ई-स्पोर्ट्सबारे बालेन्द्रको प्रष्टीकरण: कुनै अमूक संस्थालाई बजेट छुट्याइएको छैन – Nepal Press

ई-स्पोर्ट्सबारे बालेन्द्रको प्रष्टीकरण: कुनै अमूक संस्थालाई बजेट छुट्याइएको छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाले ई-स्पोर्ट्सको विकासका लागि भन्दै एक करोड रुपैयाँ बजेट छुट्याएको विषयमा विवाद उत्पन्न भएपछि मेयर बालेन्द्र साहले मुख खोलेका छन् । बजेटमा विनियोजित रकम कुनै अमूक खेल वा संस्थाका लागि नभएको उनको प्रष्टीकरण छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले ई-स्पोर्ट्सलाई व्यवस्थित र सिर्जनशील बनाउन महानगरले बजेट छुट्याएको बताएका हुन् । कानूनले तोकेबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेटको कार्यान्वयन हुने उनको भनाइ छ ।

‘यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु’, बालेनले भनेका छन् ।

उनको स्टाटस यस्तो छ:

सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा उठेको प्रसंगका विषयमा ध्यानाकर्षण भएको छ ।

ई-स्पोर्टसका लागि छुट्याइएको बजेट कुनै अमुक संस्था वा खेलका लागि होइन । आधुनिक विश्वमा ई-स्पोर्टस खर्बौंको आर्थिक योगदान गर्ने विधा हो । नेपालमा पनि यसको व्यवसायिक पाटो बढ्दैछ भने यही वर्ष हुने एसियाली खेलमा ई-स्पोर्टस पनि समावेश हुनेछ र योग्य रहेमा नेपाली ई-स्पोर्टसका खेलाडीहरुले पनि सहभागी भएर राष्ट्रको गरिमा बढाउन सक्नेछन् । यसलाई व्यवस्थित र सिर्जनशील बनाउनका लागि महानगरले बजेट छुट्याएको हो ।

कानूनले तोकिएबमोजिमको प्रक्रिया अपनाएर पारदर्शी किसिमले बजेट कार्यान्वयन हुनेछ । फलानो संस्था वा फलानो खेलका लागि सुनिश्चित गर्ने जस्ता गैरकानुनी र अनैतिक कार्यमा महानगर सामेल हुनेछैन ।

साथसाथै यो विषयलाई लिएर अतिरञ्जित र अनैतिक रुपमा मेरो नाम जोडिएका समाचारहरुको खण्डन गर्दै पत्रकारिताको मर्यादाभित्र बसेर आफ्नो कार्य गर्न, गराउन अनुरोध गर्दछु ।

महानगरले ई-स्पोर्ट्सका लागि छुट्याएको १ करोड रकम रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेललाई दिन लागिएको भन्दै केही सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर