‘कमेडी हब’मा गरेको कमेडीले कलेजबाट निकालिएँ’ (भिडिओ) – Nepal Press

‘कमेडी हब’मा गरेको कमेडीले कलेजबाट निकालिएँ’ (भिडिओ)

शिक्षण पेशामा १४ वर्षदेखि सक्रिय छु । साथै सानैदेखि कलाकारितामा पनि रुचि थियो । सन्दीप क्षत्री दाइसँग ह्वाट द फ्लप कार्यक्रममा लामो समय काम गरेँ । राजा राजेन्द्रसँग कमेडी क्लबमा पनि काम गरेँ । अहिले कमेडी शो कमेडी हबमा काम गरिरहेको छु ।

यो १४ वर्षमा मैले कति विद्यार्थीलाई पढाएँ होला, मलाई नै थाहा छैन । कति विद्यार्थी त ग्राजुएट भएर अहिले मेरै सहकर्मी भएका छन् । तर, शिक्षण पेशामा लागेको १४ वर्षपछि मैले नसोचेको घटनाको सामना गर्नुपर्‍यो । विगत पाँच वर्षदेखि मैले पढाइरहेको बागमती कलेजले मलाई अचानक जागीरबाट हटायो । कलेजमा राम्ररी नपढाएको वा अरु कमि-कमजोरी देखाएर होइन कि मैले कमेडी हबमा गरेको कमेडीका कारण म निष्कासनमा परेको छु ।

यो घटनाले मेरो आत्मसम्मानमा ठूलो ठेस पुर्‍याएको छ । त्यसैले म आज मिडियामार्फत् आफ्नो कुरा राख्न बाध्य भएको छु ।

कमेडी हब कार्यक्रमको पहिलो एपिसोडमा मैले ‘यमराज’ शीर्षकको प्रहसन देखाएको थिएँ । त्यसमा मैले यमराजको भूमिका निभाएको थिएँ । प्रहसनको स्क्रिप्ट पनि म आफैंले लेखेको हुँ ।

त्यस प्रस्तुतिमा मैले निजी कलेज, स्कुलले कसरी चर्को फी असुल्छन् भन्ने विषयमा व्यंग्यात्मक प्रस्तुति दिएको थिएँ । फी जति लिए पनि सुविधा चाहिँ पर्याप्त हुँदैन भन्ने सन्देश थियो । अभिभावकको ढाड सेक्ने समग्र शैक्षिक संस्थाहरुमाथि प्रहार थियो ।

पाँच वर्षअघिदेखि मैले बागमती कलेज सुकेधारामा पढाउन थालेको हो । पछिल्लो समयमा म अकाउण्ट विषयको हेड अफ द डिपार्टमेन्टको भूमिकामा थिएँ । कमेडी हबको मेरो प्रस्तुति मेरो कलेजका स्टाफ तथा प्रिन्सिपल नारायण सिटौलाले पनि हेर्नुभएछ । उहाँहरुलाई त्यो प्रस्तुतिले बिझाएछ । मैले त समग्र शैक्षिक क्षेत्रको विकृतिलाई चित्रण गरेको थिएँ । कुनै पनि स्कुल कलेजको नाम लिएको थिइनँ । तर, उहाँहरुले त मानौं आफ्नै कलेजलाई प्रहार गरेको अर्थमा लिनुभयो, जुन मैले सोचेकै थिइनँ ।

गएको जेठ ११ गते कमेडी हबमा मेरो प्रस्तुति सार्वजनिक भएपछि म कलेज गएँ । १५, १६ गतेबाट कलेजका विद्यार्थीको फाइनल परीक्षा हुँदै थियो । परीक्षाका लागि म कलेज गएँ । कलेजमा मेरो प्रस्तुति राम्रै रहेछ भन्ने कुरा भयो ।

उता परीक्षा चल्दै गर्दा प्रिन्सिपल नारायण सिटौला सरले मलाई बास्केटबल कोर्ट नजिकै आएर कलेजको विरुद्धमा यस्तो कुरा देखाउने हो ? भनेर थर्काउन खोज्नुभयो । मैले समग्र शैक्षिक क्षेत्रको बेतिथिमाथि व्यंग्य गर्न खोजेको जवाफ दिएँ । तर, मेरो जवााफले उहाँ कन्भिन्स्ड हुनुभएन ।

परीक्षा सकिएपछि विद्यार्थीको कपी लिएर आएँ । यता कमेडी हबमा मेरो नयाँ प्रस्तुतिको रिहर्सल भइरहेको थियो । तर, यही असार ३ गते शुक्रबार प्रिन्सिपल सरले फोन गरेर कलेज बोलाउनुभयो । मैले म आज भ्याउँदिनँ भनेर भनेँ । कलेज पनि लागेको छैन, आइतबार आउँछु भनेँ । र, आइतबार बिहान ७ बजेतिर कलेज पुगेँ ।

कलेजको बाहिरपट्टि डाइनिङ टेबलजस्तोमा बसेँ । भित्र जाऔं भनेर मलाई भन्नुभयो । भित्र गएपछि उहाँले सीधै भन्नुभयो, ‘तपाईं नयाँ काममा लाग्नुभएछ, त्यसका लागि बधाई । तर, तपाईंलाई कलेजले चाहिँ यो वर्षपछि डिसकन्टिन्यु गरेको छ ।’

‘मैले के गल्ती गरेँ त’ भनेर सोधेँ । उहाँले ‘तपाईं बुझ्ने मान्छे, बुझ्नु न’ भन्ने जवाफ दिनुभयो । अनि आफैंले थपे- तपाई भ्याउनुहुन्न होला ।

नभ्याउने कुरा उहाँले भन्ने कि मैले ? यो बहानामात्र थियो । खास विषय कमेडी शोको प्रस्तुति हो भन्ने मलाई एकिन भइसकेको थियो । यसले मलाई आहत तुल्यायो । ‘यो कसले गरेको निर्णय हो ? भनेर सोधेँ । उहाँले ‘म्यानेजमेन्टले गरेको’ जवाफ दिनुभयो । अब म्यानेजमेन्टमा को-को छन्, उहाँलाई नै थाहा होला ।

त्यो कलेजमा विगत पाँच वर्षदेखि मैले आफ्नो श्रम योगदान गरेको छु । विद्यार्थीलाई पढाउँदा होस् या सहकर्मीसँगको व्यवहारमा कतै कमजोरी र कम्प्लेन थिएन । कलाकारितालाई पनि सँगसँगै अगाडि बढाइरहेको छु । कलेजको जागीर खाएर कमेडी हबमा काम गर्न मलाई कुनै समस्या परेको छैन ।

मैले जागीर गुमाएँ भनेर यसरी पीर पोखेको होइन । जागीर त अन्यत्र पाउँछु नै । मलाई जुन तरिकाले निकालियो, त्यो प्रवृत्तिप्रति दुःख लागेको छ । मैले एउटा कलाकारका रुपमा समग्र शैक्षिक क्षेत्रको बेथितिलाई उजागर गर्न खोज्दा मेरो कलेज सञ्चालकको टाउको दुख्नुपर्ने केही थिएन । मैले आफ्नो कलेजलाई मात्र निशाना बनाएको पनि थिइनँ ।

आज मैले शिक्षासँग सम्बन्धित नाटक बनाउँदा कलेजले मलाई निकाल्यो । भोलि स्वास्थ्यको क्षेत्रमा भएको विकृतिमाथि प्रस्तुति दिँदा मेरो उपचार नै नहोला । हामीले त जे देख्यो, त्यही देखाउने हो । समाजलाई त्यसबाट लिनुपर्ने शिक्षा अर्कै थियो होला, तर मेरो कलेजले चाहिँ अर्कै रुपमा लिइदियो ।

यदि मैले राम्रो गर्न नसकेको भए प्रमाण देखाउनुपर्छ । कलेजलाई हानि-नोक्सानी हुने काम गरेको भए त्यसको ठोस कारण देखाउनुपर्छ । तर, अचानक डिसकन्टिन्यु गरिएको सुनाउँदा म स्तब्ध भएँ ।

यति लामो समयदेखि काम गरेको भए पनि मलाई अहिलेसम्म नियुक्तिपत्र दिइएको थिएन । अहिले पनि बर्खास्त गरिएको कुनै पत्र दिइएको छैन । विद्यार्थीबाट चर्को शुल्क असुल्ने नेपालका प्रायः कलेजहरुले शिक्षकहरुलाई नियुक्तिपत्रसमेत नदिइकन काम गराउने परिपाटी छ । प्रायःले पार्ट टाइम शिक्षक राख्छन् । अनि चाहेको बेलामा विनाकुनै प्रक्रिया घर फर्काइदिन्छन् । भोलिबाट नआउनुस् भन्यो सकियो । यही प्रवृत्तिविरुद्ध पनि मैले आवाज उठाउन खोजेको हुँ ।

यसबारे बोलिदिने कुनै संगठन छैन । भए जति सबै पार्टीगत संगठन छन् । उनीहरुले शिक्षकहरुमाथि परेको अन्यायविरुद्ध बोलेको मलाई अहिलेसम्म याद छैन । उनीहरु शिक्षकको हक–अधिकारको पक्षमा उभिएको मलाई थाहा छैन ।

वर्षमा १२ दिन अतिरिक्त बिदा पाउँछन् शिक्षकले । त्यो बिदा म बसेको हुँला । तर, त्योबाहेक थप दुई दिन बिदा बस्दा पनि तलब काट्छ कलेजले । मेरो अहिलेसम्म तलब काटिएर आएको छैन । म बिदा नै एकदमै कम बसेको छु । त्यसैले मैले कलेजलाई समय दिन नसकेको आरोप पूर्णतया मिथ्या छ ।

अब म कानूनी उपचार खोज्नुपर्ने अवस्थामा आइपुगेको छु । कानुनी उपचारमात्रै नभएर सामाजिक रुपमा पनि त्यस्ता कलेजको मनोमानी र रवैयालाई ठेगान लगाउनुपर्छ भन्ने मेरो माग छ । मन परे राख्ने, नपरे निकाल्ने गर्दा व्यक्तिले भोग्ने मानसिक तनाव, उसको परिवारमा पर्ने आर्थिक, मानसिक असरबारे कलेजको प्रिन्सिपल नै गम्भीर हुँदैन भने अरुको के आश गर्नु ।

(शिक्षक तथा कलाकार दीपेन्द्र प्रसाईंको उल्लेखित गुनासोहरुबारे हामीले बागमती कलेजका प्रिन्सिपल नारायण सिटौलासँग बुझ्न खोज्यौं । उनले प्रसाईंको आरोप स्वीकार गरेनन् । आफूले प्रसाईंलाई कलाकारितामा पनि सक्रिय भएकाले फुल टाइम नगरेर पार्ट टाइम गर्नुस् मात्र भनेको उनको भनाइ छ । प्रसाईं हप्तामा तीन–चार दिन नै कलेज नआउने गरेको दाबी पनि सिटौलाले गरे । तर, प्रसाईं भने आफू हप्तामा तीन–चार दिन कलेज नआएको भए कलेजले किन तलब काटेन भन्दै आफ्नो बैंक स्टेटमेन्ट देखाउन तयार रहेको बताएका छन् ।)

नेपाल प्रेस सहकर्मी नवीनकाजी राईसँगको कुराकानीमा आधारित

भिडिओ :नविनमुनि स्थापित ।

हेर्नुस् कमेडी हबमा दीपेन्द्रकाे प्रस्तुति :


प्रतिक्रिया

One thought on “‘कमेडी हब’मा गरेको कमेडीले कलेजबाट निकालिएँ’ (भिडिओ)

  1. १० वर्ष त्यही बागमती कलेजमा म पनि कार्यरत थिएँ । यसै वर्षबाट बिदा भएकाे हुँ । म नेपाली विषय शिक्षकका रुपमा काम गर्दा काठमाडौंका ठूला र राम्रा भनिएका अरु पनि कलेजमा काम गरेको मान्छे तर बागमतीमा जस्तो परिवारिक वातावरण र सम्मानजन व्यवहार अन्यत्र पाइनँ । त्यहीबाट पाठ सिकेर म हाल कोअर्डिनेटर भएको एसिया प्यासिफिकमा पनि त्यस्तै व्यवहार अपनाउने पक्षमा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर