त्रिभुवन विमानस्थलमा एकपछि अर्को ‘च्यालेन्ज’, अर्बाैंको बरामद हुँदा पनि रोकिएन हेरोइन तस्करी – Nepal Press

त्रिभुवन विमानस्थलमा एकपछि अर्को ‘च्यालेन्ज’, अर्बाैंको बरामद हुँदा पनि रोकिएन हेरोइन तस्करी

काठमाडौं । जेठको अन्तिम साता नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले चलाएको अप्रेसनमा सात जना दक्षिण अफ्रिकी महिला फन्दामा परे । उनीहरुको साथबाट ५१ केजी हेरोइन बरामद भयो । त्यसमध्ये ४९ केजी सेतो हेरोइन र दुई केजी खैरो हेरोइन थियो ।

नेपाल प्रहरीले एउटै अप्रेसनमा यसअघि एकैपटक यति धेरै हेरोइन बरामद गरेको थिएन । भलै उक्त हेरोइन एकै ठाउँ तथा व्यक्तिबाट बरामद भएको भने थिएन ।

पक्राउ परेका महिलाहरुले एक-अर्कालाई चिन्दैनन् । तर, उनीहरुलाई हेरोइन बोकाएर पठाउने समूह एउटै थियो । जुन सूचना पाएको प्रहरीले धैर्यतापूर्वक एक सातासम्म अप्रेसन चलाएको थियो । बरामद हेरोइनको बजार मूल्य एक अर्ब दुई करोड रुपैयाँ थियो ।

असारको पहिलो साता अर्को एकजना अफ्रिकी नागरिक ४.९ केजी हेरोइनसहित पक्राउ परे । तस्करले लगातार महिलालाई भरिया बनाएर हेरोइन पठाइरहेको अवस्थामा त्यही ठाउँबाट आएका पुरुष व्यक्ति पक्राउ पर्नुमा प्रहरीले चलाखी अपनाएको देखियो ।

करोडौं रुपैयाँको लागुऔषध एकैपटक बरामद गर्दा पनि तस्करहरु रोकिएनन् । असारको अन्तिम साता फेरि चार केजी हेरोइनसहित थप एक अफ्रिकी नागरिक पक्राउ परे ।

६१ वर्षीय ती पुरुष पनि जोहानेसबर्गबाट काठमाडौं ओर्लिएका थिए । अफ्रिकाबाट आउने व्यक्तिहरुमाथि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएदेखि नै निगरानी बढाउने गरेका कारण हेरोइन लगातार बरामद भइरहेको ब्युरोका अनुसन्धान अधिकारी बताउँछन् ।

‘पहिला महिलालाई बोकाएर पठाउने ट्रेन्ड थियो । पछिल्लो समय अलिक पाका पुरुषहरु भरिया बनिरहेका छन्’, उनले भने । यसअघि गत बैशाखमा ७ केजी हेरोइनसहित एकजना दक्षिण अफ्रिकी महिला पक्राउ परेकी थिइन् ।

लामो समय ब्युरोमा काम गरेका पूर्वडीआईजी हेमन्त मल्ल पछिल्लो घटनाक्रमले आफू पनि छक्क परेको बताउँछन् । ‘करोडौं रुपैयाँको हेरोइन बरामद भइरहँदा पनि हेरोइन आइरहन्छ भने त्यसलाई गहन शंका गर्नुपर्ने हुन्छ’, मल्ल भन्छन्, ‘त्यो भनेको पहिल्यैदेखि नेपालमा ठूलो मात्रामा हेरोइन भित्रिरहेको र यहाँबाट बाहिरिरहेको छ भन्ने हो । नत्र एकपटक बरामद हुँदा करोडौं रुपैयाँ नोक्सान भइरहेको हुन्छ ।’

उनी एउटा परिमाणतर्फ प्रहरीलाई डाइभर्ट गरेर अरु ठूलो परिमाण पनि भित्रिरहेको हुनसक्ने बताउँछन् । उल्लेखनीय के छ भने जेठको अन्तिम साता पक्राउ परेका सात महिलामध्ये एकजना पछिल्लो पाँच महिनामा तेस्रोपटक नेपाल आएकी थिइन् । यसपटक उनको साथबाट ८ केजी हेरोइन बरामद भएको थियो । सुटकेशमा फल्स बटन बनाएर त्यसमा हेरोइन राखेर नेपाल भित्र्याइएको थियो ।

‘मलाई लाग्छ प्रहरीले यो सबै काम बाहिरबाट आउने सूचनाका आधारमा गरिरहेको छ । सूचना दिनेले त्यही समयमा अरु परिमाण पनि छिराउन भूमिका खेल्नसक्छ भन्ने पनि बुझ्नुपर्छ । त्यसका लागि त्रिभुवन विमानस्थलको हाम्रो सुरक्षा संयन्त्र निकै चनाखो हुनुपर्छ’, मल्लको सुझाव छ ।

भैरहवा विमानस्थल सञ्चालनमा नआउँदासम्म त्रिभुवन विमानस्थल नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल थियो । यसरी हवाई बाटो भएर आएका विदेशीहरुले ल्याएको लागुऔषध अधिकांश भारततर्फ जाने गरेको पाइएको छ । विभिन्न अप्रेसन र अनुसन्धानका क्रममा स्थलमार्ग हुँदै नेपाल आएर ‘रिसिभ’ गर्ने क्रममा भारतीय नागरिकहरु पक्राउ परेका छन् ।

‘तर, यसको मतलब नेपालमा बसेर नेपालीहरु हेरोइनको कारोबारमा संलग्नै छैनन् भन्ने अर्थमा बुझ्नुहुँदैन । नेपालीहरु विभिन्न देशमा हेरोइनको कारोबार गरेर बसिरहेका छन् भन्ने हाम्रा विभिन्न अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय यसरी हेरोइन आइरहँदा नेपालीमाथि पनि निगरानी बढाउनुपर्छ’, मल्ल भन्छन् ।

ब्युरोका अधिकारीहरु भने नेपाल भित्रिएको हेरोइन दिनका लागि भरियाले सोझै भारतीयसँग सम्पर्क गर्ने गरेको बताउँछन् । सात जना अफ्रिकी महिला पक्राउ परेको घटनामा रिसिभ गर्न आउने समूहलाई जालोमा पार्न खोजे पनि नेपाल प्रहरी सफल हुन सकेन ।

नेपालको कारागारमा सबैभन्दा बढी लागुऔषधका कैदीबन्दी छन् । जेठ मसान्तसम्मको तथ्यांकअनुसार २३४ महिलासहित करिब ५ हजार लागुऔषधका कैदीबन्दी छन् । त्यतिबेला कारागारमा रहेका एक हजार ३३६ विदेशी नागरिकमध्ये अधिकतम लागुऔषध मुद्दासँग सम्बन्धित रहेको कारागार व्यवस्थापन विभागका अधिकारी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर