त्रिवि उपकुलपतिको कार्यकक्षमा नेकपा एसका विद्यार्थीको ताण्डव, पक्राउ परेका १० जना ३ घण्टामै छुटे – Nepal Press

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेकपा एसका विद्यार्थीको ताण्डव, पक्राउ परेका १० जना ३ घण्टामै छुटे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका नेता–कार्यकर्ताले आज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षभित्र पसेर उद्दण्डता मच्चाए । उनीहरूले कार्यकक्ष भित्र रहेका फर्निचरहरू तोड्नुका साथै उपकुलपति डा. धर्मकान्त बास्कोटाको नेमप्लेट मिल्काइदिएका थिए ।

तोडफोडमा संलग्न एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिए पनि ३ घण्टामै छोडेको छ ।

अनेरास्ववियूका उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्य सन्तोष शेर्पा, कैलाश गिरी, प्रेम विकलगायत १० जना विद्यार्थी उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाउन गएका थिए । तर उपकुलपतिको सचिवालयमा कार्यरत कर्मचारीले आफूहरूमाथि दुर्व्यवहार गरेपछि प्रतिवाद स्वरूप तोडफोड गरेको उनीहरूको दाबी छ ।

अनेरास्ववियूका विद्यार्थी नेता जगत विकले नेपाल प्रेससँग भने एउटा विषयको परीक्षामा अर्को प्रश्न पत्र बाँडिएपछि परीक्षा नै रद्द भएका लगायत बेथितिबारे ज्ञापनपत्र बुझाउन गएको बताए । धेरै पटक भेट्नका लागि सम्पर्क गर्दा पनि उनी सम्पर्कमा नआएको र अध्यक्षको फोन पनि रेस्पोन्स नगरेको विकको भनाइ छ ।

उनले घटना विवरण सुनाउँदै भने, ‘कुनै रेस्पोन्स नभएपछि आज हामी उपाध्यक्षसहितका १० जना जति मध्यान्ह साढे १२ बजे भीसीलाई नै सिधै भेटौँ भनेर उहाँको कार्यकक्षमा पुगेका थियौँ । भीसी हुनुहुन्न रहेछ । उहाँलाई बोलाउनुपर्‍यो भनेर भीसीको सचिवालयका कर्मचारीलाई भन्यौ । बोलाउनुको साटो उल्टै हामीमाथि दुर्व्यवहार गर्नुभयो । त्यसपछि हाम्रा साथीहरू आवेशमा आएर प्रतिवाद गरेपछि त्यस्तो हुन पुग्यो ।’

उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरूले उपकुलपतिको कार्यालय परिसरमा नै नाराबाजी गरेका थिए । ‘चरम लापरबाही अन्त्य गर’, ‘उपकुलपति राजीनामा देऊ’ जस्ता नारा उनीहरूले लगाएका थिए ।

लगत्तै उनीहरूले उपकुलपति कार्यालयको परिसरबाटै त्रिभुवन विश्वविद्यालयका रेक्टरलाई फोन गरेर ज्ञापनपत्र बुझाउने जानकारी गराएको र रेक्टरले आउन भनेपछि उनको कार्यालयमा गएको विद्यार्थी नेता विकले बताए । तर, रेक्टर कार्यालयको गेटमा पुग्ने बित्तिकै आफूहरूलाई प्रहरी परिचालन गरेर दुर्व्यवहार भएको उनको दाबी छ । विकका अनुसार ज्ञापनपत्र बुझाउन गएका १० जना जतिलाई प्रहरीले नियन्त्रणमा लिएर ३ घण्टापछि अपराह्न ४ बजे छोडेको हो ।

ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीमाथि उपकुलपतिको सचिवालयमा कार्यरत कर्मचारी र प्रहरीले दुर्व्यवहार गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ ।

अनेरास्ववियुको त्रिवि जिल्ला कमिटी सहसंयोजक कल्पना सापकोटाले उपकुलपतिमाथि राज्यसत्ताको आडमा प्राज्ञिक क्षेत्रलाई रणभूमि बनाउन खोजेको आरोप लगाउँदै विज्ञप्ति जारी गरेकी छन् । यस विषयमा बुझ्न खोज्दा उपकुलपति डा. बास्कोटासँग सम्पर्क हुन सकेन ।


प्रतिक्रिया

One thought on “त्रिवि उपकुलपतिको कार्यकक्षमा नेकपा एसका विद्यार्थीको ताण्डव, पक्राउ परेका १० जना ३ घण्टामै छुटे

  1. यी विशुद्व टाेले गुण्डा सरह हुन् । यिनलाई शिक्षा सुधारमा कुनै चासाे छैन । पैसा खान नपाएर याे काम गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर