‘डिफेन्डरका दु:ख कसले बुझ्ने ?’ (भिडिओ) – Nepal Press

‘डिफेन्डरका दु:ख कसले बुझ्ने ?’ (भिडिओ)

हाम्रो मुख्य लक्ष्य भारतलाई जित्ने हो ।

काठमाडौं । सम्भवतः अहिलेको पुस्ताका हरेक फुटबल खेलाडीको करिअर मोजाको बलबाटै सुरु हुने गर्छ । पूजा राना पनि यसमा अपवाद छैनन् । मोजाकै बलबाट आफ्नो खेल जीवन सुरु गरेकी पूजा अहिले राष्ट्रिय महिला फुटबल टीमको रक्षापंक्ति सम्हाल्न आइपुगेकी छन् ।

पुरुषप्रधान समाजमा खेलाडी बन्न खोज्ने महिलालाई पहिलो अवरोध परिवारबाटै हुन्छ । बुवाआमासँग ‘खेलाडी बन्छु’ भन्ने हिम्मत जुटाउनै सकस पर्ने अवस्था छ । तर, यसमा भने पूजा अपवाद हुन् ।

पूजाका लागि खेल्नलाई न परिवारसँग झगडा गर्नुपर्‍यो न त समाजले उनको खुट्टा तान्न खोज्यो । त्यसो त उनी आफ्नै आमाबाट प्रेरित भएर फुटबल खेल्न थालेकी थिइन् ।

मध्य पश्चिम नेपालको बाँकेस्थित कोहलपुरमा हुर्किएकी पूजा आफ्नी आमाका कारण आफू खेलाडी भनेर गर्व गर्न पाएको बताउँछिन् । ‘म आमाबाट प्रेरित भएर खेल्न थालेको हो । उहाँले कति दुःख गरेर आफूले जस्तो दुःख छोराछोरीले नपाऊन् भन्ने सोचेर राम्रो स्कुलमा पढाउनु भएको थियो । म पढेको स्कुलमा खेल्ने राम्रो वातावरण थियो’, उनले भनिन् ।

पूजा स्कुल जीवनमा सबै किसिमका खेलहरु खेल्ने गर्थिन् । तर, कुन खेल कसरी खेल्ने भन्ने टेक्निकल ज्ञान भने थिएन । उनी धान काटेको खेत र बसपार्कमा साथीभाइ जम्मा गरेर सिर्फ रमाइलोका लागि खेल्ने गर्थिन् । थरिथरिका खेल खेलिसकेपछि अरु सबैलाई त्यागेर फुटबललाई निरन्तरता दिनुको कारण के हो त ? उनी जवाफमा भन्छिन्, ‘फुटबलमा पाएको अवसर ।’

‘सबै खेल खेले पनि मैले किन अरु खेल रोजिनँ भने सानै उमेरमा मैले फुटबलमा अवसर पाएँ’, उनले थपिन् । कस्तो थियो त्यो अवसर ?
स्कुलस्तरको यू-१४ कोकाकोला कप हुँदैै जिल्लास्तरीय प्रतियोगिता खेलेकी पूजा जिल्लाबाट छनोट भएर राष्ट्रिय यू-१४ टीममा पुगिन् । उनी श्रीलंकामा आयोजना हुने यू-१४ रिजनल च्याम्पियनसीपका लागि छनोट भइन् । नेपाल रिजनल च्याम्पियनसीपको उपाधि पनि जित्न सफल भयो ।

यू-१४ खेल्ने बेला १२/१३ वर्षको उमेर थियो उनको । खेल्न नजाने मूडमा रहेका उनलाई आमाले नै खेल्न प्रेरित गरिन् । आमाकै प्रेरणाका कारण राष्ट्रिय फुटबल खेलाडी भनेर चिनिन पाउँदा गर्व महसुस भएको छ पूजालाई ।

सन् २०१४ मा यू-१४ खेल्दै आफ्नो खेल करिअरलाई औपचारिकता दिएकी पूजा त्यसको एक वर्षपछि नेपालमा आयोजना भएको रिजनल च्याम्पियनसीपमा यू-१४ टीमको कप्तान बनिन् । उक्त खेलमा नेपाल दोस्रो भएको थियो । फाइनलका दिन भूकम्प गएपछि उक्त खेल सारिएको थियो । करिब एक वर्षपछि भएको फाइनलमा नेपाल बंगलादेशसँग १-० गोलको नतिजामा पराजित भयो ।

पूजाले १३ वर्ष हुँदादेखि नेपालको प्रतिनिधित्व गरेर उमेर समूहका प्रतियोगिताहरु खेल्न थालिन् । उनले उमेर समूहमा यू-१४, यू-१८, यू-१९ का प्रतियोगिता खेलिन् । सन् २०१९ मा विराटनगरमा भएको महिला साफ च्याम्पियनसीपमा बंगलादेशविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै उनले १९ वर्षको उमेरमा सिनियर टीममा डेब्यू गरेकी थिइन् । सिनियर टीममा डेब्यु गर्दाको क्षण आफूलाई खुशी मिल्नुका साथै जिम्मेवारी थपिएको महसुस भएको उनी बताउँछिन् ।

‘राष्ट्रिय टीममा डेब्यू गर्दा धेरै खुशी लागेको थियो । अझै राम्रो गर्नुपर्छ भन्ने दबाब पनि महसुस भयो’, उनले भनिन् ।

राष्ट्रिय टीममा राइटब्याक पोजिसनबाट खेलिरहेकी पूजालाई डिफेन्स भनेको अपजस पाउने पोजिसन लाग्छ । आफू होचै भए पनि डिफेन्डर भएपछि अग्लो हुनुपर्छ भन्ने मान्यतालाई पूजा बदल्न चाहन्छिन् ।

‘डिफेन्डर भनेको एकदमै अपजस पाउने पोजिसन हो । स्ट्राइकरले गोल हान्ने भएकाले नाम उनीहरुको आउँछ । तर, स्ट्राइकरसम्म बल पुर्‍याउन डिफेन्डर र मिडफिल्डरको पनि ठूलो मेहनत हुन्छ । यो कसैले बुझ्दैन । डिफेन्डरले हजार वटा बल बचाएर एउटा मिस्टेक गर्‍यो भने त्योमात्रै मान्छेहरुले देख्छन् । अझ डिफेन्डर होचो छ भने त राम्रो खेले पनि कसैको नजरमा पर्दैन’, उनले डिफेन्डरका दुःख बयान गरिन् ।

खेलमा भविष्य नदेखेर प्रायः खेलाडी विदेश पलायन हुने गरेका छन् । पूजा पनि विदेश पलायन हुने सोचबाट गुज्रिसकेकी छन् । २०७७ सालको राष्ट्रिय महिला लिगमा घाइते भएकी पूजाले आफ्नै पैसाले उपचार गर्नुपर्‍यो । त्यतिवेला कसैले सहयोग नगर्दा खेल्न छोडेर विदेश जाने सोच आएको उनले बताइन् ।

‘जब म घाइते भएको थिएँ, त्यसवेला कतैबाट सहयोग भएन । खेलाडी भनेको राष्ट्रको गहना हो भनिन्छ । तर, त्यस्तो वेलामा आफैंले सबै खर्च जुटाएर उपचार गर्नुपर्दा धेरै नराम्रो लागेको थियो । अब खेलेर केही हुँदैन, विदेश जानुपर्छ भन्ने सोच आएको थियो’, उनले थपिन् ।

पूजा घरेलु प्रतियोगितामा विभागीय टीम नेपाल पुलिस क्लबको प्रतिनिधित्व गर्छिन् । उनलाई पुलिस र राष्ट्रिय टीमबाट खेल्दा धेरै फरक लाग्छ । ‘पुलिसबाट खेल्दा एउटा टीमको लागि खेल्ने हो भन्ने सोचिन्छ । तर, राष्ट्रिय टीमबाट देशको झण्डा छातीमा राखेर खेल्दा छुट्टै गर्व महसुस हुन्छ । खेल सुरु हुनुअगाडि राष्ट्रिय गान बज्दा जिउ नै सिरिङ हुन्छ । जे आए पनि पार लगाउन सकिन्छ जस्तो आत्मविश्वास जाग्छ’, उनले भनिन् ।

सन् २०१९ पछि नियमित राष्ट्रिय टीममा पर्दै आएकी पूजा नेपाललाई स्वर्ण पदक दिलाउनसके बल्ल आफूले खेलेर देशका लागि केही उपलब्धि हासिल गरेको महसुस हुने बताउँछन् ।

राष्ट्रिय महिला फुटबल टीम अहिले नेपालमा हुने साफ च्याम्पियनसीप र चीनमा हुने एसियन गेम्सको तयारीमा छ । त्यही तयारीमा व्यस्त छिन् पूजा । हरेक उपाधि नजिक पुगेर भारतसँग पराजित हुने गरेको इतिहास मेट्ने लक्ष्य छ नेपालको । यसपटक साफ र एसियन गेममा भारतलाई हराउने ध्येय नेपाली महिला टीमको रहेको उनी सगर्व सुनाउँछिन् । त्यसका लागि तयारी राम्रो भइरहेको उनले सुनाइन् ।

‘एसियन र साफ गेमको तयारी राम्रो भइरहेको छ । हाम्रो मुख्य लक्ष्य भारतलाई जित्ने हो । किनभने हामी हरेक खेलमा भारतसँग पराजित भएर उपाधिबाट वञ्चित हुँदै आएका छौं’, उनी भन्छिन् ।

साफ र एसियन गेमका लागि प्रशिक्षकले भनेका कुराहरुलाई व्यवहारमा उतार्न सकेमा आफू टीममा पर्ने उनले विश्वास व्यक्त गरिछन् ।


प्रतिक्रिया

One thought on “‘डिफेन्डरका दु:ख कसले बुझ्ने ?’ (भिडिओ)

Leave a Reply to Kesharthapa Cancel reply

Your email address will not be published. Required fields are marked *