ओलीको निस्कर्ष : स्थानीय तहमा महिलाको कार्यसम्पादन पुरुषको भन्दा उत्कृष्ट – Nepal Press

ओलीको निस्कर्ष : स्थानीय तहमा महिलाको कार्यसम्पादन पुरुषको भन्दा उत्कृष्ट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा निर्वाचित महिलाहरूले असाधारण क्षमता देखाएको टिप्पणी गरेका छन् । उनले राजनीतिक परिवर्तनसँगै महिलाहरूको अवस्थामा गुणात्मक सुधार आइरहेको दाबी गरे ।

मानवअधिकार एलायन्स स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ओलीले देशमा राजनीतिक परिवर्तन मात्रै भयो र अवस्था परिवर्तन भएन भन्ने टिप्पणी पूर्ण सत्य नभएको उल्लेख गरे ।

उनले महिलाहरूको प्रतिस्पर्धी क्षमता बढेको र उनीहरूले आफूलाई प्रमाणित गरेर देखाएको बताए ।

ओलीले भने, ‘३३ प्रतिशत त टेबुल ठटाएर पाइरहनु भएको छ । महिला सशक्तीकरण नबढेको भन्न मिल्छ ? ३३ प्रतिशत भने पनि प्रतिस्पर्धा गरेर त्यहाँ पुग्नु भएको छ ।’

स्थानीय तहमा महिला जनप्रतिनिधिहरूले गरेको कामको उनले प्रशंसा गरे । पुरुषहरूभन्दा महिला हरेक हिसाबले अब्बल देखिएको उनको भनाइ छ ।

‘निर्वाचनमा मात्र होइन, महिलाको प्रतिस्पर्धी क्षमता काममा पनि असाधारण देखियो । सँगसँगै स्वच्छता, पारदर्शिता, कानूनको परिपालना र विधिको शासनमा उनीहरू पुरुषभन्दा एक पाइला अगाडि छन् ।’

उनले अहिले लागू भइरहेको आरक्षण र कोटा प्रणाली महिलाहरू पछाडि परेकाले आवश्यक बनेको बताए ।

‘यदि अगाडि बढेका भए चाहिने थिएन । हाम्रो उद्देश्य महिलाहरूलाई अगाडि बढाउने हो, यसलाई नै निरन्तरता दिने होइन,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर