सुदूरपश्चिमको बजेट पारितमा सकस- गणपूरक नपुगेर सदन स्थगित – Nepal Press

सुदूरपश्चिमको बजेट पारितमा सकस- गणपूरक नपुगेर सदन स्थगित

कैलाली । सत्ता पक्ष र विपक्षी दलका सांसदहरूको विरोधका कारण सुदूरपश्चिम सरकारको बजेटमाथि अहिलेसम्म छलफल हुन सकेको छैन ।

लगातार स्थगित भएर आज ११ बजे बोलाइएको बैठक आज पनि स्थगित भयो । गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिएका छन् । बैठक सुरु गर्न १४ जना सदस्य चाहिने भएपनि त्यति पनि नपुगेपछि स्थगित गरेर आजै अर्का बैठक ३ बजेको लागि बोलाइएको छ ।

बजेटमाथिको छलफल गर्ने कार्यसूची रहेकोमा अर्थमन्त्री प्रकाश रावल नै उपस्थित भएनन् । बैठकमा एमाले, जसपा र लोसपाका सांसद पनि आएनन् । उनीहरू प्रतिपक्षी हुन् । सत्ता पक्षमा रहेका कांग्रेसका एकजना पनि पुगेनन् । माओवादी केन्द्रका ६ जना र नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुख सचेतक दुर्गा विक मात्रै थिइन् ।

बैठक बस्नुअघि सरकारका प्रतिनिधिले दलहरूसँग छलफल गरेका थिए ।

माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन् । माओवादीमै पनि केही सांसद दुई धारमा छन् । कार्य व्यवस्था परामर्श समितिमा प्रमुख सचेतक अक्कल रावल र विरमान चौधरीले यसको विरोध गरेका छन् । सत्तारुढ एकीकृत समाजवादीकै दुई मन्त्रीबाहेकका अधिकांश प्रदेशसभा सदस्यहरू बजेटप्रति रुष्ट छन् । उनीहरूले हिजो अध्यक्ष माधवकुमार नेपाललाई पनि यस विषयमा गुनासो पोखेका छन् ।

कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ । यता विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि यसको विरोधमा छन् । उनीहरुले हिजोको प्रदेशसभा बैठक पनि बहिष्कार गरेका थिए ।

बजेटमाथि ठोस धारणा बनाउन एकीकृत समाजवादी र नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि बसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर