सत्तारुढ सांसदको दाबीः ४/५ जना मन्त्रीबाहेक अरू बजेटको विपक्षमा छन् – Nepal Press

सत्तारुढ सांसदको दाबीः ४/५ जना मन्त्रीबाहेक अरू बजेटको विपक्षमा छन्

कैलाली । सुदूरपश्चिम सरकारले ल्याएको बजेटमाथि अहिले प्रदेशसभामा छलफल सुरु भएको छ । यसैबीच सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बजेटप्रति केही मन्त्रीबाहेक अधिकांश विरोधमा रहेको बताएका हुन् ।

‘सरकारको नियत ठीक भएन । हामीले सल्लाह दिएका थियौं । मेरो पार्टी पनि सरकारमा सहभागी छ । विगतको जस्तो ल्याउन हुन्न भनेका थियौं । तर, त्यस्तो आउन सकेन’, उनले भने, ‘प्राविधिक दृष्टिकोणले पास होला । तर, स्वतन्त्र निर्णय गर्दा ११ मन्त्रीमध्ये ४/५ जनाले मात्र हाल्छन् ।’

उनले विभागीय मन्त्रीलाई पनि योजनाबारे थाहा नभएको बताए । ‘विभागीय मन्त्रीलाई पनि योजना काटेको थाहा छैन । कुन मन्त्रालयमार्फत योजना हालिएको छैन । यो कस्तो क्याबिनेट हो’, उनले भने, ‘अहिले सत्तामा हुँदा आफ्ना वडामा बजेट हाल्नुभयो भोलि के हुन्छ ?’

उनले अहिले प्रदेश सरकारप्रति चर्को विरोध भइरहेको जनाए । सुदूरपश्चिम सरकारकै कारण सङ्घीयताप्रति पनि निराशा पैदा भइरहेको उनको भनाइ थियो । ‘यस्तै सरकार फेरि सुदूरपश्चिममा आए १० वर्षमा यो सङ्घीयता नै जान्छ जस्तो लाग्छ । त्यति घृणा पैदा भएको छ’, उनले भने, ‘भोलि घरमा आगो लाग्ने र भाग्ने दिन नआओस् ।’

सत्ता पक्षका सांसदहरू प्रतिपक्षी दलका सांसदभन्दा बढी रुष्ट रहेको उनले बताए । अर्थमन्त्री प्रकाश रावलले आज पनि राम्रो सुधारको सङ्केत नदेखाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर