धनगढीमा केन्द्रीय सदस्यसँग माधव नेपालको साढे आठ घण्टा : बजेटको गुनासो सुने, अर्थमन्त्रीले बोल्न पाएनन् – Nepal Press

धनगढीमा केन्द्रीय सदस्यसँग माधव नेपालको साढे आठ घण्टा : बजेटको गुनासो सुने, अर्थमन्त्रीले बोल्न पाएनन्

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अहिले धनगढीमा छन् । उनी पार्टीको कार्यक्रम लिएर धनगढी पुगेका हुन् । तर, सरकारले ल्याएको बजेट र त्यसमा आफ्नो पार्टीको धारणा बारे पनि नेपालले चासो दिएका छन् ।

नेपालले सुदूरपश्चिममा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक राखेका छन् । त्यसमा स्थानीय तहको समीक्षा, आगामी निर्वाचनको तयारी, पार्टीको आगामी कार्य योजना र प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमको बारेमा छलफल भएको छ ।

प्रदेश सरकार नेकपा एकीकृत समाजवादीले नेतृत्व गर्ने विषयमा भने बहस भएन । सबै भन्दा धेरै बहस प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा बिषयमा छलफल भएको थियो । असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले बजेट प्रस्तुत गरेका थिए । उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री भएका हुन् । छलफलमा उनी पनि सहभागी थिए ।

त्यहाँ बोल्ने अधिकांशले बजेटको विरोध गरेका थिए । ३८ केन्द्रीय मध्ये सबैजसो बैठकमा उपस्थित थिए । बैठकमा प्रदेशबाट केन्द्रीय कमिटी, पोलिट ब्युरो र स्थायी कमिटीमा रहेकाहरू पनि बैठकमा सहभागी थिए । बजेटका विषयमा बोल्ने सबैजसोले त्यसको विरोध गरे। बजेटको बचाउ गर्दै अर्थमन्त्री बोल्न खोज्दा अध्यक्ष नेपालले बोल्न दिएका थिएनन् ।

तपाईं बस्नुहोस् पहिला सुन्नुहोस् भन्नुभयो बैठकमा सहभागी एक केन्द्रीय सदस्यले सुनाए । अर्थमन्त्रीले बजेटको बचाउ गर्न नपाए पनि भौतिक पूर्वाधार तथा विकास मन्त्री दीर्घ सोडारीले भने बचाउ गरेका थिए ।उनी संसदीय दलका नेता पनि हुन् ।

दिउँसो ३ बजे देखि राति ११ : ३० सम्म धनगढीको सोराइमा बैठक बसेको थियो । अध्यक्ष नेपालले अबेर सम्म सबै विषयहरूमा धारणा सुनेका थिए । धारणा राख्नेहरूले पनि मन खोलेर प्रस्तुत भएका थिए ।प्रदेशका ९ वटै जिल्लाका इन्चार्ज, इन्चार्ज नभएको जिल्लामा सह इन्चार्जले धारणा राखेका थिए । उनीहरुले बजेटमा अनुभूति हुने नयाँ कुरा नभएको बताए ।

प्रदेश इन्चार्जले पनि धेरै बोल्न नपाएको बताइएको छ । केन्द्रीय सचिव समेत रहेकी गरिमा शाह यहाँकी इन्चार्ज हुन् । उनी प्रति पनि केहीले गुनासो पोखेका थिए ।बजेट माथिका गुनासो सुनेपछि अध्यक्ष नेपालले बजेट संशोधन गर्न आवश्यक भएको ठाउँमा संशोधन गर्नु पर्ने बताएका थिए । जनताको पक्षमा बजेट आउनु पर्छ सबैले सबैको गुनासो सुन्नु पर्छ छलफल गर्नुपर्छ नेपालले भनेको कुरा उद्धृत गर्दे एक नेताले भने, संशोधन गर्नु पर्ने ठाउँमा संशोधन गर्नुपर्छ ।

सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल रहेको नेकपा एकीकृतका अधिकांश सांसदहरुनै यथास्थितिमा बजेट पारित गर्न नदिने अडानमा छन् । उनीहरु बजेट संशोधन नहुँदा सम्म प्रदेश सभा छलफल नै नहुने बताइरहेका छन् ।

हिजो राति साढे आठ घण्टामा अध्यक्ष नेपालले बजेट संशोधन गर्न सुझाव दिए पनि त्यसबारे ठोस निष्कर्ष आएको छैन ।यस्तो अवस्थामा आज ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट बलबहादुर सोडारी र सुशीला बुढाथोकीको नाम प्रदेश सभा सचिवालयमा टिपाइएको छ । उनीहरु दुवै जनालाई मन्त्री बताउने आश्वासन दिइएको बुझिएको छ ।

अहिले राज्य मन्त्री रहेकाहरू पनि सरकारको बजेट प्रति सन्तुष्ट छैनन् । संसदीय दलले अहिले सम्म ठोस निर्णय गरेको छैन । तर, अधिकांश सांसदहरू यथास्थितिमा बजेट पारित गर्न नहुने अडानमा छन् । बहालवाला मन्त्री र मन्त्रीको आश्वासन पाएकाहरू बाहेक अन्य बजेटमा विरोधमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर