एसियाली च्याम्पियनसिपमा सहभागी हुने जुडो टोलीको बिदाइ – Nepal Press

एसियाली च्याम्पियनसिपमा सहभागी हुने जुडो टोलीको बिदाइ

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने जुडो टोलीलाई बिदाइ गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य-सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहालले शुक्रबार चार खेलाडीसहित ८ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् ।

सदस्य–सचिव घिसिङले राष्ट्रलाई सम्झेर उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीको हौसला अभिवृद्धि गरे ।

क्याडेटमा २ र जुनियरमा २ गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । क्याडेट/जुनियरमा १-१ पुरुष/महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जुनियर पुरुष ६० केजीमुनि उत्तम प्रधान श्रेष्ठ र महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ सहभागी हुनेछन् ।

क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र महिला ४८ केजीमुनि निशा श्रेष्ठले खेल्नेछन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् ।

टोली प्रमुखमा नेपाल जुडो संघका अध्यक्षसमेत रहेका जुडो युनियन अफ एसिया (जेयूए) का एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य दीपकहर्ष बज्राचार्य रहेका छन् । टीम व्यवस्थापकमा दावा ग्याल्जेन शेर्पा तथा प्रशिक्षकमा दीपक श्रेष्ठ छन् ।

जुडो संघका खेलकुद निर्देशक सुप्रसिद्ध ताम्राकार पनि टोलीसँग बैंकक जानेछन् । साउन १ देखि ७ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली शुक्रबारै थाइल्यान्ड प्रस्थान गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *