कालो ब्यानर बोकेर विरोधमा किन उत्रिए प्रदेश १ का मैथिल स्रष्टा ? – Nepal Press

कालो ब्यानर बोकेर विरोधमा किन उत्रिए प्रदेश १ का मैथिल स्रष्टा ?

इटहरी । मंगरबार बिहान साढे १० बजे विराटनगरको हाटखोलास्थित आरोहण गुरुकुलमा सरकारी कार्यक्रम थियो । प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले आयोजना गरेको ‘स्रष्टा सम्मान कार्यक्रम- २०७९’ मा प्रमुख अतिथि थिए मुख्यमन्त्री राजेन्द्र राई ।

गुरुकुलको भारतले बनाइदिएको नयाँ वातानुकुलित भव्य भवनमा कार्यक्रमको सुरसार हुँदै थियो । पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बुदेखि प्रदेश १ भरिका सम्मानित स्रष्टाहरू कार्यक्रममा सहभागी भएका थिए । तर, कार्यक्रमस्थलको गेटमा भने केही मैथिल स्रष्टाहरू कालो ब्यानर बोकेर उभिएका थिए ।

उनीहरूको विरोध सम्मानित स्रष्टाहरूप्रति नभएर सरकारप्रति थियो । उनीहरूको आपत्ति मधेशी-पहाडी भनेर गरिने राजनीतिक कोटाको पक्षमा थिएन । प्रदेश १ मा पाँच लाखभन्दा बढीले बोल्ने मैथिलि भाषा, साहित्य, कला, संस्कृतिको सम्मान नभएकोमा आपत्ति थियो ।

एउटा व्यानरमा लेखिएको थियो, ‘मैथिली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान दिने मधेशी-पहाडी होइन नेपालीलाई सम्मान-पुरस्कार दिनुपर्छ ।’ प्रदेश १ का करिब साढे पाँच लाख मैथिली भाषाका स्रष्टाले सम्मान नपाउनु अपमान र विभेद भएको उनले दुःखेसो पोखे ।

विरोध कार्यक्रमका एक सहभागी तथा नेतृत्वकर्ता प्रविणनारायण चौधरीले भने, ‘हामीले मैथिली मातृभाषिलाई नै सम्मान गर्नु भनेको हैन । लजिना सुवेदीदेखि सरिता गिरी जस्ता स्रष्टालाई सम्मान दिए पनि हुन्छ । मुलतः मैथिली भाषा, साहित्य, कला र संस्कृतिमा काम गर्ने वा गरेका जसलाई सम्मान गरे पनि भयो ।’

मैथिली एसोसिएसन नेपालका अध्यक्ष, मैथिली सेवा समितिको पूर्वमहासचिव, मैथिली जिन्दावाद डटकम अनलाइनका सम्पादक समेत रहेका उनले मैथिलीलाई मात्रै नभएर सबै भाषाका स्रष्टालाई प्रदेश १ सरकारले माया नगरेको गुनासो गरे ।

उनले भने, ‘नेपाली भाषा नेपालको भाषा हो, तर यो मात्रै त भाषा हैन । मैथिली भाषा बोल्ने स्रष्टालाई नै सम्मान गर्नुपर्छ भन्ने होइन । मैथिली भाषाकै क्षेत्रमा काम गर्ने गैरमैथिलीभाषीलाई पनि सम्मान गरे भयो ।’ प्रदेश सरकारले समानुपातिक समावेशीताको नीति स्रष्टा सम्मानमा लागू नगरेर संविधानकै अपमान गरेको उनले बताए ।

विरोध कार्यक्रममा सहभागी मैथिली भाषाको चलचित्र निर्माणमा २५ वर्षबाट सक्रिय तथा सात चलचित्र निर्माण गरिसकेका सन्तोष सरकारले पनि यही कुरा दोहोर्‍याए । उनले भने, ‘राज्यले यो देशको दोश्रो महत्वपुर्ण भाषालाई अस्वीकार गरेर हुन्छ ? यो राम्रो भएन ।’

संघीयता आएपछिको जुन सहुलियत हुनुपर्ने हो त्यो काम नभएको र खासगरि मैथिली क्षेत्रमा कामै नगरिएको सरकारले गुनासो गरे ।

उनले भने, ‘हामीले जातीय विभेद गरेका छैनौँ । मैथिली चलचित्रमा सबैलाई स्थान दिएका छौँ । राज्यले भने मैथिल भाषालाई भने राम्रो व्यवहार गरेन । राज्यले सबै भाषालाई माया गर्नुपर्यो ।’

गायक वीरेन्द्र झाले पनि मैथिली भाषालाई अपमान गर्दा राज्यमा सिके राउतहरुको जन्म हुनसक्ने भन्दै समयमै सजग हुनुपर्ने तर्क गरे ।
उनले भने, ‘हाम्रो मैथिलीलाई कतै मञ्च छैन । न राज्यले न संरक्षण गरेको छ । न सम्मान गरेको छ । हामीलाई भेदभाव र सौतेनी व्यवहार भएकै रहेछ । यस्तो नगर्दिन म राज्यसँग आग्रह गर्दछु । राज्यले सौतेनी व्यवहार गर्दा हामीले पनि गर्न सक्छौँ ।’

मैथिली अभियानकर्मी वसुन्धरा झाले प्रदेश १ सरकारले धेरै विभेद गरेको बताइन् ।

उनले भनिन्, ‘भाषा आयोगले लिम्बू र मैथिलीलाई कामकाजी भाषाको रूपमा मान्यता दिन गरेको सिफारिस समेत लागू गरिएको छैन ।’

अपन विराटनगर परोपकार समाजकी अध्यक्षसमेत रहेकी वसुन्धरा झाले मैथिली भाषा पनि नेपालकै ऐतिहासिक भाषा भएको र नेपाली भाषा भएको अनुभव राज्यले नगरेर विभेद गरेकोले विरोधमा आएको बताइन् ।

विरोध कार्यक्रममा सहभागी आभा अनुपमाले एउटा आमाले दुई सन्तानलाई फरकफरक व्यवहार गर्दा जस्तो महसुस हुन्छ, ठीक त्यस्तै व्यवहार मैथिलीलाई भएको बताइन् । नेपालको प्राचिन र समृद्ध भाषा मैथिली भएपनि राज्यले अपमान महसुस गराएको उनको भनाइ छ ।

उनले प्रश्न गरिन्, ‘हामी यस्तो अयोग्य भाषाको मान्छे हौँ र जसको भाषामा काम गरेका स्रष्टा सम्मान लायकै छैनन् ?’

प्रदेश १ सरकराले सम्मान गरेकाहरू सबै योग्य भएको तर मैथिली भाषा क्षेत्रका स्रष्टा नपर्दा दुःख लागेको आभा अनुपमाले दुःखेसो गरिन् ।
उनले भनिन्, ‘हामीलाई यस्तो विरोध गर्ने र कालो व्यानर बोक्ने रहर हैन । मैथिलीलाई विभेद गरिएकोले हामी बाध्य भएका हौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर