लुम्बिनीको वन निर्देशनालयमा कर्मचारी कुटपिट प्रकरण: कुट्ने र कुटिने बिदामा, कुट्नेले उल्टै दिए जाहेरी – Nepal Press

लुम्बिनीको वन निर्देशनालयमा कर्मचारी कुटपिट प्रकरण: कुट्ने र कुटिने बिदामा, कुट्नेले उल्टै दिए जाहेरी

रुपन्देही । लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयका निमित्त निर्देशक जीवन पंगेनीले उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेको विवाद नसल्टिँदै दुवैजना बिदामा बसेका छन् । दुई हप्ताअघि पंगेनीले निर्देशनालयकै उपसचिव चौधरीमाथि हातपात गरेका थिए ।

पंगेनीले उल्टै आफूमाथि आक्रमणको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा चौधरीविरुद्ध उजुरी दिएपछि विषय थप विवादित बनेको छ । कुटाइ खाने चौधरी बिदा लिएर भारत भ्रमणमा लागेका छन् । कुट्ने पंगेनी पनि बिदामा काठमाडौं लागेपछि निर्देशनालय नै अस्तव्यस्त बनेको छ ।

पंगेनीले उजुरी हालेपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । प्रमुख जिल्ला अधिकारी आएपछि थप छलफल गराउने भन्दै प्रहरीले उनीहरुलाई बिदा गरेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले भने, ‘दुई हप्ताअघि उजुरी आएको हो । त्यसपछि दुवै जनालाई राखेर कुरा गरायौं, मिल्नुभएन । सीडीओसाब आएपछि छलफल गराउने सहमति भएको हो । चौधरीजी बाहिर जानुभएको भन्ने जानकारी आएकाले थप छलफल हुनसकेको छैन ।’

घटनापछि तनावले चौधरी बिदा लिएर भारत भ्रमणमा गएको निर्देशनालयका कर्मचारी बताउँछन् । निमित्त निर्देशक पंगेनीले भने चौधरीलाई स्पष्टीकरण सोधिएको तर कुनै जवाफ नदिई सम्पर्कविहीन रहेको जानकारी दिए । अहिले दुवै जना कार्यालयमा हाजिर छैनन् ।

घटना विवरणअनुसार पंगेनीले उपसचिव चौधरीलाई कार्यालयको कामको सिलसिलामा अर्घाखाँची जान स्वीकृति दिएका थिए । स्वीकृतिपछि चौधरी अर्घाखाँची जाने तयारीमा लागे । अर्घाखाँची जान भनेर घरबाट कार्यालयमा आउँदा उनले गाडी देखेनन् । चालकलाई फोन गरे । चालकले पंगेनीलाई लिएर बुटवल गएको बताए । त्यसपछि चौधरीले कार्यालय प्रमुख पंंगेनीलाई टेलिफोन गरे ।

पंगेनीले काम गर्ने चाहना नभएर चौधरीले बहानाबाजी गरेर ठग्न खोजेकाले सम्झाएको बताए । एउटा गाडी आफू बुटवलमा जाँदा लगे पनि अर्को गाडी कार्यालयमै रहेको जानकारी दिँदै पंगेनीले भने, ‘उनी कुटिएको भए प्रहरीमा बोलाउँदा किन भागे ?’

घटना भएको दिन पंंगेनी कार्यकक्षमा तनावमुक्त हुन चुकुल लगाएर बसेका थिए । त्यही विषयमा कुरा गर्न प्रमुखको कार्यकक्षमा गएका चौधरीले चुकुल लगाएको कोठा ढकढक्काए । यसैलाई पंगेनीले हातपात भएको बहाना बनाए । यसबारेमा पंगेनीले भने हातपात नभएको दावी गरे ।

‘काम लगाउँदा काम नगर्ने अनि अनावश्यक आरोप लगाएर हुन्छ ?’, जंगिँदै उनले भने, ‘कर्मचारीमा हुने क्षमता नै छैन, सुध्रन खोजेनन् । बसेर छलफल गरेको हो । कार्यालयमा उनले कस्तो हर्कत देखाए । मैले के गरें, सबै सीसीटीभीमा सुरक्षित छ । यो विषय बाहिर आएपछि मैले प्रशासनमा जाहेरी दिएँ । तर, उनी छलफलमा नआएर भागे ।’

पंगेनीले अहिले आफू बिदामा रहेको जानकारी दिए । कार्यालयका एक कर्मचारीले निमित्त निर्देशक पंगेनी साउन १ गतेसम्म बिदामा बसेको बताए ।

प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव दुर्गाबहादुर कार्कीले उनीहरुबीच विवाद भएको र पंगेनी प्रहरीकहाँ गएर गल्ती गरेको बताए । ‘प्रहरीकहाँ गएपछि मकहाँ पनि निवेदन आएको थियो’, उनले भने ।

वन निर्देशक इन्द्रबहादुर पछाई असार २२ गते अवकाशमा जानुअघि दुईसाताको बिदा बसेपछि पंगेनीलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

रूकुमको त्यो घूसकाण्ड

रुकुम पूर्वमा डिभिजन वन अधिकृत रहेका पंगेनीले नौ महिनाअघि यार्सागुम्बा संकलन गर्ने एक सेवाग्राहीसँग घूस मागेको विषयमा विवादमा तानिएका थिए । घूस मागेको अडिओसहित वन तथा वातावरण मन्त्रालयमा उजुरी परेपछि छानबिन भएको थियो ।

मन्त्रालय स्रोतका अनुसार उजुरीपछि भएको छानबिनले उनलाई दोषी ठहर गरेको थियो । छानबिनपछि साविक कार्यरत रूकुमबाट प्रदेश वन निर्देशनालय भैरहवामा राखिएको थियो ।

रूकुमको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटकी रसिला बुढामगरलाई पाटन क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि नियमानुसार राजस्व तिरेर वन कार्यालयको पुर्जी लिन गएका वेला कार्यकक्षमा होहल्ला हुन्छ भन्दै पंगेनीले निवासमा बोलाएर घूस मागेका थिए ।

लामो बार्गेनिङपछि राजस्व तिरेको बराबरको रकम खाजस्वस्वरुप दिनु भनेर सेवाग्राहीसँग घूस मागेको अडिओ त्यसवेला सार्वजनिक भएको थियो । उनले सेवाग्राहीसँग लिएको रकम माथिका मन्त्री, सीडीओ, पत्रकार र फाँटका अन्यलाई पनि दिनुपर्ने भनेर सेवाग्राहीसँग पैसा मागेका थिए ।

कारबाहीस्वरूप रूकुम पूर्वबाट निर्देशनालयमा तानिएका पंगेनीलाई वन तथा वातावरण मन्त्रालयका सचिव कार्कीले निमित्त प्रदेश वन निर्देशकको जिम्मेवारी दिएपछि कार्यालयमा भाँडभैलो भएको हो । निर्देशनालयले प्रदेशका १२ वटा जिल्लाका डिभिजन वन कार्यालयमा कामको समन्वय, अनुगमन र निर्देशन दिने गर्छ ।

आफैं काज बनाउँदै बिदा बस्दै

पंगेनी निर्देशक भएपछि अहिले लुम्बिनी वन निर्देशनालयका कर्मचारीले एकले अर्कोलाई अटेर गर्न थालेका छन् । कर्मचारीले मनलाग्दी काज बनाउने र घर जाने गरेका छन् । निर्देशनालयकै सञ्जय तिवारी उपसचिव प्राविधिक नवौं तहका अर्घाखाँची काज बनाएर चितवनस्थित निवासमा गएका छन् । केही दिनअघि पनि तिवारीले कार्यालयबाट काज बनाएर सरकारी सवारीसाधन लिएर आफ्नो निजी काममा गएको कार्यालय स्रोतले जनाएको छ ।

हालैमात्र सेवा निवृत्त इन्द्रबहादुर पछाई बिदा बसेपछि तिवारीले आफूलाई निमित्त बनाएर कार्यालयको सेवासुविधा लिएका थिए ।

कार्यालयमा कर्मचारी मनलागे आउँछन्, मन नलागे आउँदैनन् । अनि काज बनाएर टाप कस्छन् । तीनजना उपसचिव रहेको कार्यालयमा अहिले एकजना पनि हाजिर छैनन् । तीन उपसचिव पंगेनी, तिवारी र चौधरी बिदामा बसेपछि कार्यालय अहिले अलपत्रजस्तै भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर