ऐया ! माया : काव्यिक धुनमा, रातो छाता र डायरीसँग मनसुनमा – Nepal Press
नाटक समीक्षा

ऐया ! माया : काव्यिक धुनमा, रातो छाता र डायरीसँग मनसुनमा

खाना खाँदा पनि तरकारीका चानाहरूलाई मसिनो पारेर खानुपर्ने मान्छे म । त्यसैले लाग्छ, छामेर मात्रै नपुग्दो रहेछ मलाई । खोस्रिन, केलााउन पर्ने रहेछ । जेलाई पनि मिहीन बनाएर हेर्नपर्ने रहेछ । खैर यो आदतले मलाई खानेबेला मात्र होइन सोच्न, हेर्न वा लेख्न बस्दा पनि छोडेन ।

अँ, एउटा नाटक हेरिसकेपछि केही लेखूँ न त भन्ने लागेर यतिबेला मैले आफूलाई पदमासनमा बसालेकी छु । नाटक फरक छ त मञ्चन अघिदेखि नै भनिँदै आएको हो । त्यसैले कसरी फरक छ भन्नेबारे पो चर्चा गरूँ !

नाटकको शुरूदेखि अन्त्यसम्म संगीत र संवेदनाको तालमा पात्रहरू नृत्य गरिरहन्छन् । संवेदना ठिक त्यसैगरी पोखिएको छ जसरी तपाईं पोख्नुहुन्छ । ऊ पोख्छ या फेरि म पोख्छु, जब हामी सम्पूर्ण रूपमा केवल आफैसँग हुने गर्छौं । प्रायः नाटकमा देखिइरहने जस्तो फगत अनुहारबाट मात्र होइन, शरीरबाट मात्र पनि होइन, आवाजबाट पनि संवेदना अभिव्यक्त गर्छन् ‘ऐया ! माया’का पाात्रहरूले ।

‘त्यो रातो छाता बोकेर, रातै गलबन्दी उनेर, रातै डायरी पल्टाएर, रातै खरबुजा बाँडिहिँड्ने पात्र को पो होला ?’

त्यसो त पात्रहरू संवाद थोरै बोलेर पनि धेरैथोक भन्न सक्षम छन् । यी नामविहीन पात्रहरूलाई दर्शकले अझैं नजिकबाट चिन्ने सुविधा पाएका छन् । यिनै अनाम पात्रलाई कौसीको मञ्चमा देखेपछि बोध भएको हो कि हामी नामधारी पात्रलाई भन्दा गहिरो गरी अनाम पात्रहरूलाई चिन्दा रहेछौँ ।

‘ऐया ! माया’मा त्यो रातो छाता बोकेर, रातै गलबन्दी उनेर, रातै डायरी पल्टाएर, रातै खरबुजा बाँडिहिँड्ने, हिँडेको हिँड्यै गरिरहने, केही खोजेझैं भौंतारिरहने, घरी आफैलाई खोज्न दौडिएजस्तो गर्ने, घरी दुनियाँलाई बुझ्न कुदेजस्तै गर्ने त्यो पात्रको नाम भइदिएको भए ! त्यही नामको आडमा कतै हामी उसको हुलियाको, हाउभाउको सतही छाँयालाई मात्रै पो मस्तिष्कमा टिपेर हिँड्थ्यौँ कि !

तर, उसको नाम नहुँदा उसलाई चिन्न हामीले उसैलाई चिन्न परेको छ या आफैलाई चिन्न परेको छ । उही पात्रसँग एकाकार हुनुपरेको छ पात्रलाई चिन्न ! उसको हाउभाउ र हुलिया मात्रलाई चिनेर पुगेको छैन । अवचेतनमै हामी उसको परिचय आफैसँग मागिसक्छौँ ।

‘त्यो रातो छाता बोकेर, रातै गलबन्दी उनेर, रातै डायरी पल्टाएर, रातै खरबुजा बाँडिहिँड्ने पात्र को पो होला ?’

‘प्रेम ! प्रेमको प्रतीक ! हो, ऊ मनुष्यको संसारबाट बिलाउँदै गइरहेको प्रेमको प्रतीक हो !’

हामी यसरी आफैंभित्र ऊसँग परिचित हुन्छौँ । उसको नाम हुन्थ्यो त हामी ऊ के गर्छ, के बोल्छ, के खान्छ, के लगाउँछ मात्र हेथ्र्याै सायद । खैर, ऊ नामविहीन भएकै हुँदा ऊ को हो भन्ने सवाल हाम्रो मगजमा नजाँनिदो गरी चलपलाइदियो ।

अहो ! पदमासनमा बस्दाबस्दा पनि गाह्रै भो । एउटा स्टडी टेबल नकिनी भएको छैन । खैर, अहिलेलाई भने यही पुन्टे टुलले काम चलाउनुपर्ला ! खासमा यो टुल मैले पानीको जार राख्न किनेकी थिएँ पोहोर साल । तर अहिले किचेन स्ल्याब भएको कोठामा सरेयता यसलाई मैले अरू अरू कामको लागि प्रयोग गर्न थालेकी छु । दिउँसोभरि यसमाथि एक गमला बिरुवा राखिदिन्छु । राति भएपछि गमलालाई भुइँमा ठाउँ दिएर यसमाथि तातोपानीको थर्मस र एउटा काँचको गिलास राखिदिन्छु । अनि, कहिलेकाहीँ यसैगरी ल्यापटपलाई बेडमा राखेर यही टुलमा बसेर के–के जाति लेख्न थालिदिन्छु ।

टुलको प्रयोग कतिसम्म कलात्मक हुनसक्ने रहेछ मलाई ‘ऐया ! माया’ हेर्नुअघि थाहा थिएन । अहो ! त्यो अँध्यारो मञ्चमा सेता टुल लहरै उत्तानो पारेर तिनमा टेक्दै हिँड्दा कलकल खोलामाथिको पुल तरेजस्तो ! अनि फेरि तिनै टुल सुल्टयाएर तिनमाथि टेक्दै हिँड्दा अग्ला अग्ला पहाड छिचोलेजस्तो !

सानो छँदा चचहुई गर्दै पिङ खेल्दा देख्ने गर्थेँ त्यस्ता मोटा डोरी । खैर, तिनका रङ प्राय खैरो हुने गथ्र्यो । तर, त्यस्तै मोटो डोरी ‘ऐया ! माया’मा पुनः देख्ने अवसर मिल्यो । रातो रङको मोटो डोरी जब मञ्चका दुई विकर्ण कुनामा बसेर दुई पात्रले तलमाथि गरेर हल्लाउन थाल्छन्, थिएटरको कलात्मक माहोलले छुन्छ । कालो पृष्ठभूमिमा एउटा मनमोहक रातो वक्र रेखा निरन्तर चलमलाउन थाल्छ । आँखा तिर्मिर्याए पनि मन लोभ्याउने त्यो चलायमान रेखामुनि वारिबाट छिरेर एउटा पात्र पारि तर्छ । तर, जीवनयात्रामा आइपर्ने जंघाररूपी त्यस वक्र रेखा छिचोल्न दोस्रो पात्र असमर्थ हुन्छ र ऊ जेलिन्छ त्यही डोरीमा । लड्छ, थिचिइन्छ, कुल्चिइन्छ र दुःख पाउँछ ।

अब उसले सुख पाउँछ कि पाउँदैन ? त्यो डोरीको के हुन्छ ? यो कथा नाटकले भनेको छैन । किनभने यो कथाभन्दा पनि कविता बोकेको नाटक हो । अर्थात्, पहिलो दृश्यलाई दोस्रो दृश्यले पछयाएको छैन, दोस्रोलाई न त तेस्रोले नै पछ्याएको छ । दृश्यपिच्छे पात्रको पात्रत्व फेरिएको छ । एउटा घाइते आम युवा भर्खरै एउटा लोकप्रिय नेता बनिदिन्छ र छिनमै बनिदिन्छ एउटा निराश, सामन्ती शासक । र भर्खरै, जीवनयात्राका जंघार र संघर्षको बिम्ब बनेको रातो डोरी अब कुनै प्रतिनिधि नेताको विजयमाला बनिदिन्छ ।

सीमित जनशक्तिको प्रयोगले अनेकौं पात्रको कथा अनि सीमित प्रप्सले अनेकौं बिम्ब ! नाटकले कविताको भाषामा बोलेको छ । बिम्ब र प्रतीकमा बोलेको छ । अलंकारमा बोलेको छ । दैनिक भागदौडका बीच बेलामौका निकालेर केही पल आँखा चिम्लेर आफ्नै साथमा बस्ने गरेको दर्शक ऊ होइन भने उसलाई नाटक बुझ्न हम्मे पर्नेछ । किनभने कविताको भाषा छिचोल्न उसमा ध्यान चाहिन्छ । उसका मनमगजमा गहिरिन सक्ने कान चाहिन्छ ।

यदि कविता चलायमान हुनसक्थ्यो वा कविताका संवेदनाले ध्वनी निकाल्न सक्थ्यो भने कवितामा प्राण केहीकथम भर्न सकिन्थ्यो भने त्यो मञ्चमा पुगेर ‘ऐया ! माया’ भएरै पोखिनेथ्यो ।

नाटकको शीर्षकमै ‘ऐया ! माया’ भएपछि थोरै चीत्कारका कुरा पनि गरिहालूँ । अँ, तल टिकट काउन्टर नजिकै कोही श्वासैश्वासले भन्दै थियो, ‘२०–२५ जना जति त चिनेकै अनुहार रहेछन् । हामी सँगै आएको कसैले थाहा पायो भने ?’

म निर्धक्क भन्न सक्छु नाटकमा जब पात्रहरू ‘हामीलाई कसैले सुन्यो भने, हामीलाई कसैले देख्यो भने, हामीलाई कसैले रोक्यो भने, हामीलाई कसैले छेक्यो भने’ भन्दै त्रासको चरम अभिव्यक्ति दिँदै थिए, तब त्यो जोडीको श्वास छातिमुनि ढक्क फुलेको हुनुपर्छ, पाखुरा र पिठ्युँमा काँडा पक्का उठेको हुनुपर्छ !

यस अर्थमा नाटकले दर्शकलाई नै आफ्नो पात्र बनाएको छ । तबलाको धूनसँगै शुरू भएको नाट्य माहोलमा नृत्यको भाषामार्फत् दुई जोडी पात्र एकापसमा केही खोज्छन्, कहिले जोडी साटिन्छन् त कहिले चारैजना चारतिर बाँडिन्छन् । कहिले एकापसमा प्रेम खोजेजस्तो, कहिले आफैसँग आफ्नै अस्तित्व खोजेजस्तो त कहिले अचानक प्रेमीसँग विछोडिए जस्तो, कहिले आफैबाट हराएजस्तो पनि । काहिले प्रेममा मग्नमस्त, कहिले सशंकित–त्रस्त । कहिले लाग्छ यो समलिङ्गी अस्तित्वको अभिव्यक्ति हो, कहिले लाग्छ अन्तर्जातीय प्रेमको वकालत ।

खैर, यस तौरले दर्शकको चित्तशुद्धीका लागि पनि ‘ऐया ! माया’का चीत्कार सहयोगी ठहरिनु नेपाली रंगमञ्चको वर्तमान र भविष्यको शुभसंकेत समेत हो ।

झाँक्न जान्यो भने एउटै मान्छेभित्र ब्रह्माण्ड भेटिन्छ भनेजस्तै ‘ऐया ! माया’का एउटै पात्रहरूमा अनेकौं पात्रत्व पाइन्छ । र तिनले उजागर गरेका अनेकौं संवेदनाले दर्शकले आफूभित्र बोकेर हिँडेका हरसम्भव मनोदशाहरूलाई त्यही एउटै मञ्चमा छताछुल्ल पारिदिन्छन् । कौसीको त्यो मञ्च र दर्शकका मन सबैतिर एकसाथ सन्नाटा छाउँछ भने एकसाथ स्वर मचिन्छ ।

‘ऐया ! माया’ले अलंकार सँगसँगै सामाजिक विकृति र विभेदविरुद्धसमेत मुठ्ठी कसेको छ । कलात्मक अन्दाजमा विरोध गरेको छ । अन्तर्जातीय प्रेम गरेकै कारण जिन्दगीको यात्रामा भेटिने डाँडा–खोला, सजिलो–अप्ठयारो सँगसँगै पार गर्ने वाचा गरेर एकापसमा मन्दमग्न जोडीलाई छुटाउन सिङ्गो गाउँ खनिन्छ । खाली प्रेम गरेको कसुरमा एउटा तथाकथित दलितलाई तथाकथित उपल्लो जातीको बस्ती नै लागेर लखेटी लखेटी निर्ममसँग कुटपिट गरी मारेको कहालीलाग्दो त्यो रुकुम घटनाविरुद्ध ‘ऐया ! माया’ले साच्चै नै ‘ऐया !’ हुनेगरी न्याय मागेको छ ।

सडकमा उत्रिएर सरकारसँग मागिएको न्यायभन्दा नाटकका टोलीलाई लाग्यो होला थिएटरको मञ्चबाट मागिएको न्याय अझै प्रभावशाली हुन्छ । लाग्यो होला, घटना घटिसकेपछि सडकमा उत्रिनुभन्दा घटना नै हुन नदिनु बढी न्यायपूर्ण हो । ‘ऐया ! माया’ले आफूसम्म आइपुगेका दर्शकहरूलाई पक्कै यो विश्वास गरेर अभिभारा सुम्पिएको हुनुपर्छ कि जातीय विभेदको उन्मुलनका लागि बौद्धिक भनिने समाजले नै अग्रसरता देखाउनेछ । अपेक्षा गरूँ, ‘ऐया ! माया’को यो विश्वास बौद्धिक सचेत समाजले निभाउनेछ ।

नाटकमा दृश्य हेरिरहँदा म निचोरिएकी हुँ भित्रैदेखि । त्यहाँबाट निस्किएर कोठासम्म आइपुग्दा केही प्रश्न मेरो अमिलो हृदयमा तप्किएका हुन् । म कुनै पनि मान्छेसँग उसको जात नसोधी साथी हुन सक्छु कि सक्दिनँ ? जात जे सुकै भए पनि थाहा पाएपछि त्यस मित्रतामा मेरोतर्फबाट कुनै पनि किसिमको फरक पर्छ कि पर्दैन ? पहिलोमा सकारात्मक र दोस्रोमा नकारात्मक भावको जवाफ पाएपछि बल्ल मैले आफैलाई आफ्नै मनको कठघराबाट मुक्त गरेँ । एउटा भारी निश्वास बिसाएसँगै तब मात्र मैले महसुस गरेँ कि मेरो त श्वाससमेत नाटकको बीचतिरैदेखि दबिएको रहेछ ! मलाई तब निकै हलुका महसुस भयो ।

खैर, यस तौरले दर्शकको चित्तशुद्धीका लागि पनि ‘ऐया ! माया’का चीत्कार सहयोगी ठहरिनु नेपाली रंगमञ्चको वर्तमान र भविष्यको शुभसंकेत समेत हो ।

नाटकले अन्य धेरै मुद्दालाई उठाएको छ । लगातार बिग्रँदो देशको राजनीति, जनतामाथि सत्ताले गरेको ज्यादति, महिलाहरूमाथि दिनदिनै घटिरहेका बलात्कार र यौन दुव्र्यवहारका घटना, ती घटनामाथि हुने गरेका लज्जास्पद टीकाटिप्पणी र त्यस्ता टीकाटिप्पणीले निम्त्याएका सामाजिक–मानसिक द्वन्द्व–दुर्घटना ! नाटकले थोरै समयमा थोरै जनशक्तिको प्रयोग गरी धेरैथोक भनेको छ ।

नाटकले सामान्य लाग्ने सामग्रीको प्रयोगले गहन विचार र संवेदनाको उजागर गरेको छ ।

काल्यकालमा सुनिएको एक गीत छ, ‘कुखुरी काँ ! बासी भात खा !’ यो बाल गीत नसुनी सायदै कसैको बाल्यकाल घर्कियो होला ! तर, कसले कल्पना गरेको थियो होला कि यो बच्चा फकाउन गाइने गरेको एउटा मामुली सुनिने गीत कुनै दिन न्यायको आवाज बन्न पनि सक्नेछ, आन्दोलन बन्न पनि सक्नेछ ! इमानदार भएर भन्दा मैले ‘ऐया ! माया’ हेर्न छुटाउँथे भने मेरो बाल्यकाल मभित्र अज्ञानी नै मर्ने थियो । हामी हरेक नेपालीको बचपन कति सचेत र विद्रोही रहेछ, हामीले कहिल्यै चालै पाएनछौँ ।

समाज र देशमा आजसम्म हुँदै आइरहेका समस्त विकृतिलाई ‘कुखरी काँ ! बासी भात खा !’ ले दुरुस्तै चित्रण गरेको पठन–लेखनमै लागेर पनि आजसम्म बुझ्न सकेकी रहिनछु । यो एउटा उपहासको उदाहरण मात्रै नभएर ‘ऐया ! माया’को अथाह सिर्जनशीलताको प्रमाणसमेत हो ।

सबै किसिमका सामाजिक विकृति एवं मानसिक द्वन्द्वको हल पनि ‘ऐया ! माया’ले बडो बिम्बात्मक शैलीमा सुझाएको छ । त्यो गलामा रातो गलबन्दी उनी रातै छाता बोकेर जतिबेलै केही खोज्दै भौँतारिई हिँड्ने पात्रले आखिरमा सबै समस्याको एउटै हल फेला पार्छ– प्रेम ! ऊ सबैलाई रातै खरबुजा खुवाउँछे, प्रेम बाँडी हिँड्छे ।

खरबुजा बाँडिहिँडेकी उसले खरबुजाका बोक्राहरू आफै फिर्ता लिन्छ । चाहे त्यो नेताले जनतालाई दिएको प्रतिबद्धता होस्, चाहे राज्यले दिएको आश्वासन या परिवार, आफन्त वा इष्टमित्रले दिलाएको भरोसा होस् । या चाहे त्यो प्रेम गर्नेहरूले जगाएको प्रेम नै किन नहोस्, मानवीयता बाँचिरहनका लागि, समानता कायम रहनका लागि, शान्ति र सन्तुलन बनिरहनका लागि हरेक ठाउँमा जवाफदेहीताको महत्ता त अवश्य नै हुन्छ । शहरमा फोहर व्यवस्थापनको विषयले व्यापक चर्चा पाइरहँदा आफूले खुवाएको खरबुजाको बोक्रा आफैले समेटेर ‘ऐया ! माया’को त्यस रातो पात्रले जिम्मेवारी, कर्तव्य र दायित्वबोधको महत्व दर्शाएको छ ।

नाटकमा प्रकाश र धुवाँलाई सम्पूर्ण नाटकभरि यसरी चलाइएको छ कि संवेदनाको बहावमा दर्शकहरू पात्रको समानान्तर बगिरहन्छन् र उनीहरूको भावदशाका अघि नत भइदिन्छन् । त्यो काइदाले दर्शक आकर्षित होइन सम्मोहित भइदिन्छन् ।

‘ऐया ! माया’ नाटक हुँदाहुँदै एउटा यस्तो कविता हो, जसका अक्षरहरू रंगमञ्चमा उत्रिएर नृत्य गरिरहेका छन्, साधना गरिरहेका छन् । अनुभूतिलाई वर्णन गर्ने दुस्साहस हो यो, सहज त किन हुन्थ्यो ? तर, आज मञ्चनको अन्तिम दिन, ‘प्रिमियर शो’ हेरेदेखिको हयाङओभर अझै उत्रिनसक्दा ‘क्लोजर’मा यसरी बिसाउन पुगेछ । ‘ऐया ! माया’ यथार्थमै शराबी ! बिम्बको मात, विचारको नशा, विद्रोहको मदहोसी, प्रेमको नतमग्नता, कलात्मकताको पराकाष्ठा !

०००

तस्बिर : उमेश सापकाेटा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.