महानगरले पहिलोपटक आफ्नै पैसाले किन्यो दमकल, पानी नहुँदा पनि आगो निभाउने प्रविधि – Nepal Press

महानगरले पहिलोपटक आफ्नै पैसाले किन्यो दमकल, पानी नहुँदा पनि आगो निभाउने प्रविधि

यस वर्ष थप ३ वटा खरिद गर्ने योजना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलोपटक अत्याधुनिक दमकल खरिद गरेको छ । यसअघि दाताले डोनेसनमा दिएको दमकलले नै काम चलाउँदै आएकोमा यसपालि आफ्नै बजेटबाट किनेको हो ।

खरिदको लागि टेन्डर आव्हान  भएको एक वर्षपछि तीन वटा दमकल काठमाडाैं आइपुगेकाे छ । इन्डोनेसियाबाट खरिद गरिएका यी दमकल आधुनिक प्रविधिले सुसज्जित रहेको बताइएको छ ।

महानगरका पूर्वमेयर विद्यासुन्दर शाक्यको पालामा गत वर्ष दमकल खरिदको  प्रकिया अघि बढेको थियो । सबै प्रक्रिया पुरा गर्दा दमकल ल्याउन ढिला भएको काठमाडौं महानगरपालिकाका  विपद व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठले  बताए ।

उनले नेपालप्रेससँग भने, ‘यो एक वर्ष अगाडिको  टेन्डर हो । सबै प्रकिया पुरा गरेर अहिले आइपुगेको हो ।’दमकल कतिमा खरिद गरेको हो भनेर एकिन हिसाब गरिनसकेको उनको भनाइ छ ।

श्रेष्ठका अनुसार तीनवटा दमकलको पाँच लाख डलरमा खरिद सम्झौता भएको थियो । सम्झौताअनुुसार ३ वटा दमकल खरिद गर्न ६ करोड रुपैयाँभन्दा बढि खर्च भएको छ । एउटाको दुई देखि साढे २ करोड रुपैयाँ पर्न गएको उनले बताए । दमकल ल्याउँदा लाग्ने करहरुको हिसाब गर्न बाँकी रहेको उनको भनाइ छ ।

नयाँ दमकलले १० तलासम्मको आगो निभाउने क्षमता राख्छ ।  दमकलमा बत्ति र फोमहरु छन् । पानी नभएको बेलामा पनि फोमबाट आगो निभाउन सकिनेछ भने साँघुरो गल्लीमा पनि सजिलै आगो निभाउन सकिन्छ ।

यसअघि महानगरसँग ८ वठा पुराना दमकल रहेकोमा ३ वटा मात्रै सञ्चालनमा थिए । अरु विग्रेर थन्केका छन् ।श्रेष्ठले भने, ‘पहिला त हामीकहाँ पुरानो पुरानो दमकल मात्र थियो ।  सबै  डोनेसनमा  आउथ्यो र आउने वित्तिकै विग्रिन्थ्यिो । ’

महानगरले यो वर्ष पनि दमकल खरिदको लागि १२ करोड रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौंलाई ९ वटा दमकल आवश्यक पर्ने महानगरको अनुमान छ ।  यसै वर्ष थप ३ वटा दमकल खरिद गर्न सकिने श्रेष्ठ बताउँछन् ।

काठमाडौंमा आगलागीको घटना भइहाले  दमकल समयमै पुग्न नसक्ने अवस्था छ ।  भएका  दमकलहरु पनि विग्रिएर थन्किदा अन्य  पालिकाबाट दमकल निभाउने गरिएको छ । अब यस्तो समस्या टर्ने विश्वास महानगरका अधिकारीहरुले लिएका छन् ।

१५ दिन भित्रमा दमकल सञ्चालनमा ल्याउने श्रेष्ठको दाबी छ । उनी भन्छन्, ‘कम्पनीबाट शनिबार मान्छे आउँछ भनेको छ । उनीहरुले यहाँका अपरेटरहरुलाई सिकाउँछन् ।  त्यसपछि  १०  १५ दिनमा शुरु हुन्छ होला । तर  इमरजेन्सी नै पर्यो भने त चलाउनु परिहाल्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर