बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’ – Nepal Press

बसन्त चौधरीले पाए ‘छिन्नलता गीत पुरस्कार’

काठमाडौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ पाएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहका बीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो ।

प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गरेका थिए । गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पीस स्रष्टा हुन् । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले आठवटा एल्बम ल्याइसकेका छन् ।

कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा शहरमा गीत तथा कविताका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका छन् । उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान तथा पुरस्कारहरु प्राप्त भइसकेका छन् ।

नेपाली गीत-संगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित चौधरीको गीतिकारिताको उच्च सम्मान गर्दै २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’बाट उनलाई सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।

सो समारोहका बीच गुठीले २०७६, २०७७ र २०७८ सालका छनोट भएका स्रष्टा तथा सर्जकहरुलाई छिन्नलता गीत पुरस्कार तथा सम्मानहरु पनि प्रदान गरेको थियो ।

२०७८ सालको छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् । विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।

यसैगरी, २०७६ सालका लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन् ।

२०७७ सालका लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *