पूर्वकानूनमन्त्री भण्डारीले किन मागे मुख्यमन्त्री शाहीको राजीनामा ? (भिडिओ) – Nepal Press

पूर्वकानूनमन्त्री भण्डारीले किन मागे मुख्यमन्त्री शाहीको राजीनामा ? (भिडिओ)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मुख्यमन्त्री जीवनबहादुर शाहीको राजीनामा मागिएको छ । नेकपा माओवादीका नेता एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश सभामा दर्ता गराएका गैरसरकारी विधेयक पारित गर्न सरकारले आनाकानी गरिरहेको भन्दै आज प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

नेता भण्डारीका अनुसार आज जुम्लामा समेत विरोध प्रदर्शन गरिएको छ । कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता भएका तीन वटा विधेयक अविलम्ब पारित गर्न दबाबमूलक विधेयक ऐक्यबद्धता कार्यक्रम गरिएको हो ।

विधेयक सरोकार समाजले प्रदेशसभा बाहिर विधेयक ऐक्यबद्धता कार्यक्रम गरेको हो । सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नवप्रवर्तन अन्वेषण तथा आविस्कार विधेयक अविलम्ब पारित गर्न सांसद र सरकारलाई दबाब दिन विरोध प्रदर्शन गरिएको छ ।

पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सरकारका तर्फबाट तत्कालीन् सामाजिक विकासमन्त्री विमला केसीले संसदमा टेबुल गरेकी थिइन् । अन्य दुई वटा विधेयक गैरसरकारी विधेयकका रुपमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद भण्डारीले संसद सचिवालयमा दर्ता गरेका हुन् ।

पूर्वमन्त्री भण्डारीले ८० प्रतिशत पारित हुने गरी प्रगति भइरहेका विधेयक पारित नगरी सरकार जनपक्षीय काम गर्नबाट चुकेको प्रतिक्रिया दिए । ‘सरकारले विधेयक पारित गर्न भूमिका खेल्नुपर्छ’, उनले भने, ‘नभए आन्दोलनका थप कार्यक्रमहरु सार्वजनिक हुनेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर