कांग्रेसका जिल्ला सचिवको नेतृत्वमा गाउँपालिकामा आक्रमण भएको गुराँसका अध्यक्षको दाबी – Nepal Press

कांग्रेसका जिल्ला सचिवको नेतृत्वमा गाउँपालिकामा आक्रमण भएको गुराँसका अध्यक्षको दाबी

सुर्खेत । दैलेखको गुराँस गाउँपालिकामा करारका कर्मचारीहरुको आक्रमणबाट गाउँपालिकाको भवनमा ठूलो क्षति पुगेको छ ।

गाउँपालिकामाथि डाँडाबाट कर्मचारीहरुले ढुंगा बर्साउँदा कार्यालयको छाना दबेका छन् भने गाउँपालिका अध्यक्ष टोपबहादुर बीसीको कार्यकक्षमा क्षति पुगेको छ ।

करिब ६०० भन्दा बढी आन्दोलनकारीहरुको नेतृत्व पूर्वगाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका जिल्ला सचिव खेमराज वली, पूर्वजिल्ला सभापति कृष्ण बीसीलगायतले गरेका थिए ।

स्थानीयका अनुसार पालिका अध्यक्षसहित उपाध्यक्ष, वडाध्यक्षहरुलाई समेत कार्यालयमा ज्यान जोगाउन हम्मेहम्मे परेको थियो । आक्रमण हुँदा प्रहरीसमेत घाइते भएका थिए । जसले गर्दा प्रहरीले गोली चलाउनु परेको थियो ।

पालिका भवनमाथि ढुंगा प्रहार हुँदा केही दिनअघि उद्घाटन गरिएको भवनमा क्षति पुगेको छ ।

असार २९ गते बसेको १० औं गाउँसभाले करार सम्झौता असार महिनामा सकिने भएको र कसैलाई निकाल्ने नभई कर्मचारीको व्यवस्थापन गर्ने योजना रहेको भए पनि अराजकता प्रस्तुत भएको पालिकाका प्रवक्ता दीपेन्द्र ओलीले बताए ।

५४ लाखमात्रै राजस्व संकलन हुने गरेको, एक वर्षमा तीन करोड ८६ लाख बजेट तलबभत्तामा खर्च हुने गरेको छ । जनसंख्याको आधारमा कर्मचारी राखिने पालिकाको योजना थियो । उनले भने, ‘तर, अहिले गलत रुपमा व्याख्या गरिएको छ । यहाँको कर्मचारी म्याद थप बारेमा दलगत रुपमा विभिन्न भ्रामक प्रचार गरिएको छ ।’

पानीसमेत पिउन दिइएन, अराजकता देखाइयोः अध्यक्ष बीसी

गुराँस गाउँपालिका अध्यक्ष टोपबहादुर बीसीले कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा आन्दोलनकारीले कार्यकक्षमै थुनेको बताए । ‘बाहिर व्यापक हल्ला भइरहेको थियो । कार्यकक्षबाट बाहिर निस्कन दिइएन । पानी पिउनसमेत बन्द गराइयो’, उनले भने, ‘गाउँपालिकाको विकास निर्माण गर्नेबारेमा हामी छलफलमै थियौं । करारका कर्मचारीले राखेका मागहरुप्रति सकारात्मक नै थियौं ।’

विगतमा भए गरेका काम, विकास निर्माणसँग सम्बन्धित, कर्मचारीका व्यक्तिगत फाइलसमेत नभेटिएको उनले जानकारी दिए । ‘करारका कर्मचारीलाई काम गराउँदा मनलाग्दी गरेको पाइयो । चाहिनेभन्दा बढी कर्मचारी राखेको पाइयो’, अध्यक्ष बीसीले भने, ‘१५० जना कर्मचारी रहेको पुष्टि भएको छ ।’

उनले एकै पदमा रहेका कर्मचारीमा पनि सेवा सुविधा वितरणमा मनलाग्दी गर्ने गरिएको पाइएको बताए । उनका अनुसार नौ जना कार्यालय सहयोगी नियुक्त गरिएकोमा एकजनाले मात्रै काम गर्दै आइरहेका छन् । कार्यालय सहयोगीको नियुक्ति पाएकाहरुले नासु अधिकृतको परिचयपत्र बोकेर हिँडने गरेको पाइएको अध्यक्ष बीसीले बताए ।

बिहान ८ बजेदेखि नै ज्ञापनपत्र बुझ्न भनेर कार्यालयमा आएको बताउँदै उनले गाउँसभाले गरेको निर्णय कार्यान्वयन गर्नैपर्ने बाध्यता रहेको बताए पनि कर्मचारीहरुले अटेर गरेको बताए । त्यसपछि कांग्रेसका गुराँस सभापति चन्द्रप्रसाद भट्टराईसमेत आएर ज्ञापनपत्र बुझाएको उनको भनाइ छ ।

उनले सहमतिको प्रयास जारी रहे पनि यो मुद्दामा राजनीतिकरण गरिएको आरोप लगाए ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेबहादुर कार्कीमाथि समेत आक्रमण भएको बताउँदै बीसीले आफू सबैको जनप्रतिनिधिको रुपमा काम गर्न लागेको बताए । उनले आफूलाई मार्ने योजनाअनुरुप आक्रमण भएको दाबी गरे ।

उनका अनुसार सेवाग्राही कार्यालय, स्तनपान कक्षा, दर्ता चलानी, लेखा शाखा, सभाहलमा तोडफोड भएको छ । कार्यपालिकाको बैठक राखेर प्रक्रियाअनुसार अघि बढ्ने उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *