एलन मस्कको लथालिंग पारिवारिक जीवन : १० सन्तानको बाबु बनेपछि चौथो गर्लफ्रेन्डसँग विच्छेद – Nepal Press

एलन मस्कको लथालिंग पारिवारिक जीवन : १० सन्तानको बाबु बनेपछि चौथो गर्लफ्रेन्डसँग विच्छेद

काठमाडौं । प्रशस्त धन सम्पत्ति भएर मात्रै मान्छेको पारिवारिक जीवन सफल हुन नसक्दो रहेछ । अन्यथा विश्वकै नम्बर १ धनाढ्य एलन मस्कका प्रेम र दाम्पत्य सम्बन्धहरू यसरी एकपछि अर्को टुटेर जाने थिएनन् ।

५१ वर्षीय मस्क आफ्नी नयाँ गर्लफ्रेन्ड नतासा बासेटसँग हालै अलग भएका छन् । २८ वर्षीया अष्ट्रेलियन अभिनेत्रीसँग स्पेस एक्सका फाउन्डरको ब्रेक अप भएको एक्सक्लुसिभ रिपोर्ट हलिउड लाइफले प्रकाशित गरेको छ ।

एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी न्यूरालिंककी कार्यकारी अधिकृत शिभोन जिलिससँगको पार्टनरसिपमा जुम्ल्याहा बच्चाको बाबु बनेको पुष्टि भए लगत्तै नतासले मस्कलाई गुड बाइ भनेकी हुन् ।

२०२१ नोभेम्बरमा मस्क र शिभोनले जुम्ल्याहा बच्चा पाएको सनसनी खबर हालै मात्र सार्वजनिक भएको थियो । यससँगै मस्कका बालबच्चाको संख्या १० पुगेको छ ।

नतासाले मस्कसँग अलग हुने निर्णय लिँदै आफूहरूबिच साथीको सम्बन्ध भने कायम रहन सक्ने बताएकी छन् ।

स्रोतलाई उद्धृत गर्दै हलिउड लाइफले लेखेको छ, ‘नतासाले एलनबाट धेरै कुरा सिकेकी छिन् र उनीसँग बिताएका पलहरूका निम्ति आभारी छिन् । ती क्षणहरू अति विशेष र अवास्तविक थिए ।’ नतासाले अब आफ्नो करिअरमा फोकस गर्ने पनि स्रोतको भनाइ छ ।

एलन र नतासाले डेट गरिरहेको पहिलो समाचार पनि हलिउड लाइफले नै गत फेब्रुअरीमा ब्रेक गरेको थियो ।

उनीहरूको एकसाथ पहिलो तस्बिर भने गत मे २९ मा सार्वजनिक भएको हो । नतासाले एलनको पेट भने नबोकेको उल्लेख गरिएको छ ।

झण्डै २४० अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक एलन मस्क यसअघि हलिउड एक्ट्रेस एम्बर हर्ड (जोनी डेपकी पूवीपत्नी) सँग डेट गर्दै थिए । तर, उनीबाट पनि मस्कका कुनै सन्तान भएनन् । अहिले उनका १० सन्तान ३ श्रीमतीबाट भएका हुन् । एलन मस्ककी श्रीमती हुनुको अलावा यी तीनै जनाबीचको साझा कुरा के थियो भने उनीहरू सबै क्यानेडियन हुन् ।

शिभोन जिलिसबाट गत नोभेम्बरमा जुम्ल्याहा सन्तानको बाबु बनेको सन्दर्भ माथि आइसक्यो । शिभोनसँग अनुमानित ५० लाख डलरदेखि १ करोड डलर बराबरको व्यक्तिगत सम्पत्ति छ ।

यो जोडीको पछिल्लो सम्बन्ध कस्तो छ भन्ने ठोस अपडेट छैन । तर, उनीहरूले आफ्ना जुम्ल्याहा सन्तानको नाममा बाबुको थर र आमाको मिडल नेम राख्ने गरी परिवर्तन गर्न अदालतमा निवेदन दिएको समाचार भर्खरै प्रकाशित भएको थियो । यसबाट उनीहरूको सम्बन्ध अहिलेसम्म पतिपत्नीकै रूपमा रहेको अनुमान गरिएको छ ।

यसअघि मस्कका पूर्वपत्नीहरु जस्टिन मस्क र क्लेयर बाउचर (ग्रिम्स) बाट ७ सन्तान जन्मिसकेका थिए ।

जस्टिन एक्लैले मस्कका लागि ५ सन्तानलाई जन्म दिएकी थिइन् भने गायिका बाउचरले २ सन्तान पाएकी छन् । यस्तै सेरोगेटका माध्यमबाट पनि ग्रिम्सले एक सन्तान जन्माएकी छन् ।

गत मार्चमा ग्रिम्सले मस्कसँग दाम्पत्य सम्बन्ध टुटेको पुष्टि गर्दै आफूहरू अब वेस्ट फ्रेन्डका रूपमा मात्रै रहने बताएकी थिइन् ।

पहिलो श्रीमती जस्टिनसँग मस्कले सन् २००० मा विवाह गरेका थिए । उनीहरूको सम्बन्ध २००८ पछि अन्त्य भएको थियो । मस्कका लागि ८ वर्षमा पाँच सन्तान जन्माइसकेपछि जस्टिन उनीसँग अलग भएकी हुन् ।

वैवाहिक जीवनमा आफूले मस्ककी कर्मचारीको अनुभव गर्नुपरेको जस्टिनले बताएकी छन् ।

श्रीमती मात्र होइन मस्कले आफ्ना सन्तानलाई पनि खुशी पारेर राख्न सकेका छैनन् । गत अप्रिल १ मा मस्ककी एक छोरीले आफ्नो बुवासँग कुनै प्रकारको सम्बन्ध नराख्ने भन्दै आफ्नो थर परिवर्तनका लागि निवेदन दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर