प्रचण्डको टिप्पणी- एकथरी नेता संघीयता खारेज गरौं भन्दैछन्, त्यसले लाने निरंकुशतामा हो (भिडिओ) – Nepal Press

प्रचण्डको टिप्पणी- एकथरी नेता संघीयता खारेज गरौं भन्दैछन्, त्यसले लाने निरंकुशतामा हो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘एकथरी शक्ति’ देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजान खोजिरहेको बताएका छन् ।

अल्टरनेटिभ फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति सम्वाद’ कार्यक्रममा बोल्दै उनले भने, ‘तपाईँहरूले सुन्नुभएको होला आजभोलि केही नेताहरू त खुलेआम संघीयता खारेज गर्नुपर्छ अब भन्ने कुरा बोलेका छन् । त्यो जाने भनेको निरंकुश राजतन्त्रकै ठाउँमा हो । त्यल्ले लाने उही ठाउँमा हो ।’

केही दिनअघि एमाले अध्यक्ष ओलीले सम्पादकसँगको अन्तरक्रियामा संविधान बनाउँदा जति विचार गर्नुपर्थ्यो गर्न नसकिएको भन्दै संघीयता सफल भएन भने परिवर्तनका लागि सबै तयार हुनुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डले पुरानो सोचमा हुर्किएका पात्र र पार्टीलाई हिँडिराखेको, जानिराखेको बाटो हिँड्न मान्छेलाई सजिलो हुने र वैज्ञानिक हुन धेरै गाह्रो हुने बताए ।

‘संविधान बनाउँदा भएका छलफल म सम्झिरहन्छु । एकथरी साथीहरू जो हिजो नेपालमा गणतन्त्र सम्भव छैन छिट्टै या संविधानसभा सम्भव छैन भन्ने ठान्थे,’ उनले भने,‘उनीहरूले भनेको शब्द म सम्झिन्छु के भाउतु ल्याइदिए, गाविस ठिकै थिए नि वडाहरू ठिकै थिए नि । एकात्मक व्यवस्था ठिकै थियो, राजतन्त्र ठिकै थियो भन्ने उहाँहरूलाई लागिराख्यो ।’

त्यो शक्तिको अहिले पनि संघर्ष चलिराखेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संविधानले माग गरेअनुसारका नयाँ ऐन ल्याउँदा एकथरी पार्टी र नेतालाई फलामको च्युरा भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर