काठमाडौं उपत्यकामा आजदेखि अनलाइन मतदाता नामावली दर्ता गर्न सुरु – Nepal Press

काठमाडौं उपत्यकामा आजदेखि अनलाइन मतदाता नामावली दर्ता गर्न सुरु

काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा आजदेखि फोटोसहितको मतदाता नामावली अनलाइन प्रणालीबाट नै दर्ता गर्न सुरु गरेको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले वेब बेस भोटर लिस्ट प्रि–रजिस्ट्रेसन प्रणाली तयार गरेपछि अनलाइन प्रणालीबाट दर्ता गर्न सुरु गरेको हो ।

तर परीक्षणकालको रूपमा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) बाट आजदेखि सुरु गरिएको आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार फोटोसहितको मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइट जततउकस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउर मा व्यक्तिगत विवरण भर्नुपर्ने छ ।

अनलाइन फारममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औँठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नुपर्ने प्रवक्ता शर्माले बताए । मतदाता नामावलीमा अहिलेसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

आयोगको मङ्गलवार बसेको बैठकले निर्वाचनमा सूचना प्रविधिको प्रयोग गर्न सक्ने व्यवस्थामा टेकेर अनलाइन प्रणालीबाट मतदाता नामावली दर्ता गर्ने कार्य अघि बढाउने निर्णय गरेको थियो । सरकारलाई निर्वाचनको मिति घोषणा गर्नका लागि निर्वाचन आयोगले सिफारिस गरिसकेको निर्वाचनको मिति घोषणा नहुँदासम्म मात्र यो अनलाइन तथा म्यानुअल रूपमा मतदाता नामावली दर्ता गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल प्रेससँग बताए । संघीय र प्रादेशिक निर्वाचनपछि ७७ वटै जिल्लामा यो व्यवस्था लागू गर्ने गरी आयोग जान खोजेको उनको भनाई छ ।

तर, काठमाडौं उपत्यकाका बस्ने ७७ वटै जिल्लाका नागरिकले भने मतदाता नामावलीमा अनलाइनबाट दर्ता गर्न पाउनेछन् । ७७ वटै जिल्लामा अनलाइन प्रणालीलाई चलाउन सक्ने अहिले जनशक्ति नहुदाँ पनि एकै पटक सञ्चालन गर्न नसकिएको आयोगले जनाएको छ ।

काठमाडौं उपत्यकाका ३ जिल्लाको हकमा भने निर्वाचन आयोगले नै १० देखि १२ जनालाई तालीम दिएर ३ वटै जिल्ला निर्वाचन कार्यालयमा परिचालन गरिसकेको छ । यसबाट काठमाडौं उपत्यकामा बसेर मतदाता नामावलीमा दर्ता गराउन नपाएका नागरिक लाभान्वित हुनेछन् ।

अहिले निर्वाचन आयोगले जो जहाँ छ त्यसै जिल्लाको निर्वाचन कार्यालयमा गएर म्यानुअल रूपमा मतदाता नामावली दर्ता गराउने व्यवस्था गरेको छ । तर, काठमाडौं उपत्यकाको हकमा त्यस्ता व्यक्तिको भिडभाड बढिरहेकाले अनलाइन प्रणालीबाट प्रि–रजिस्ट्रेसनको व्यवस्थाले थोरै मात्रामा भए पनि नागरिकलाई मतदाता नामावली दर्ता गराउन सहज हुने निर्वाचन आयोगले अपेक्षा गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *