रेणु यादवद्वारा जसपाकाे पदीय जिम्मेवारी परित्याग (विज्ञप्तिसहित) – Nepal Press

रेणु यादवद्वारा जसपाकाे पदीय जिम्मेवारी परित्याग (विज्ञप्तिसहित)

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री रेणुकुमारी यादवले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

जसपाकी संस्थापक नेतृ यादवले व्यक्तिगत कारणले पदीय जिम्मेवारीमा रहन नसक्ने भन्दै सबै जिम्मेवारी परित्याग गरेको विज्ञप्तिमार्फत जनाएकी छन् ।

जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले अलग-अलग बैठक बोलाएर पार्टी विभाजनको तयारी भइरहेका बेला कार्यकारिणी समिति सदस्य तथा सांसद यादवले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

उनी आफूलाई सरकारबाट फिर्ता बोलाएकोमा उपेन्द्र यादवसँग असन्तुष्ट थिइन् । उपेन्द्रसँग घनिष्ठ सम्बन्ध रहे पनि उनले पार्टीभित्र आफूमाथि अन्याय भएको बताउँदै आएकी थिइन् ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमदेखि नै उनी सँगै थिइन् ।

यादवले जारी गरेको विज्ञप्ति

मितिः २०७९ असार ३०
आदरणीय अध्यक्ष ज्यू,
जनता समाजवादी पार्टी (जसपा) नेपाल

विषयः पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा ।

म रेणुकुमारी यादव करिव १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थितिमा विभिन्न बाधा–अवरोध, उतारचढाव र आरोह–अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारी र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ ।

विभिन्न कालखण्डमा पार्टी पटक–पटक टुटफूट र अनेक किसिमको पड्यन्त्रका सिकार भइरहँदा पनि आफू विचलित नभई सदैव मधेस र मधेसी जनतालगायत सम्पूर्ण उपेक्षित वर्ग र समुदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ ।

यहाँहरुको साथ–सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रही काम गर्ने सुनौलो अवसर पाएँ । पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रही इमान्दारी, निष्ठापूर्वक पूर्ण जिम्मेवार भई आफ्नो पदीय जिम्मेवारीलाई पूरा गर्न भरपूर प्रयास गरेको छु । मैले आफ्नो कार्यकालमा के–कस्ता कामहरु गरे त्यसको तुलनात्मक समीक्षा पार्टीले पछि आवश्य नै गर्नेछ ।

यहाँहरुसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाएँ ।

यद्यपि वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।

पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोग प्रति म कृतज्ञता र आभारी रहनेछु । साथै मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छु ।
धन्यवाद ।

रेणु कुमारी यादव
केन्द्रीय कार्यकारणी सदस्य एवं
केन्द्रीय सदस्य
जनता समाजवादी पार्टी नेपाल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर