एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार, सभापति प्रतिपक्षीलाई दिन माग (भिडिओ) – Nepal Press

एमालेद्वारा सार्वजनिक लेखा समितिको बैठक बहिष्कार, सभापति प्रतिपक्षीलाई दिन माग (भिडिओ)

काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने भन्दै समितिको आजको बैठक बहिष्कार गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा एमालेका सांसदहरूले वर्तमान सरकार गठन भएको एक बर्ष पुग्दा पनि समितिको सभापति सत्तापक्षले नै राखेको भन्दै बैठक बहिष्कार गरेको हो । हाल नेपाली कांग्रेसका भरतकुमार शाह समिति सभापति छन् ।

सभापति शाहले वार्षिक प्रतिवेदन पारित गरेर छलफल गर्न आग्रह गर्दा एमाले सांसदहरूले सभापतिको राजीनामा माग गरे ।

बैठकमा एमाले सांसदहरु विशाल भट्टराई, गोकुल बास्कोटालगायत उपस्थित थिए ।

समिति बैठकमा विशाल भट्टराईले भने, ‘विगत एक वर्षदेखि समिति सरकारको काम कारबाहीमा पूरै बेखबर जस्तो छ । विगतमा हाम्रो सरकार हुँदा बाक्लै बैठक बस्थे । यसलाई उचित मान्न सकिन्न । राष्ट्रलाई क्षति भयो । लेखा समिति छ कि छैन जस्तो भयो यो देशमा । सरकारले गरेको खर्चको परीक्षण सरकारले नै गर्ने कुरा ठीक भएन । हामी आश्चर्यचकित भएका छौं । लेखा समिति विपक्षलाई दिनैपर्छ ।’

सभापति फेरिएपछि मात्रै लेखा समितिको कामकारबाहीमा भाग लिने एमालेको अडान छ ।

अन्य सांसदहरूले सभापति परिवर्तन गर्ने विषयको भिन्नै प्रक्रिया रहेको भन्दै समितिमा यस्ता विषय नउठाउन सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर