३ वर्ष योगदान गरिसकेका योगदानकर्ताले सामाजिक सुरक्षा कोषबाट अब सापटी लिन पाउने – Nepal Press

३ वर्ष योगदान गरिसकेका योगदानकर्ताले सामाजिक सुरक्षा कोषबाट अब सापटी लिन पाउने

साउन महिनादेखि ७ सय योगदानकर्ता लाभान्वित हुने

काठमाडौं । सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ३ वर्ष योगदान गरिसकेका योगदानकर्ताले अब सापटी लिन पाउने भएका छन् । आइतबार ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत भएसँगै योगदानकर्ताले सापटी लिन पाउने व्यवस्था कार्यान्वनयमा आएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले शुक्रबार निर्देशका स्विकृत गरेसँगै कार्यान्वयनमा गएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिणमणी ज्ञवालीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार निर्देशिका अनुसार अब योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा ३ वर्ष अर्थात ३६ महिना योगदान गरेका योगदानकर्ताले जम्मा गरेको रकमको ८० प्रतिशत रकम सापटी लिन पाउनेछन् ।

योगदानकर्ताले वार्षिक ९ दशमलव १० प्रतिशत व्याजमा सापटी लिन पाउनेछन् । यद्यपी सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई भने वार्षिक ८ प्रतिशत व्याज दिदैँ आएको छ ।

कोषका अनुसार अहिलेसम्म यस्तो सापटी लिन पाउने अर्थात ३ वर्ष योगदान गर्ने योगदानकर्ताको संख्या साउन महिनामा ७ सय पुगिसकेको छ । उनीहरुले साउन महिनादेखि नै सापटी लिन पाउनेछन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा एकको खण्ड ट तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार पारिएको हो । निर्देशिका सामाजिक सुरक्षा कोषले तयार पारेको हो ।

उक्त निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, आफ्नो स्वामित्वमा रहेको घरको तला थप्न, मर्मत गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधीको आधारमा अवकाश हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिनेछ ।

घर सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी रकम स्वीकृत हुनेछ । त्यसका लागि तीन प्रकारका विधिबाट जुन विधिमा रकम कम हुन्छ, त्यसअनुसार सापटी दिइने छ ।

त्यसमध्ये पहिलो विधिअनुसार, धितोका आधारमा ७५ लाख रुपैयाँ, दोस्रोमा योगदानकर्ताको १५ वर्षको तलब र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधीको तलब रहेका छन् । त्यस्तै, योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था उक्त निर्देशिकाले गरेको छ ।

कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधीको आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । त्यस्तो सापटी योगदानकर्ता वा निजका पति, पत्नी, छोरा, छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लािग सापटी प्रदान गर्न सकिने उल्लेख छ । त्यस्तो रकम ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्चमध्ये कम हुने रकम दिइने छ ।

विद्यार्थीको भर्ना शुल्क, मासिक, परीक्षा, होस्टेल वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामाग्री खर्च, ट्राभल तथा बीमा खर्च उक्त सापटीमा रहने छ । योगदानकर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः प्रदान गर्न सकिनेछ ।

कोषले यसै महिनादेखि सामाजिक सुरक्षा कोषमा ३६ महिना नियमित योगदान गरेका योगदानकर्तालाई अनलाइन विधिबाट नै सेवा प्रवाह प्रारम्भ गरिने कोषका कार्यकारी निर्देशक ज्ञवालीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर