मध्यपुर थिमिको स्वगां पुखुमा के गर्ने ? नयाँ जनप्रतिनिधि नै अन्योलमा – Nepal Press

मध्यपुर थिमिको स्वगां पुखुमा के गर्ने ? नयाँ जनप्रतिनिधि नै अन्योलमा

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ६ चपाचोस्थित स्वगां पुखु (पोखरी) ५ वर्षदेखि अलपत्र छ । पोखरीमाथि बनाइएको वडा कार्यालय भवन नयाँ बनाउने भन्दै भत्काएपछि पोखरी परिसर ५ वर्षदेखि अलपत्र पर्दै आएको हो ।

नयाँ भवन बनाउने भन्दै निवर्तमान मेयर मदनसुन्दर श्रेष्ठले जगसाइतसमेत गरेका थिए । पोखरीमाथि आधुनिक वडा कार्यालय भवन बनाउने गरी जगसाइत गरेपछि स्थानीयले विरोध गरेका थिए । उनीहरुले बालकुमारी क्षेत्रका दुईपोखरीजस्तै स्वगां पुखु पनि पोखरीकै रुपमा संरक्षण गर्नुपर्ने भन्दै पोखरीमथि भवन बन्न नदिने अडान लिए ।

स्थानीयले नयाँ पोखरी बनाउन नसकिने तर भवन जहाँ पनि र जति पनि बनाउन सकिने भन्दै पोखरीमाथि वडा कार्यालय नबनाउन दबाब दिए ।

पाँच वर्षदेखि अलपत्र पाेखरी । जहाँ झारपातले भरिएकाे छ ।

पोखरीलाई पहिलेकै स्वरुपमा दिनुपर्ने आवाज उठेपछि नगरपालिका वडा कार्यालय भवन बनाउने कार्यबाट पछि हट्यो । नपाले स्थानीयसँग छलफल गरे पनि पोखरीमाथि वडा कार्यालय बनाउन दिनुपर्ने र दिन नहुने गरी दुई पक्षमा विभाजित भएपछि त्यसले निकास पाउन सकेन । विवादबीच वडा कार्यालय नबन्ने भएपछि पोखरीको संरक्षण कार्य हुन सकेन । जसले गर्दा अहिले पोखरी झारपातले भरिएको छ ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै स्थानीयहरुले पुनः स्वगां पुखु संरक्षण गर्न नपाको ध्यानाकर्षण गरेका छन् । उनीहरुले पोखरीमाथि भवन बनाउने वा नबनाउने छिटो निक्र्योल गर्न मेयर सुरेन्द्र श्रेष्ठको ध्यानाकर्षण गरेका हुन् ।

मेयर श्रेष्ठले छिट्टै स्थानीय वडावासीसँग बैठक गरेर निर्णय गरिने जानकारी दिए । ‘छिट्टै वडावासीसँग बैठक गर्दैछौं’, उनले भने, ‘उहाँहरुले जे भन्नुहुन्छ, त्यहीं गर्छौं । भवन बनाउने भने पनि नपासँग बजेट छ, पोखरीमात्रै संरक्षण गर्ने भने पनि हामी तयार छौं ।’

२०३४ सालमा ठड्याइयो पोखरीमथि भवन

२०३४ सालमा पाेखरीमाथि बनाइएकाे भवन ।

पोखरीमाथि २०३४ सालमा भवन ठड्याइएको थियो । तत्कालीन चपाचो गाउँ पञ्चायतको कार्यालय राख्न उक्त भवन बनाइएको स्थानीय श्रीराम चक्रधर बताउँछन् । पञ्चायत ढलेपछि उक्त भवनमा गाउँ विकास समितिको कार्यालय सञ्चालन भयो ।

त्यस्तै २०५३ सालमा चैत १४ गते तत्कालीन बोडे, नगदेश, चपाचो, बालकुमारी र दिव्यश्वरी गाउँ विकास समिति गाभेर बनेको मध्यपुर थिमि नगरपालिकाको सुरुको कार्यालयसमेत यही भवनबाट सञ्चालन गरिएको थियो । पछि ठाउँ साँघुरो भएको भन्दै ठिमी हेल्थ पोस्ट रहेको भवनमा नपा कार्यालय सर्‍यो भने उक्त भवनमा वडा नं ७ र ८ गरी दुइटा वडा कार्यालय सञ्चालनमा ल्याइएको चक्रधर बताउँछन् ।

संघीयता लागू भएसँगै १७ वटा वडा रहेको मध्यपुर थिमिलाई ९ वटा वडामा झारेपछि २०७४ सालसम्म यस भवनमा वडा नं ५ र ६ को कार्यालय सञ्चालन गरिएको थियो । २०७४ सालमा स्थानीय तह निर्वाचन सम्पन्न भई जनप्रतिनिधि आएपछि २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको उक्त भवन वडा नं ६ को कार्यालय र सहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरियो ।

त्यसको एकवर्षपछि २०७५ सालमा नयाँ भवन बनाउने भन्दै पोखरीमाथिको संरचना भत्काइएको नपाले जनाएको छ । त्यही वर्ष तत्कालीन मेयर मदनसुन्दर श्रेष्ठले वडा कार्यालय भवनको जगसाइत गरेका थिए । तर, अहिलेसम्म भवन ठडिन पाएन ।

के पोखरी ऐतिहासिक हो ?

२०३४ सालमा बनाइएकाे संरचना भत्काइएपछिकाे पाेखरी ।

स्थानीयका अनुसार पोखरी नेपाल संवत् ३०८ मा बनाइएको हो । यस हिसाबले पोखरी अस्तित्वमा आएको ८३४ वर्ष भइसकेको छ । तर, यो पोखरी नै भनेर बनाइएको भने होइन । पोखरीको दक्षिणस्थित जिस्वाँ बहाः बनाउन माटो लिने क्रममा उक्त ठाउँमा खाल्डो बनेको थियो । ‘बहाँ बनाउन माटो निकाल्ने क्रममा उक्त ठाउँमा खाल्डो बन्यो’, स्थानीय चक्रधरले भने, ‘पछि वर्षाको पानी जम्मा भएर पोखरी नै बन्यो । स्थानीयले पोखरी नै रहन दिए ।’

पोखरीमा पानीको प्राकृतिक मूल भने छैन । यसको वरिपरिका सर्वसाधारणको घरबाट बगेर आएको वर्षाको पानी नै यसमा जम्मा हुनेगर्छ ।

त्यसैले वर्षा मौसममा पानी भरिने पोखरी चैतबैशाख लाग्दै आएपछि सुकेर खङ्रङ हुन्थ्यो । पानी सुक्ने बेला पोखरी कुरुपसमेत देखिने स्थानीय बताउँछन् । त्यसैले पोखरीमा १२ महिना पानीको व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

अब के गर्ने ?

पाेखरीमाथि बन्ने वडा कार्यालयकाे डिजाइन ।

पोखरी संरक्षण गर्नुपर्नेमा सबै एकमत छन् । तर, पोखरी संरक्षण गर्दा ४० वर्ष बढी अस्तित्वमा रहेको भवन बनाउने कि नबनाउने ? एकपक्ष भवन बनाउनुपर्ने र अर्को पक्ष भवन बनाउन नहुने भन्छ । त्यसैले नपाले निर्णय दिन सकेको छैन । स्थानीय सुनिल प्रजापति सम्पदा संरक्षण गरेर नगरलाई पर्यटकीय गन्तव्य बनाउन पोखरीमात्रै बनाउनुपर्ने बताउँछन् ।

भवन बनाउँदा पोखरीको अस्तित्व धरापमा पर्ने उनी तर्क गर्छन् । ‘पहिले भवन भएकाले अहिले पनि बनाउनुपर्छ भन्ने हो भने ४० वर्षअघि पोखरीमात्रै थियो त । त्यसो भए किन पोखरीमात्रै नबनाउने ?’, प्रजापति प्रश्न गर्छन्, ‘पोखरीको प्राचीन रुप नै बिगार्ने गरी अहिले भवन बनाउनु उचित हो ?’

उनले ऐतिहासिक पोखरीमाथि कुनै हालतमा भवन बन्न नदिने चेतावनी दिए ।

त्यस्तै अर्का स्थानीय श्रीराम चक्रधर भने पोखरी र भवन दुवै बन्नुपर्ने बताउँछन् । पोखरीमाथि बनेको भवन हेर्न स्वगां पुखु पुग्नेहरुको संख्या कम नभएको भन्दै उनले आन्तरिक पर्यटनको गन्तव्य बनाउन पहिले जस्तै पोखरीमाथि भवन बन्नुपर्ने सुनाए ।

‘यसको लागि पोखरीको सुन्दरता र मौलिकता नगुम्ने बरु झन् ख्याति बढ्ने र भवन पनि भद्दा नदेखिने गरी डिजाइन गर्नुपर्छ’, चक्रधरले भने, ‘भवन पोखरीको क्षेत्र ओगट्ने गरी बन्नुहुँदैन । सबैले आहा भन्ने गरी नयाँ डिजाइन तयार गर्नुपर्छ र वडावासीसँग छलफल गरेर त्यसलाई अन्तिम रुप दिनुपर्छ ।’

उनले पोखरीलाई अलपत्र राख्नेभन्दा छिटो एउटा न एउटा निकास दिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *