१५ वर्षपछि तेर्‍हथुमको ‘अर्ध-वार्षिक’ झरनामा पुग्दा… – Nepal Press
ह्यात्रुङ ब्लग

१५ वर्षपछि तेर्‍हथुमको ‘अर्ध-वार्षिक’ झरनामा पुग्दा…

कुरा २०६२ साल अगाडिको हो । प्राविदेखि निम्न माविसम्मको हाजिरीजवाफ प्रतियोगिता हुन्थ्यो । त्यसमा हाजिर हुने तेर्‍हथुम मोराहाङको वशिष्ठ प्राविदेखि गौखुरी माविसम्मको एक नियमित सदस्य म थिएँ । हाम्रो हरेकजसो हाजिरीजवाफमा कुनै न कुनै रुपमा दोहोरिने सबैभन्दा सजिलो प्रश्न हुन्थ्यो- नेपालको सबैभन्दा अग्लो झरना कुन हो ? जोसुकैले सहज उत्तर दिन्थे- ह्यात्रुङ झरना ।

यो प्रश्नको उत्तर आम तेर्‍हथुमेलीलाई थाहा छ । धेरैलाई उचाइ कन्ठै छ, ३६५ मिटर । एक वर्षमा हुने दिन र ह्यात्रुङको उचाइ समान भएरमात्रै थाहा भएको हैन । तेर्‍हथुमको राष्ट्रिय मानचित्रमा आउने थोरै ल्याण्डमार्कमा एक ह्यात्रुङ भएकोले जिल्लाको पहिचानको लागि सम्झना आएको हुनसक्छ । खैर, यो हाजिरीजवाफमा पटकपटक मिलाएको उत्तर अर्थात् ह्यात्रुङ झरना पुग्न भने मैले निमावि सक्दासम्म सम्भव भएन । इटहरी आएर माध्यमिक तहमा कोशी सेन्ट जेम्स स्कुलमा भर्ना भएपछि मात्रै ह्यात्रुङ पुग्ने साइत जुरेको थियो ।

दोस्रो जनआन्दोलन सकिएको एक वर्ष पूरा हुँदै थियो । मेरो वार्षिक परीक्षा पनि सकिएको थियो । चैत सकिन लाग्दा म तेर्‍हथुमको मोराहाङ पुगेँ । मेरो ह्यात्रुङ हत्ते जाने पनि अलैंचे इन्द्र दाइले जुक्ति फुराउनुभयो- एक दिन हिँडेर इसिबु पुग्ने । इसिबुमा बस्ने । इसिबुमा चिम्फाङकी शिव दाहाल दिदीको घर तिम्सिना गाउँमा छ । त्यही बास बस्ने । भोलिपल्ट बिहानै झरना हेरेर मोराहाङ (घर) आउने ।

अलैँचे इन्द्र दाजुकै तरिकाअनुसार योजना बन्यो । एक सिंगो पहाड, केही खोला र थुप्रै खोल्सी नाघेर पुग्नुपर्ने यात्रा छिचोलेर हामी ६ घण्टा हाराहारीमै इबिसु पुग्यौं । मोराहाङबाट लाब्री, लाब्रीको शीर हुँदै सम्दु भएर हामी इसिबु तिम्सिना गाउँ पुग्यौं । त्यो बेला नेपालको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक ‘मेरो मोबाइल’को सिम र सानो नोकिया सेट थियो मसँग । पहाडमा सीडीएमएबाट आएको फोन उठाउन सजिलो होस् भनेर घरबाट दिइएको मोबाइलमा रोचक रिंगटोनहरु थिए । हामी टावरै नटिप्ने बाटोभरि त्यही रिंगटोन बजाँउदै हिँड्यौं । नेटवर्क टिपेको भए धेरैलाई फोन गरेर यात्राको धाँक दिन पाइथ्यो । नटिप्नाले पाइएन । तर, पाइयो यात्रामा प्रत्यक्ष गफ गर्दै लिने मज्जा । स्थानीयसँग बाटो सोध्दै हिँड्नुको छुट्टै आनन्द ।

२०६४ चैतको कुन दिन हामी इसिबुको तिम्सिना गाउँमा पाहुना लाग्यौं भन्ने अहिले न मलाई सम्झना छ न त इन्द्र दाइलाई । यो ब्लगको तयारीमा मैले कल गर्दा इन्द्र दाइले नि सम्झन सक्नुभएन । तर, हामीले सँगै यात्रा गरेका रोचक पाइलाहरु सम्झियौं । हामीले आँखा र हृदयमा कैद गरेका ह्यात्रुङ यात्रा तस्वीरहरु सम्झियौं । तस्वीर कैद गर्ने मोबाइल बोकेको भए हाम्रो सम्झना ठोस हुन्थ्यो होला । तर, त्यो नभइदिनाले हाम्रा सम्झना तरल भइदिए । कतिपय त क्रमशः उड्दै जाने बाफ भइदिए ।

१५ वर्ष अगाडि ह्यात्रुङ पुग्दा झरनाको पानी थोरै थियो । तर, हाम्रो झरनाको प्यार धेरै थियो । हाजिरीजवाफमा सोधिने प्रश्नको उत्तरसामु हाजिर हुँदा हामी पुलकित भयाैं । हाम्रो यात्राको कुरा धेरैलाई सुनायौं । आफूमा साटासाटा गर्‍यौं । जे होस् हामी पैदलै १५ वर्ष अगाडि ह्यात्रुङमा हाजिर भएका थियौं ।

ढाकाको राजधानी घोषणा र ह्यात्रुङ सफरको साइत

गत असार २० गते तेर्‍हथुम ढाकाको राजधानी घोषणा हुने कार्यक्रम थियो । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा तेर्‍हथुम सदरमुकाम क्षेत्रको म्याङलुङ नगरपालिकाको आयोजनामा राजधानी घोषणा कार्यक्रम हुने भयो ।

तेर्‍हथुमलाई ‘ढाकाको राजधानी’ बनाउने कार्यक्रममा सहभागी हुन ‘ढाकाको मोफसल’ इटहरीबाट हिँड्यौं म र विकल पौडेल । म तेर्‍हथुमेली नै भएँ । पौडेल तेर्‍हथुमकै पिप्लेका ज्वाइँ । हामीलाई यो कनेक्सनले कार्यक्रममा जाने हुटहुटी भयो । अझ तेर्‍हथुमका स्टेशनैपिच्छे भेटिने हाम्रा स्थानीय हितैषी साथीहरुको कारण हाम्रो यात्रा तयमा अतिरिक्त ऊर्जा मिल्यो । र, हामी लाग्यौं बिहानै पाँच बजे इटहरीबाट धरान, भेडेटार, धनकुटा, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरिखिम्ती हुँदै म्याङलुङ । हामी झण्डै पाँच घण्टामा म्याङलुङ पुग्यौं । भेडेटारमा कवि सुमन पोखरेल र टीभी व्यक्तित्व रुपेश श्रेष्ठसँग चिया र कविता गफ नभएको भए यात्रा अझ छोटो हुन सक्थ्यो । मध्य पहाडी राजमार्गले ठाउँठाउँमा कुहिरोको कम्बल नओढेको भए अझ हाम्रो यात्रा छिटो हुन्थ्यो ।

लिम्बू भाषामा म्याङ भनेको बिरालो हो । लुङ भनेको ढुंगा । बिरालोले चिथोरेको ढुंगासँग जोडिएको एक मिथकले म्याङलुङ नाम रहेको हो । त्यो नामको ठोस विम्ब अहिले म्याङलुङ प्रवेश गरेपछि देखिने बिरालोको सुन्दर मूर्तिले दिन्छ । बिरालोको अगाडि तस्वीर खिच्दै मैले ठट्टा गरेँ, ‘बिरालोले बाटो काट्नु पो नराम्रो । बिरालोले बाटो छेक्नु त राम्रो हो ।’

असार २० गतेको ढाकाको राजधानी तोकियो । लालीगुराँसको राजधानीमा तेर्‍हथुमले ढाकाको अतिरिक्त राजधानी पायो । मन्त्रालयका सचिवदेखि सहसचिवसम्मले राजधानीको फुर्को ओडाइदिए । जिल्लाका ६ वटै पालिका प्रमुख उपस्थित भएको कार्यक्रम सुन्दर थियो । तेर्‍हथुम लालीगुराँसदेखि ढाकाको राजधानी भएकोमा हामीले ठट्टा गर्‍यौं, ‘विराटनगर त प्रदेशको एउटा राजधानीमात्रै हो । तेर्‍हथुम त लालीगुराँस र ढाका दुवैको राजधानी बन्यो, विराटनगरभन्दा तेर्‍हथुम कडा हो ।’

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलदेखि सहसचिवसम्महरु घोषणा कार्यक्रममा आएका थिए । २०७८ चैत १२ गते पाल्पालाई पनि ढाकाको राजधानी घोषणा गरिएको थियो । एकै प्रकारका दुईखाले राजधानी भन्दै सामाजिक सञ्जालमा ट्रोल बने । मैले ट्रोलको उत्तर ट्रोलकै शैलीमा दिएँ, ‘तेर्‍हथुम र पाल्पा ढाकाका प्रादेशिक राजधानी हुन् । संघीय राजधानी हैनन् ।’

ढाकाको राजधानी घोषणा सामाजिक सञ्जालमा ट्रोल बने पनि सतहमा भने उत्साह देखिएको थियो । नेपालप्रेससँग कुरा गर्दै तेर्‍हथुमको ढाका उत्पादक समाजका संस्थापक अध्यक्ष भमि ल्वागुनले भनेका थिए, ‘अब तेर्‍हथुमको ढाकाको सम्पर्क सीधै मन्त्रालयमा हुने भयो । यो राम्रो हो । थप हौसला आवश्यक छ । तेर्‍हथुमका ६० दर्ता भएर सञ्चालित ढाका उद्योगबाट वर्षको औसतमा १० करोडको ढाका निर्यात हुने बताएका ल्वागुनले राजधानी घोषणाले थप सजिलो हुने बताए । उनले भने, ‘राजधानी नहुँदै चलेको तेर्‍हथुमे ढाकालाई राजधानी घोषणाले थप फाइदा पुग्नेछ ।’

rbt

ढाका राजधानीको उत्साह व्यवसायीमा मात्रै थिएन, स्थानीय सरकारमा पनि थियो । त्यही उत्साहलाई म्याङलुङ नगरपालिकाकी उपमेयर जमुना कार्की सुवेदीले यसरी कवितामा पोखेकी थिइन्ः

घरघरमा तान
तेर्‍हथुमको सान
दाजुभाइ छोरा बढिबा र काका
सबको शीरमा कति सुहाको तेर्‍हथुमे ढाका
आमाछोरी दिदीबहिनी सबको एकै बोली
वानपिस हैन घरमै बुनी लाउँछौं गुन्यु चोली
लालीगुराँससँगै हाम्रो ढाका पहिचान
यसैगरी अघि बढोस् तेर्‍हथुमको सान

तेर्‍हथुमको ढाकाको सान बढाउन सक्रियहरु धेरै देखिए । राजधानी घोषणा कार्यक्रममा ढाकाको साडी-चोलोदेखि कोट अनि टोपी लाउनेहरुको भीड बाक्लो थियो । खुशी बाक्लो थियो । हौसला बाक्लो थियो । हामी आएका थियौं म्याङलुङसम्म । म्याङलुङमा ह्यात्रुङको आकर्षक पानी झरेको हेर्ने साइत यही हो भनेर धेरैले हौस्याएँ । हामी हौसियौं । र, लाग्यौं ह्यात्रुङ यात्रामा ।

१५ वर्षपछि पुनः ह्यात्रुङ

१५ वर्ष अगाडि हामी पैदल ६ घण्टा हिँडेर आफ्नै गाउँबाट ह्यात्रुङ पुगेका थियौं । १५ वर्षपछि हामी तीन घण्टामा ह्यात्रुङ क्षेत्र सदरमुकाम म्याङलुङबाट दुई पांग्रे यात्रामा पुग्यौं । १५ वर्ष अगाडि जस्तै हामीसँग अहिले पनि मोबाइल फोन थियो । पहिले नचल्ने टावर चल्नेमात्रै हैन, मोबाइल इन्टरनेटको सुविधा पनि उपयोग गर्न पाइयो । १५ वर्ष अगाडि तस्वीर लिने एउटा पनि मोबाइल थिएन । अहिले तस्वीर लिने दुई मोबाइल थिए हामीसँग । यसरी सडकदेखि सञ्चारसम्म सबै क्षेत्रमा १५ वर्षको अन्तरमा परिवर्तन आएको अनुभव गरियो ।

मोराहाङकी गाउँले बैनी सविता भण्डारी ढकालले सञ्चालन गरेको म्याङलुङको ह्यात्रुङ होटलमा खानपिन र बसोबास गर्दा ह्यात्रुङ जाने कुनै निधो थिएन । अचानक जाने हुटहुटी आएर हामी झरना क्षेत्र पुग्यौं ।

म्याङलुङ, हलिमेला, भ्यागुते ढुंगा, बतासे हुँदै हामी सम्दु स्कुल पुग्यौं । त्यहाँबाट सम्दुकै पोयजुङको पहलमान बस्नेतको घरमा बास बस्यौं । तेर्‍हथुममा झरना यात्राको जानकारी दिने नागरिक गाइडहरु र हाम्रो झरना यात्राको अनुभवले हामीलाई भन्न बाध्य बनायो, ‘सोचे झैँ जिन्दगी रैनछ ।’

सोचे झैँ नहुनुको पहिलो दुःख बाटो । हामीलाई भन्नेले भने, ‘मध्य पहाडीको फिलिली बाटो छ । झरना नजिकैसम्म पुग्छ ।’ सोच्यौं म्याङलुङबाट हलिमेला आएको जस्तै पिच सडक होला । तर, म्याङलुङबाट हलिमेलाबाहेक ह्यात्रुङ यात्राको ३८ किलोमिटर हाराहारीमा सबै बाटो कच्ची । विकल पौडेलको स्तरीय पहाडी हँकाइको अनुभवका बाबजुद धेरैपटक बाइकबाट ओर्लिने उक्लने काम भयो । बाइकले मान्छे बोक्ने र मान्छेले बाइक ठेल्ने दुवै भए । स्थानीयलाई केही सहज भए पनि बाहिरियालाई यो सडकले समस्या पार्ने अनुभव भयो हाम्रो । झरना जाने बाटोका संकेतहरु नभएकाले हाम्रो यात्रा घरदैलो कार्यक्रम जस्तै भयो । घरमा पुग्दै बाटो सोध्ने अनि मोडिने कार्यले रोचक र कठिन अनुभव भयो ।

सोचे झैँ नहुनुको दोस्रो दुःख बत्ती र बासस्थान । हामीलाई भन्नेहरुले केही राम्रा होटल भएको सुनाए । बिजुली बत्ती र वाइफाई दुवै सुविधा छ भने । हामीले होटल त परै जाओस्, व्यवस्थित होमस्टे भेटेनौं । होमस्टे तयारीको घर चैँ भेट्यौं । पहलमान खत्री परिवारको सत्कार र खानपानमात्रै मीठो थिएन, त्यो गाउँका एक-एक स्थानीय मिजासिला देखिए । सत्कारमा सोचेभन्दा धेरै कुरा पाइयो ।

तर, त्यहाँको यात्राको एक-एक तस्वीर कैद गर्ने मोबाइल चार्जको वातावरण सिंगो पोयजुङ गाउँमा मिलेन । जिरिखिम्तीबाट तानिएको लाइनमा विगत तीन दिनदेखि बिजुली नआएको स्थानीय गुनासो गर्दै थिए । लाइन नआएर एउटा कुरा चैँ १५ वर्ष अगाडिको यात्रा र अहिलेको यात्रामा मिल्यो । त्यो हो- कुपि बालेर भोजन । फरक यतिमात्रै थियो १५ वर्ष अगाडि हामीले इसिबुको तिम्सिनाको घरमा रातको कुपिको उज्यालोमा खाना खाएका थियौं । १५ वर्षपछि सम्दुको खत्रीको घरमा खायौं । ह्यात्रुङलाई बीचमा राखेर बसेका यी दुई गाउँको सुन्दरता बन्द बत्तीले रातमा बन्दै गरेको थियो ।

बत्ती नहुनाले चार्ज जोहो नगरेको मेरो मोबाइल अफ भयो । मित्र विकल पौडेलको ४० प्रतिशत हाराहारी थियो । हामीले जुक्ति लगायौं- भोलि झरना पुग्नु अगाडिसम्म अब त्यो पनि मोबाइल अफ गर्ने । र, तस्वीर/भिडियो लिनमात्रै अन गर्ने । हामीले त्यसै गर्‍यौं ।

हामीले मोबाइल अफ गरेर जोहो गरेको चार्जले भोलिपल्ट झन्डै आधी घण्टा पैदल ओरालो यात्रामा ह्यात्रुङ पुग्दा चाहिने तस्वीर र भिडियो लिन पुग्यो । झरनामा स्नान गरेकोदेखि टिकटकका भिडियो टुक्रा खिच्नसम्म भ्याइयो । झरनाबाट आएर हामी बास बसेको घरै माथिको दिव्य दाइको ससुराली घर जान पाइएन । दिव्य दाइलाई धरानमा लगेर ससुराली घर पुगेको प्रमाण देखाउने तस्वीर र भिडियो लिन पुगेन । ह्यात्रुङमा बिहान दुई घण्टा बिताएर गाउँ डुल्दै पुनः बाइकमा पोक्लवाङ आएपछि मात्रै हाम्रा मोबाइलले चार्ज पाए । वाइफाई पाए । यही कुरा ह्यात्रुङ क्षेत्रमा पाएको भए हाम्रा ह्यात्रुङ खुराक धेरै हुने थिए । हाम्रा ह्यात्रुङका ठोस सम्झना धेरै हुने थिए ।

ह्यात्रुङ झरनाः अर्धवार्षिक भर्सेस चौमासिक !

ह्यात्रुङ शीरका रैथाने पहलपान खत्री ९८ वर्षका भए । उनी आफ्नो बाल्यकालमा ह्यात्रुङलाई फुसफुसे छाँगो भनेको सम्झन्छन् । कतिपयले छरछरे छाँगो भनेको उनी बताउँछन् । झरनाको नाप लिनु अगाडि गाउँलेसमेत झरनामा पुग्दैनथे । झरनाको नापपछि बाहिरका मान्छेहरु ओइरिन थाले । ‘पहिले पहिले त सिस्नो घारी थियो । झरनासम्म पुग्ने त कोही हुन्थेन’, पहलमानले विगत सुनाए ।

खत्रीका अनुसार झरनाले २०३८ सालताका भएको नापीपछि नयाँ नाम पायो- ह्यात्रुङ । स्थानीय लिम्बू भाषाको मिथकले हात्ती पल्टेको ठाउँको रुपमा मानेको ‘हेत्रेयेङ’बाटै अप्रभंश भएर ह्यात्रुङ भएको बताउँछन् स्थानीय तेजप्रसाद लिम्बू । पञ्चायकालका जनप्रतिनिधिका छोरा लिम्बूले झरनाको नाम धेरै भए पनि पानी थोरै भएको गुनासो गरे । ‘अस्ति इलामबाट गाडीमा आएकाहरुले मेरो श्रीमतीलाई प्लिज पानी खसालिदिनु न भनेर रोइकराइ गरेछन्’, पानी नहुने सिजनका दुःखित यात्रुको उदाहरण दिँदै लिम्बूले भने, ‘आधा वर्ष त पानी नै हुँदैन भन्दा हुन्छ । बाँदर र मृगहरु पो कुदिबस्छन् ।’

लिम्बूका अनुसार जेठदेखि कात्तिकमा सामान्य पानी हुन्छ । अरु समय लगभग सुख्खा । ह्यात्रुङ देशको नामी झरना भएर पनि आधा वर्ष पानी नहुनुको कारण मैले ह्यात्रुङ झरना भएको पालिका फेदाप गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठलाई जिस्क्याउँदै भनें, ‘हामी तपाईंको पालिकाको अर्धवार्षिक झरना पुगेर आयौं ।’ उनले मेरो जिस्क्याइको तर्कलाई सम्पादन गर्दै ठट्टा गरे, ‘अर्धवार्षिक हैन, चौमासिक पो होला । असारदेखि असोजसम्म मात्रै राम्रो पानी हुन्छ । अरु बेला हुन्न ।’

२०७४ साल अगाडिसम्म नेपालकै सबैभन्दा अग्लो झरना ह्यात्रुङ अहिले नेपालकै सबैभन्दा अग्लोमा दोस्रो भएको छ । पहिलो झरना ३८१ मिटर उचाइको कालीकोटको पचाल झरना हो । ह्यात्रुङले २०७४ पछि पहिलोको उपाधि गुमाएको छ । ९८ वर्षका पहलमान खत्रीको समय जस्तो पानीको मात्रै नदेखिएपछि पानी पनि ह्यात्रुङले धेरै गुमाइसकेको छ ।

घट्दो पानीको मात्रा र बढ्दो पूर्वाधार विकास हेर्दा अचम्म लाग्छ । जस्तै झरनाको मुखमा ट्रस ब्रिज बनाइएको छ । झरनाको मुखमा पुग्न फेदाप गाउँपालिका ४ को सम्दु र वडा नम्बर ५ इसिबु दुवैतर्फबाट कंक्रिट सडक र रेलिङ बनाइएको छ । पिकनिक स्पट बनेका छन् । झरना हेर्ने स्थानमा लिम्बू शैलीको एक आकर्षक घर बनाइएको छ । अब लामो झोलुङ्गे पुलको निर्माण पनि हुने क्रममा भएको स्थानीय जनप्रतिनिधिहरुले सुनाए ।

झरनाको मुख्य प्राण पानी नै नभएपछि यस्ता पूर्वाधारहरुको के काम ? घर नै बलियो छैन भने घरको बगैँचा र कम्पाउण्डमात्रै बनाउनको औचित्य के ? यस्ता प्रश्नहरु पूर्वाधारको विकासमा बढेको लगानी, पानीको सतह बढाउने र बार्‍है महिना भारी पानी झार्नेतर्फ नगएको व्यवस्थापकीय ध्यानले जन्माउँछन् । यी प्रश्नहरु सायद स्वयं ह्यात्रुङको हुनुपर्छ । असारे झरीको समयमा पनि शीरबाट सीधै फेदमा हाम फाल्न नपाएर ठाउँ-ठाउँमा ठोक्किँदै झर्दा पक्कै ह्यात्रुङलाई दुःख भएको छ । १२ महिनामा ६ महिना सुलसुल पानीको धर्कामा सीमित भएर देशको सबैभन्दा दोस्रो अग्लो झरना हुन पक्कै ह्यात्रुङलाई निको लागेको छैन ।

तेर्‍हथुमलाई ह्यात्रुङले पहिचान दिएको छ । सम्दु र इसिबु सिमानामा रहेको फेदाप गाउँपालिकालाई पनि ह्यात्रुङले पहिचान दिएको छ । आज ह्यात्रुङ आफ्नो पहिचान गुम्ने डरमा छ । ह्यात्रुङबाट आफ्नो भूगोलको पहिचान दिनेहरुले अब ह्यात्रुङको असली पहिचान दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.