेपालः दुरुह बन्दै विश्वकपको सपना, एक दिवसीय मान्यता पनि धरापमा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ मा नेपालको यात्रा मध्यविन्दूबाट पार भइसकेको छ । अहिलेसम्मका खेलमा स्थिर प्रदर्शन गर्न नसकेको नेपाली टीमका आगामी दिनहरु चुनौतीपूर्ण छन् ।

लिग- २ अन्तर्गत आफ्नो भागमा परेका ३६ खेलमध्ये नेपालले २० खेल खेलेकामा ८ वटामात्रै जित निकालेको छ । ११ खेलमा हार र एक बराबरीसहित १७ अंक जोडेको नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । हालै स्कटल्यान्डमा सम्पन्न लिग- २ अन्तर्गत चार खेलमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपालको यात्रा थप चुनौतीपूर्ण बनेको हो ।

स्कटल्यान्डको त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा कम्तिमा तीन खेल जितेर तालिकाको तेस्रो स्थानमा उक्लिने लक्ष्य नेपालले लिएको थियो । तर ठ्याक्कै विपरीत नतिजा आयो । नेपालले तीन खेलमा हार बेहोर्‍याे र एउटामात्रै जित निकाल्न सक्यो । यो प्रदर्शनसँगै नेपाली क्रिकेट टीमले विश्वकप खेल्ने सम्भावना कठिन बनेको छ भने एकदिवसीय मान्यता पनि दाउमा लागेको छ ।

शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना लगभग सकिएको छ । एकदिवसीय राष्ट्रको मान्यता जोगाउन नेपाल शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । स्कटल्यान्ड भ्रमणबाट स्वदेश फर्किएपछि कप्तान सन्दीप लामिछाने र मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कुनै पनि हालतमा एकदिवसीय मान्यता गुम्न नदिने बताए । तर, यो निकै चुनौतीपूर्ण छ । स्कटल्यान्डबाट फर्केलगत्तै प्रमुख प्रशिक्षकबाट दासानायकेले हात झिकिसकेका छन् ।

स्कटल्यान्डमा नेपालको अपेक्षित नतिजा नआउनुको प्रमुख कारण हो, कमजोर ब्याटिङ । घरेलु मैदानमा उत्कृष्ट देखिने गरेको नेपाली टीमको ब्याटिङ विदेशी भूमिमा भने लड्खडाउने गर्छ । एकदिवसीय खेलमा पनि २०० रनको टार्गेट चेज गर्न नेपाललाई आच्छुआच्छु पर्ने गरेको छ । खेलाडीहरु ५० ओभरसम्म क्रिजमा टिक्नसमेत सक्दैनन् । पूरा ओभर नखेली अलआउट हुने समस्याबाट नेपाल पीडित छ ।

स्कटल्यान्डमा खेलिएका चार खेलमा नेपालका आसिफ शेखबाहेक कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । सबैभन्दा आशा गरिएका दीपेन्द्रसिंह ऐरीले निराश बनाए । अर्का स्टार रोहित पौडेलको प्रदर्शन पनि सोचेजस्तो भएन । फलतः नेपालले आफूभन्दा कमजोर मानेको नामिबियासँग दुवै म्याचमा हार व्यहोर्‍यो । स्कटल्यान्डविरुद्ध एउटा खेलमा उत्कृष्ट प्रदर्शनले नेपालको लाज ढाकेको थियो ।

लिग- २ अन्तर्गत नेपालले १६ खेल खेल्न बाँकी छ । ओडीआई मान्यता जोगाउन नेपालले अब १० भन्दा बढी खेल जित्नुपर्नेछ । अब बाँकी खेलमध्ये ८ खेल होमग्राउन्डमा र बाँकी ८ खेल विदेशी भूमिमा खेल्नेछ । विदेशमा खेल्ने आठ खेलमा ४ खेल पपुवा न्यूगिनी र चार खेल नामिबियामा हुनेछन् । यी दुवै राष्ट्र नेपालभन्दा कमजोर मानिन्छन् । तर, विदेशी भूमिमा केही भन्न सकिन्न । त्यसैले आफ्नो होमग्राउन्डमा हुने ८ खेलमा नेपालले अधिकतम जित निकाल्नुपर्ने हुन्छ ।

लिग- २ अन्तर्गत नेपालले घरेलु मैदानमा अहिलेसम्म चार खेलमात्रै खेलेको छ । जसमा दुई खेलमा जित निकालेको छ । सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म त्रिवि क्रिकेट मैदानमा भएको ओमान र अमेरिका सम्मिलित त्रिदेशीय श्रृङ्खलामा नेपालले दुई खेलमा अमेरिकालाई समान आठ विकेटले हराएको थियो । ओमानविरुद्ध भने १८ र ३५ रनले पराजित भएको थियो ।

त्यसपछि ओमानमा सेप्टेम्बर १३ देखि १९ सम्म अमेरिका सम्मिलित श्रृङ्खला खेलेको थियो । चार खेलको श्रृङ्खलामा नेपाल दुई खेल जित्न सफल भयो । एक खेलमा अमेरिकाविरुद्ध ५ विकेट र ओमानसँग ७ विकेटले नेपाल विजयी भएको थियो । बाँकी खेलमा अमेरिकासँग ६ विकेट र ओमानसँग ५ विकेटले हारेको थियो ।

ओमानपछि नेपाली टिम लिग- २ कै सिलसिलामा यूएई पुग्यो । यूएईमा घरेलु टीम र पपुवा न्यूगिनी (पीएनजी) सँगको श्रृङ्खला खेलेको नेपाल यूएईमा पनि दुई जितमात्रै निकाल्न सफल रह्यो । यूएईसँग दुवै खेलमा हारेको नेपालले पीएनजीसँगका दुई खेल भने जितेको थियो ।

पीएनजीलाई पहिलो खेलमा २ विकेटले हराएको नेपाल त्यसपछि यूएईसँग क्रमशः ४८ रन र ९९ रनले पराजित भएको थियो । अन्तिम खेलमा पीएनजीलाई ७ विकेटमा हराउँदै श्रृङ्खलाको सुखद अन्त्य गरेको थियो ।

लिग- २ को तयारीस्वरुप नेपालले घरेलु मैदानमा गत मार्चमा पीएनजीसँग दुई खेलको एकदिवसीय श्रृङ्खला खेल्यो तर दुवै खेल पाहुना टोलीलाई सुम्पिएको थियाे । पहिलो खेलमा ६ रन र दोस्रो खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो ।

अघिल्लो महिना जुन ९ देखि १५ सम्म अमेरिकामा ओमान सम्मिलित त्रिदेशीय श्रृङ्खलामा पनि नेपाल एक जितमा सीमित भयो । यसबीचमा नेपालले जिम्बावे ए सँग समान तीन खेलको टी- २० र एकदिवसीयको अभ्यास खेल खेलेको थियो । यस्तै अमेरिकाको अलस्टार्स क्लब र क्यानाडामा पनि स्थानीय क्लबसँग अभ्यास खेल खेल्यो । जताततै नेपालले ब्याटिङमा संघर्ष गरिरहनुपर्‍याे ।

यो सबै नतिजा हेर्दा समग्रमा नेपालको कमजोरी ब्याटिङमै देखिएको छ । तर, समर्थकहरुले चाहिँ प्रशिक्षक पुबुदु र कप्तान सन्दीप लामिछानेमाथि दोष थोपर्ने गरेका छन् । कप्तान परिवर्तनका कारण टीममा एकता नभएको र प्रदर्शन खस्किएको टिप्पणी सामाजिक सञ्जालमा हुने गरेको छ ।

टीमका खेलाडीहरु भने ब्याटिङकै कमजोरीका कारण हारेको स्वीकार्छन् । स्कटल्यान्ड भ्रमणपछि बोल्दै नेपालका ओपनर आसिफ शेख र मध्यक्रमका ब्याटर आरिफ शेखले नेपालको मुख्य समस्या ब्याटिङमै रहेको बताए ।

‘हामीले ब्याटिङ टेक्निकमा काम गर्नुपर्छ । जब हामी क्रमशः एक/दुई खेलमा २५० भन्दा माथिका स्कोरहरु चेज गर्न थाल्छौं भने त्यसको बानी पर्न थाल्छ । हामी त्यसैमा चुकिरहेका छौं’, आसिफले भने ।

यस्तै, आरिफले नेपाली टीम बलिङ र फिल्डिङमा उत्कृष्ट भए पनि ब्याटिङमा सधैं चुकेको र टीमले आफ्नो ताकत नै बिर्सिएको बताए ।

‘हामी बलिङ र फिल्डिङमा सधैं उत्कृष्ट छौं । मुख्य समस्या हाम्रो ब्याटिङमा छ । हामीले हाम्रो जित्ने ताकतलाई ब्याक गर्न सकेका छैनौं । सबैलाई आफ्नो टीममा आफ्नो भूमिका के हो भनेर स्पष्ट पनि नभए जस्तो लाग्छ । हामीले ब्याटिङमै धेरै अभ्यास गर्नुपर्छ’, आरिफले भने ।

स्कटल्यान्ड भ्रमणमा नेपालले पहिलो खेलमा नामिबियासँग ४० रनको पराजय व्यहोरेको थियो । दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा नामिबियासँग ६३ रन र चौथो खेलमा स्कटल्यान्डसँग आठ विकेटले हारेको थियो ।

स्कटल्यान्ड भ्रमणपछि कप्तान सन्दीप पनि खुसी देखिएका छैनन् । उनले पछि गएर पछुताउनुभन्दा सबैले एक टीमको रुपमा यसअघि गरेका गल्तीलाई सुधारेर अघि बढ्नुपर्ने र समग्र क्रिकेटलाई बचाउन बाँकी खेलमा राम्रो नतिजा ल्याउनुपर्ने प्रतिक्रिया दिए ।

‘टीमको रुपमा हामी जे सोचेर स्कटल्यान्ड गएका थियौं, त्यो गर्न सकेनौं । हामी असफल भयौं । हाम्रो ब्याटिङ भनेको माइन्ड सेटका कारण राम्रो हुन नसकेको हो । विस्तारै परिवर्तन हुन्छ । बाँकी खेलमा हामीले गल्ती गर्नुहुँदैन’, सन्दीपले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर