बौद्ध धर्मावलम्बीको वर्षावास सुरु – Nepal Press

बौद्ध धर्मावलम्बीको वर्षावास सुरु

रुपन्देही । बौद्ध धर्मावलम्बीको पर्व वर्षावास बुधबारदेखि सुरु भएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्पराअनुसार लुम्बिनीको राजकीय बुद्ध विहारमा यसको शुभारम्भ गरिएको छ ।

भगवान् बुद्धले प्रतिपादन गरेका २२७ नियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा विहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावास भनिन्छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।

यो पर्व मनाउन बौद्ध धर्मावलम्बी लुम्बिनीमा जम्मा भएका छन् । देशभित्रबाट मात्रै नभएर विभिन्न देशमा रहेकाहरु अहिले बुद्धजन्मस्थलमा यो पर्व मनाउन जम्मा भएका हुन् ।

वर्षावास शुभारम्भ भएसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षुहरु वर्षावास बसेका छन् । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव तथा किराहरु बाहिर निस्कने हुँदा बाहिर हिँड्डुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षावास बस्ने गर्छन् ।

तीनमहिने वर्षावास तथा धार्मिक अनुष्ठान कार्यक्रमको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शुभारम्भ गरेका हुन् ।

वर्षावास भनेको भिक्षुहरु तीन महिना एकै विहारमा बसेर अध्ययन एवम् चिन्तन मनन गर्नु हो । वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवतजावत गर्न गाह्रो हुने तथा हिँड्डुल गर्दा किरा फट्याङ्ग्रा कुल्चने डर हुने भएकाले भगवान बुद्धले वर्षावासको व्यवस्था गरेको बौद्वधर्मावलम्विहरूको भनाइ छ ।

सिद्धार्थ गौतमले आषाढ पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गरेका थिए । उनले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण (घरबार त्याग) गरेको बौद्ध शास्त्रमा उल्लेख छ ।

अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले पहिलो पटक पाँचजना ब्राह्मणलाई शिक्षा दिएका थिए । त्यसलाई धर्मचक्र प्रवर्तन भनिन्छ अर्थात् आषाढ पूणिर्माकै दिनदेखि बुद्ध धर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ ।

वर्षावास बस्नुअघि भिक्षुहरूको सिमानाभित्र रहेको उपोसधगारमा भिक्षुसंघमाभेला हुनु जरुरी छ । यसपछि भिक्षुसंघको संघनायक अगाडि आफूले जानी नजानी गरेका भूल वा दोषहरू स्वीकार गरी क्षमादान गर्न आह्वान गरिन्छ ।

यस अवसरमा आफूले भोगेका पीर मर्का कठिनाइ र आफूले गरेका भूल भिक्षुसङ्घ अगाडि आफूभन्दा ज्येष्ठ भिक्षु सामुन्ने संयमित भई क्षमायाचना गरी पवारण विनय पालन गरिन्छ । कठिन दानको अवसरमा पूजा पाठ गरी दान शील भावना राखी प्रवचन सुन्ने र भिक्षुगण, अनागरिक र अन्य श्रद्धालु भक्तजनलाई समेत निमन्त्रणा गरी भोजन दान गर्ने प्रचलन रहेको छ ।

भिक्षुहरूको तीनमहिने वर्षावास अधिष्ठान सकिएको अवसरमा स्थानीय विहारका उपासक उपासिकाले खुसीले कठिन उत्सव मान्ने परम्परा छ । उपासक उपासिकाबाट वर्षावास बसेका भिक्षुलाई कठिन चीवर दान गर्ने परम्परा रहेको बौद्ध धर्मावलम्बीहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर