कांग्रेस नेताहरूको संगठित स्वर- महामन्त्री ‘मिडिया मेन’ भए, केटौले होइन जिम्मेवार बन्नुस् – Nepal Press

कांग्रेस नेताहरूको संगठित स्वर- महामन्त्री ‘मिडिया मेन’ भए, केटौले होइन जिम्मेवार बन्नुस्

काठमाडौं । मिडिया खपतका लागि पार्टीले दिएको पद दुरुपयोग गरेको भन्दै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन कुमार थापाको चर्को आलोचना भएको छ ।

बुधवारको बैठकमा ४८ जनाले बोलेकोमा धेरै सदस्यले महामन्त्रीहरूको भूमिकाप्रति प्रश्न उठाएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।

महामन्त्रीहरूले पार्टीको आधिकारिक दृष्टिकोण बोल्नुपर्छ,मिडियामा जे बिक्छ त्यो बोल्ने होइन भन्ने कुरा उठेको खतिवडाले बताए ।

बैठकमा रमेश रिजाल, राजीव ढुंगाना, केशवकुमार बुढाथोकी, रामजनम चौधरी लगायतका नेताहरूले महामन्त्रीहरूको भूमिका केटौले पाराको भएको र मिडिया तथा सोसल मिडियाको स्टन्टमा रमाएको भन्दै जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।

केन्द्रीय सदस्य रिजालले महामन्त्रीहरू मिडिया केन्द्रित भएको र ट्विट गरेर रमाउने गरेको भन्दै अतिवादमा नजान आग्रह गरेका थिए ।

त्यस्तै अर्का नेता केशव कुमार बुढाथोकीले शेखर कोइारालाहरुलाई पार्टी कार्यालयमै भेला गर्न दिनुपर्ने भन्दै महामन्त्रीहरूले गुटबन्दी गर्ने हो भने आफूहरूले बहिस्कार गर्ने चेतावनी दिए ।

बैठकपछि एक केन्द्रीय सदस्यले भने–आज दुवै महामन्त्रीको बारेमा चर्को आलोचना भयो । उहाँहरू मिडियामा मात्र केन्द्रित हुने र जे बोल्दा हिरो भइन्छ त्यही बोलिदिने,पार्टीमा पर्गेल्नु नपर्ने भन्ने कुरा उठ्यो । उहाँहरू विदेशमा बस्नेलाई मतदान अधिकार माग्दै निर्वाचन निर्वाचन आयोगमा कसको अनुमतिले जानुभयो ? भन्ने कुरा सिरियसले उठेको छ ।

बैठकमा केन्द्रीय सदस्य राजीव ढुंगानाले पार्टीमा छलफल नगरी कुन निर्णयका आधारमा महामन्त्रीहरूले मिडियाबाजी गरेका छन् ? भन्ने प्रश्न उठाएका थिए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्तपा डा।प्रकाशशरण महतले पनि महामन्त्रीहरुको भूमिका जिम्मेवारी हुनुपर्ने भन्दै बाहिर मिडियामा बोल्नुभन्दा पहिले पार्टीमा छलफल गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर